कर्णाली प्रदेशसभा बैठक आज पनि स्थगित, मुख्यमन्त्री रोजगार कार्यक्रमका योजना कार्यकर्तालाई बाँडेको आरोप – Nepal Press

कर्णाली प्रदेशसभा बैठक आज पनि स्थगित, मुख्यमन्त्री रोजगार कार्यक्रमका योजना कार्यकर्तालाई बाँडेको आरोप

सुर्खेत । कर्णाली प्रदेशसभाको आजको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । नेकपा एमालेले आफूसँग भएको सातबुँदे सहमति विपरीत सरकारले बजेट ल्याएको भन्दै सदन अवरुद्ध गरिरहेको छ ।

सदन खुलाउन सभामुख राजबहादुर शाहीको नेतृत्वमा सर्वदलीय बैठक बसे पनि हालसम्म कुनै निष्कर्ष निकाल्न सकेको छैन ।

एमालेले मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको कार्यक्रममा विनासूचना कार्यकर्तालाई योजना बाँडेको आरोप लगाएको छ । एमाले सांसद सुशील थापाका अनुसार मुख्यमन्त्री रोजगार कार्यक्रमको योजना बाँडफाँटमा सरकारले एकलौटी गरेको छ । उनका अनुसार एक अनलाइनमा निकालिएको विज्ञापनको आधारमा सरकारले योजना बाँडफाँट गरेको छ ।

सरकारले एक वडाबाट पाँच योजना माग्नुपर्ने र जिल्लामा रहेको सामाजिक विकास कार्यालयको प्रमुखले सांसदहरुको रोहवरमा ती योजना छनोट गरी मुख्यमन्त्री कार्यालयमा पेश गर्नुपर्ने कार्यविधि बनाएको छ । तर, सरकारले उक्त कार्यविधि विपरीत मनोमानी रुपमा कार्यकर्ता पोस्न योजना छनोट गरेको भन्दै उनले आपत्ति जनाए ।

एमालेले कर्णालीका पाँच जना सांसदको क्षेत्रमा बजेट विनियोजनको आधारसमेत मागेको छ । दैलेख, सुर्खेत, कालीकोट, डोल्पाका पाँच जना प्रत्यक्ष निर्वाचित सांसदहरुको क्षेत्रमा के आधारमा बजेट विनियोजन गरिएको भन्ने प्रश्न एमालेको रहेको प्रमुख सचेतक गुलावजंग शाहले बताए ।

‘२०७८ साल माघ १८ गते भएको सहमतिअनुसार सरकारले बजेट ल्याउनुपर्थ्यो । बजेटमा मनपरीतन्त्र भएको पाइयो’, उनले भने, ‘त्यो मनपरीतन्त्रविरुद्ध एमालेले सदन अवरुद्ध गरेको हो ।’

२०७८ साल माघमा जारी हिउँदे अधिवेशनमा एमालेले निरन्तर अवरोध गर्दै आएको थियो । उक्त अवरोध हटाउन सभामुखको रोहवरमा सात बुँदे सहमति भएको थियो ।

हेर्नुस् सहमति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर