को हुन नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर ? – Nepal Press

को हुन नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर ?

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर नियुक्त भएसँगै उनले पद तथा गोपनीयताको शपथ लिएर पदभार पनि ग्रहण गरिसकेका छन् । राष्ट्रपति कार्यालयले आइतबार उनलाई मन्त्रीमा नियुक्त गरे पनि सोमबार बिहान ११ बजे मात्र कुँवरसहित नवनियुक्त ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएर मध्यान्ह १२ बजेतिर मन्त्रालयमा पुगेर पदभार पनि ग्रहण गरिसकेका छन् ।

पहिलो पटक मन्त्रीको जिम्मेवारी पाएकाले कुँवर नयाँ अनुहार हुन् । उनी अछामबाट लामो समयदेखि नेपालको कम्युनिस्ट आन्दोलनका एक सक्रिय नेतामा गनिन्छन् । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य एवं संगठन विभागका सदस्य रहेका मन्त्री कुँवर सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्षसमेत रहेका छन् । उनको घर अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ४ मा रहेको छ । स्व.कर्णसिंह कुँवर र वसुन्धरा कुँवरको कान्छो सन्तानका रूपमा रहेका उनी २०२३ साल भदौ ६ गते जन्मिएका हुन् । उमेरले उनी अहिले ५६ वर्षमा पुगे ।

उनको चार वर्षे कार्यकाल गत फागुन २० गते मात्रै सकिएको हो । राष्ट्रिय सभाको सदस्य रहँदा उनी नेकपा (एकीकृत समाजवादी)को राष्ट्रियसभा तर्फ प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हालेका थिए । उनी अहिले गैर सांसद भएकाले पनि यदि यस बिचमा सरकार परिवर्तन भएन भने ६ महिना मन्त्रालयको नेतृत्व गर्न पाउनेछन् ।

कुँवर महेन्द्र मोरङ क्याम्पस विराटनगर अध्ययन गर्ने क्रममा कुँवर २०३८ सालदेखि तत्कालीन नेकपा मालेको विद्यार्थी सङ्गठन अनेरास्ववीयूमा आबद्ध भएर राजनीतिमा सक्रिय भएका हुन् । विराटनगरबाट काठमाडौँ आएर शंकरदेव क्याम्पसमा बिकममा भर्ना भएका थिए । विद्यार्थी संगठनमार्फत राजधानीमा प्रत्यक्ष राजनीतिमा सक्रिय कुँवर २०४६ सालको जनआन्दोलनमा परिचालन एक्सन कमिटीमा रहेर काम गर्दा पटक–पटक गिरफ्तार परेका थिए ।

राजधानी केन्द्रित राजनीतिबाट २०४७ सालमा गृह जिल्ला अछाम फर्केर अछाममा सम्पन्न अनेरास्ववीयुको दोस्रो जिल्ला अधिवेशनबाट कुँवर जिल्ला कमिटी अध्यक्ष बन्न सफल भए । २०४९ सालमा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य बनेका कुँवर २०४९ को स्थानीय निकायको निर्वाचनमा जिल्ला विकास समिति अछामको उपसभापतिको पदमा निर्वाचन लडेका थिए । यद्यपि, निर्वाचित भने हुन सकेनन् ।

अछाममा नेकपा एमालेको कुशल सङ्गठन निर्माताका रूपमा चिरपरिचित मन्त्री कुँवर र एमालेका पूर्व उपाध्यक्षसमेत रहेका भीम रावलको एउटै निर्वाचन क्षेत्र नम्बर १ पर्दछ । मन्त्री कुँवरले तीन पटकसम्म एमाले अछामको नेतृत्व गरिसकेका छन् ।

संटकालको बेला अछामको सदरमुकाम मंगलसेनमा रहेर राजनीतिक तथा सामाजिक नेतृत्व दिएर तत्कालीन पार्टी एमालेको संगठनलाई कुँवरले नै जोगाएको उनको दाबी छ । उनले देशैभर एमाले ओरालो लागेको समयमा विसं २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । जति बेला भीम रावल समानुपातिक तर्फबाट सांसद चुनिएका थिए । त्यसपछि कुँवर २०७४ मा राष्ट्रिय सभा सदस्य बनेका हुन् ।

कलिलो उमेरमै बाम राजनीतिबाट प्रभावित कुँवर इमानदारिता र निष्ठाको राजनीति गर्दा एक दिन पक्कै सफलता मिल्ने कुरामा विश्वास गर्छन् । विचारमा दृढता व्यवहारमा लचिलो हुने कुरालाई जोड दिँदै आएका कुँवरले राजनीति पेसा नभएर एउटा समाजसेवा भएको भन्दै प्राप्त जिम्मेवारीलाई स्वभाविक रूपमा लिने गर्दछन् ।

पाँच दाजुभाइ र तीन दिदिमा कान्छो सन्तानका रूपमा जन्मेका कुँवरले २०५२ साल माघ ११ गते अनेरास्ववियु अछामका महिला नेत्री धुर्बा खड्कासँग विवाह गरेका हुन् । धुर्बा हाल नेकपा (एकीकृत समाजवादी)को सुदूरपश्चिम प्रदेश कमिटीको सदस्य छन् । खड्का २०६४ सालको पहिलो संविधान सभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार रहेकी थिइन । कुँवरका एक छोरी र एक छोरा रहेका छन् ।


प्रतिक्रिया

One thought on “को हुन नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर ?

  1. राजनीति के का लागी ? तिमि मुलाका सागहरुले भनेको समाज्वाद कहिले आउने होके? पाखण्डिहरु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर