कर्मचारी लुटपाटको इतिवृत्तान्त : फोटो खिच्न भन्दै गाडी रोकेर चक्कु प्रहार – Nepal Press

कर्मचारी लुटपाटको इतिवृत्तान्त : फोटो खिच्न भन्दै गाडी रोकेर चक्कु प्रहार

कैलाली । सोमबार बिहान करिब ९ः३० बजे डडेल्धुराको गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्र सिंह भण्डारी कार्यालय हिँड्ने तयारीमा थिए ।

उनको घर कञ्चनपुर हो । उनी त्यो बेला कञ्चनपुर स्थित चन्मन चौकमा थिए । त्यति बेला तीन जना करिब १८ देखी २२ वर्ष उमेरका भारतीय नागरिकहरू पनि सवारी साधन खोजिरहेका हुन्छन् । ट्याक्सी नपाएपछि उनीहरूको भेट भण्डारीसँग हुन्छ ।

कहाँ तक जाना हे (कहाँ सम्म जानुहुन्छ) ?

भण्डारीले उनीहरूलाई प्रतिप्रश्न गर्छन् ‘तपाइहरू कहाँ जाने ?’

‘खान्डाला’

कैलालीको चुरे गाउँपालिका ५ खानिडाडामा अहिले गर्मी छल्न भारतीय नागरिकहरूको घुइँचो बढ्न थालेको छ । ती तीन जना भारतीयले पनि खानिडाडा पुर्‍याउन आग्रह गर्छन् । त्यहाँ पुराइदिएबापत रकम र तेल समेत दिने बाचा गर्छन्

भण्डारीको कार्यालय जाने बाटो पनि त्यही हुन्छ । उनले आफ्नो कार्यालय जाने बाटो मै उनीहरूलाई छोडिदिने, त्यसबापत तेल खर्च उठ्ने भएपछि आफ्नो निजी प्रदेश –३–०१०२३ च ८७२१ नम्बरको गाडीमा उनीहरूलाई राख्छन् ।

उनीहरू महेन्द्रनगरबाट गन्तव्य सम्म हिँड्छन् । बाटोमा पर्छ प्रसिद्ध धार्मिक स्थल गोदावरी । ती तीनै जनाले धार्मिक स्थलको दर्शन गर्ने प्रस्ताव राख्छन् र केही समय कुर्न भण्डारीलाई आग्रह गर्छन् । भारतीयहरूले नेपाली मन्दिरमा देखाएको लगावले उनीहरू प्रति भण्डारी पनि प्रभावित हुन्छन् । उनीहरू करिब २० मिनेट नुहाएर मन्दिर दर्शन गरेर भण्डारी भएको स्थानमा पुग्छन् र भन्छन्, ‘चलो’ (जाऊ) । फेरि उनीहरूको यात्रा सुरु हुन्छ ।

त्यसको केही समय पछि भण्डारीलाई उनीहरूले त्यहाँको बाटो कहाँ जान्छ कसरी जान्छ भन्दै प्रश्न गर्छन् । भण्डारीले उनीहरूको कुरामा खासै ध्यान दिँदैनन् ।

त्यसको केही समय पछि पहाड सुन्दर रहेको र केही फोटो खिच्ने आग्रह उनीहरूले गरेपछि भण्डारीले गाडी छेउमा रोक्छन् ।

उनीहरूले आफूहरूको फोटो खिचिदिन आग्रह गर्छन् । भण्डारीलाई कार्यालय जना पनि ढिलाइ भइरहेको हुन्छन् । उनले छिटो गर्न आग्रह गर्छन् । उनीहरूले फेरि तीनै जनाको फोटो खिच्न भण्डारीलाई आग्रह गर्छन् । उनले फोटो खिचिदिन्छन् । भारतीयले सडक भन्दा केही तल जङ्गल भित्र आएर फोटो खिच्न आग्रह गर्छन् ।

‘हुँदैन म भित्र आउँदैन’ भण्डारी भन्छन् । तर, उनीहरूले यहाँको पहाड निकै राम्रो भएको आफ्नो क्षेत्रमा यस्तो पहाड नभएको र यहाँ खिचेको तस्बिरहरू सबै भारत लगेर देखाउने भन्दै भण्डारीलाई फकाउँछन् । उनको आग्रह भण्डारीले नकार्न सक्दैनन् ।

दुई जनाको फोटो खिचिरहेका बेला एक जनाले अचानक उनी माथि चक्कु प्रहार गर्छन् । चक्कु उनको औलामा लाग्छ र औला काटिन्छ। त्यसपछि बल्ल भण्डारी आफू खतरामा रहेको बुझ्छन् । तर, उनीहरू बाट जोगिने केही उपाय हुँदैन उनीसँग ।

उनी एक जना तीनसँग जुध्छन् । त्यसै बेला अर्काले उनको टाउकोमा ढुङ्गाले हान्छ । भण्डारीको टाउकोबाट रगत बग्न सुरु गर्छ । हातले टाउको समाउन नपाउँदै फेरी अर्काले टाउकोमै ढुङ्गा प्रहर गर्छ । यति हुँदा भण्डारी मुर्छा पर्छन् ।

आक्रमणकारीले भण्डारीले लगाएको बेल्ड खोल्छन् त्यही बेल्डले उनको हात बाँध्छन् । आफूहरूले ल्याएको तौलियाले उनको मुख बाँध्छन् । हात खुट्टा र मुख बाधेपछि उनीहरूले भण्डारीलाई तल झार्छन् । भाग्यवश भण्डारी केही तल रोकिन्छन् । आक्रमणकारीहरू भण्डारीको कार लिएर फरार हुन्छन् ।

हात, मुख र खुट्टा बाँधिएका भण्डारीले पहिले खुट्टा खोल्छन् । करिब २० मिनेटको प्रयास पछि सडकमा पुग्छन् । तर, उनलाई उद्धार गर्न कसैले चासो दिँदैन ।

‘आफै रगताम्य थिए, गुहार माग्दा पनि सुरुमा कसैले वास्ता गरेनन् उद्धार र उपचार पछि’ उनले भने, ‘अल्लि पछि मान्छेहरू जम्मा भए अनि अस्पताल सम्म पुग्न पाए ।’

भारतीय लुटेराहरूले उनको पर्स , पर्समा रहेको पाँच हजार र मोबाइल लुटेर लगे । भण्डारीको चप्पल पनि उनीहरूले छोडेनन् । सबै भन्दा ठुलो कुरा जुन कारमा आएका थिए त्यही कार नै लुटे ।

कसरी पक्राउ परे लुटेरा ?

घटनाबारे प्रहरीले करिब १ बजे थाहा पाएको हो । घटनाबारे थाहा पाए लगत्तै प्रहरीले सबै भन्दा पहिले घाइतेको अवस्था बुझ्न थाल्छ । घाइतेको अवस्थासँगै प्रहरीले घटनाबारे पनि जानकारी लिन्छ । घाइतेले घटनाको बेलिबिस्तार लगाएपछि प्रहरीले सबै भन्दा पहिले लुटिएको कार खोज्न प्रहरी परिचालन गर्छ ।

हामीले घटनाबारे जानकारी पाए लगत्तै कारको खोजी सुरु गरेका थियौँ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने कार भेटिएपछि हामी आक्रमणकारी पक्राउ गर्छौ भन्नेमा विश्वस्त थियौँ ।

कैलाली प्रहरीले सबै भन्दा पहिले कञ्चनपुर प्रहरीसँग समन्वय गर्छ । भारतीयहरूले गाडी लुटेको हुँदा भारत जान सक्ने भन्दै प्रहरी सीमा क्षेत्रमा कडाइ गरेको हुन्छ । उनीहरू पहाडी जिल्ला तर्फ गएको हुन सक्ने आशङ्काको भरमा डोटी र डडेल्धुराको प्रहरीलाई पनि कैलाली प्रहरीले घटनाबारे जानकारी गराएको हुन्छ ।

मालाखेती प्रहरीको टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले करिब ४ बजे लुटिएको कार फेला पार्छ ।

करिब ४ बजे धनगढी अत्तरिया सडक खण्ड स्थित पाठक आयल स्टोर नजिक पश्चिम जाने सडकको १ किलोमिटर पर कर भेटिएपछि प्रहरीलाई आक्रमणमा संलग्न रहेकाहरू पनि पक्राउ पर्ने आसा बढ्छ ।

‘गाडी फेला परेपछि हामीलाई धेरै सहज भयो । उनीहरू पनि त्यही आसपासमा हुन सक्छन् भन्ने आशङ्काको आधारमा खोजी सुरु गरेका थियौ’ डिएसपी जोशीले भने ‘स्थानीयहरूले पनि हामीलाई धेरै सहयोग गर्नुभयो ।’

कार नजिकै जङ्गल छ । त्यही जङ्गलमा लुकेर बसेको हुन सक्ने प्रहरीलाई लाग्छ । स्थानीयलाई पनि प्रहरी भारतीय मूलका युवाहरू देखिएमा प्रहरीलाई खबर गर्न आग्रह गरिसकेको हुन्छ ।

प्रहरीकै सूचनाको आधारमा गोदावरी नगरपालिका १ स्थित ऐश्वर्य सामुदायिक वनमा भारतीय मूलका नागरिक रहेको सूचना स्थानीयले प्रहरीलाई दिन्छन् । प्रहरी र स्थानीयले उनीहरू तीनै जनालाई एकै साथ पक्राउ गर्छ ।

अहिले हरियाणाका २१ वर्षका भगत सिंह, १७ वर्षका साहिल बादलिसे र २० वर्षका सन्नी जेट मालाखेती प्रहरी कार्यालयमा छन् । उनीहरू माथि थप अनुसन्धान भइरहेको छ ।

घटना पूर्व योजना अनुसार थियो वा आकस्मिक रूपमा भएको थियो भन्ने बारे अझै प्रहरीले अड्कल काट्न सकेको छैन । तर, आक्रमणमा संलग्न सबै पक्राउ परेको हुँदा सबै तथ्य चाडै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *