झलनाथलाई रामचन्द्रको प्रश्न- रामकुमारी झाँक्रीलाई धर्धरी रुवाएर समाजवाद आउँछ ?(भिडिओ) – Nepal Press

झलनाथलाई रामचन्द्रको प्रश्न- रामकुमारी झाँक्रीलाई धर्धरी रुवाएर समाजवाद आउँछ ?(भिडिओ)

काठमाडौैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रामकुमारी झाँक्रीलाई धर्धरी रुवाएर समाजवाद नआउने बताएका छन् । नेकपाका संस्थापक नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको समाजवादबारेको अन्तरक्रियामा बोल्दै नेता पौडेलले सबैको पालो पुर्‍याउन मन्त्री फेर्ने संस्कृतिले समाजवाद नआउने बताए ।

पौडेललाई कार्यक्रममा उपस्थित नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई लक्षित गर्दै यस्तो धारणा राखेका थिए ।

‘चार दिन काम गर्न नपाएका मन्त्रीलाई हटाउनुपर्ने । सबैको पालो पुर्‍याउनुपर्ने पनि कतै हुन्छ रु समाजवादको कुरा गर्दा रामकुमारी झाँक्रीलाई धर्धरी रुवाएर समाजवाद आउँछ ? हामी समाजवादको नारा फलाक्ने तर घार प्रतिक्रियावादी कामहरू गर्ने ? यसरी चल्दैन । नेता, कार्यकर्ता सबैको संस्कार बदल्नुपर्छ तब मात्रै समाजवाद आउँछ’, पौडेलले भने ।

उनले कम्युनिस्ट पार्टीहरूले समाजवादको शब्दजाल बुनेको तर सो अनुसार आचरण नगरेको बताए । पौडेलले सबैको भाग पुर्‍याउन समाजवादी पार्टीका मन्त्री फेरेर पालो पुर्‍याइनु गलत भएको बताए ।

पौडेलले संविधानले दिएका अधिकारहरू कार्यान्वयन गरेमात्रै समाजवादको जग बसाल्न सकिने बताए । संविधानविरुद्ध उभिएर समाजवाद नआउने भन्दै पौडेलले संविधान जोगाउन गठबन्धन बनेको बताए ।

‘संविधानले महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडिएका क्षेत्रका जनता सबैलाई अधिकार दिएको छ । यो संविधानलाई पूर्ण कार्यान्वयन गर्न सक्यौ भने समाजवादको जग बसाल्न सक्छौँ । ओलीजीले समाजवादको जग भत्काउन खोज्नुभएको थियो । त्यो दुस्साहस रोकेर संविधान र परिवर्तन बचाउन यो गठबन्धनको आवश्यकता परेको हो’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर