अध्यक्षको गाडी पालिकाका वृद्धवृद्धा र अशक्तको प्रयोगमा – Nepal Press

अध्यक्षको गाडी पालिकाका वृद्धवृद्धा र अशक्तको प्रयोगमा

पर्सा । पर्साको बिन्दबासिनी गाउँपालिका अध्यक्षको गाडी अब पालिकाका वृद्धवृद्धा र अशक्तको यातायातका लागि उपलब्ध हुने भएको छ ।

पालिका अध्यक्ष प्रमोद तिवारीले वृद्धवृद्धा र अशक्त व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुर्‍याउने र घरसम्म ल्याउने यातायातको साधनका रुपमा आफ्नो गाडी प्रयोग गर्ने निर्णय गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत राजु साहका अनुसार बिन्दबासिनीमा अब सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जानुपर्ने वृद्धवृद्धा र अशक्तलाई लक्षित गरी पालिकाले निःशुल्क यातायात सुविधा उपलब्ध गराउने भएको हो । अध्यक्षको सवारी साधन निःशुल्क उपलब्ध गराउने कार्यपालिकाको बैठकबाट निर्णय भएको गाउँपालिकाका साहले जानकारी दिए।

यसैगरी गाउँपालिका भित्रका बिरामीको उपचारका लागि पालिकाबाट वीरगञ्ज कुनै पनि स्वास्थ्य संस्था वा अस्पतालमा पुग्न वा ती स्वास्थ्य संस्थाबाट उपचार गरी घरसम्म आउन इन्धन खर्चबापत न्यूनतम शुल्कप्रति बिरामी रु पाँच लिई गाउँपालिको एम्बुलेन्सबाट ल्याउने लैजान गरी व्यवस्थापन मिलाउने योजना रहेको पालिका अध्यक्ष तिवारीले बताए ।

वीरगञ्ज बजारबाट न्यूनतम करिब १० देखि अधिकतम २५ किलोमिटर क्षेत्रभित्र बिन्दबासिनी गाउँपालिका पर्दछ । विशेष गरी पालिका भित्रका हरेक बिरामीलाई यसरी न्यूनतम इन्धन शुल्क लिएर बिरामीलाई वीरगञ्जका कुनै पनि स्वास्थ्य संस्था वा अस्पतालमा उपचारका लागि बिरामी लैजाने वा ल्याउने व्यवस्थाले पालिका भित्रका सबैजसो बिरामी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

यसैबीच कार्यपालिकाको बैठकलाई थप पारदर्शी बनाउने उद्देश्यले पर्साको बिन्दबासिनी गाउँपालिकाले कार्यपालिकाको बैठकलाई गाउँपालिकाको फेसबुक पेज (लाइभ) मार्फत सार्वजनिक गर्न थालिएको छ ।

गाउँपालिका हरेक बैठकको निर्णय सर्वसाधारणले पनि थाहा पाउन आवश्यक रहेको भन्दै कार्यपालिकाको बैठकलाई पालिकाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्न सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिए ।

पत्रकारको दुर्घटना बीमा

वीरगञ्ज महानगरपालिकाले पर्साका पत्रकारको निःशुल्क स्वास्थ्य उपचारका दुर्घटना बीमा गरिने दिने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको हो ।

महानगरको नीति सार्वजनिक गर्दै पत्रकारलाई भइपरी आउने स्वास्थ्य तथा दुर्घटनाको उपचार सहज बनाउन निःशुल्क स्वास्थ्य उपचारका लागि दुर्घटना बीमाको व्यवस्था गरिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए ।

त्यसैग्री अध्ययन अनुसन्धान गर्न चाहने पत्रकारलाई अध्ययन भ्रमण र फेलोशिपको व्यवस्था गर्नाका साथै कार्यक्षेत्रमा उत्कृष्ट काम गर्ने पत्रकारलाई पुरस्कृत तथा सम्मानित गर्ने योजना पनि महानगरले अघि सारेको छ ।

साथै लोक कल्याणकारी विज्ञापनलाई समानुपातिक ढङ्गले पत्रकारलाई प्रदान गरिने तथा फेलोशिप कार्यक्रमलाई पनि महानगरले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ । सञ्चारकर्मीलाई सक्षम र व्यावसायिक बनाउन क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर