भारतको जंगलमा दुई नेपाली महिलालाई रुखमा बाँधेर बलात्कार, चार भारतीय पक्राउ – Nepal Press

भारतको जंगलमा दुई नेपाली महिलालाई रुखमा बाँधेर बलात्कार, चार भारतीय पक्राउ

दाङ । राजप्र ६ बैरवावासीलाई किनमेलका लागि भारत जानुपर्ने बाध्यता छ । नेपालका बजार भन्दा भारतीय बजार नजिक पर्छ । जसका कारण त्यहाँका नेपाली घरायसी सामान किन्न भारतीय बजार नै जाने गरेका छन् ।

किनमेलकै क्रममा बैरवाका ६ जना महिला आइतबार किनमेल गर्न भारतको मनिपुर बजार जान भनेर घरबाट हिँडे । तर, उनीहरू मनिपुर नपुग्दै भारतको खैराबाङ जंगलमा बिहान साढे १० बजेतिर आपराधिक गिरोहको कब्जामा परे ।

दाङ प्रहरीका अनुसार भारतीय आपराधिक गिरोहले २ जना नेपाली चेलीलाई रुखमा बाँधेर पालैपालो बलात्कार गरेका छन् ।

नेपाली चेली रुँदै कराए पनि उनीहरूको चिच्याहट सुनिदिने त्यहाँ कोही थिएन । ४ जना महिला भने महिनावारी भएका कारण उनीहरू बलात्कार हुनबाट जोगिएको बताइएको छ ।

उनीहरू बलात्कार गरी भागेपछि सुरक्षित अरू ४ जनाले रुखमा बाँधिएका २ जनालाई उद्धार गरेर नेपाल ल्याएका थिए ।

नेपाल आइपुग्ने बित्तिकै उनीहरूले घटनाका बारेमा प्रहरीलाई जानकारी गराए । बलात्कारको घटनाको जानकारी पाउने बित्तिकै प्रहरीले भारतीय प्रहरीसँग समन्वय गर्‍यो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले बलात्कारमा संलग्न चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूले रुखमा बाँधेर पालैपालो बलात्कार मात्रै गरेनन्, उनीहरूसँग भएका मोबाइल, नाकमा लगाएका नथिँया समेत लुटेर लगेका थिए ।

दाङ प्रहरीका प्रवक्ता डीएसपी मुकुन्द रिजालका अनुसार नेपाली चेलीलाई सामूहिक बलात्कार गरेको भारतीय आपराधिक गिरोहले उनीहरूसँग भएका तीन वटा स्क्रिनटच र एउटा किप्याड मोबाइलका साथै तीनैजनाको नथिया लुटेका हुन् ।

‘दुई नेपाली चेलीलाई भारतीयले भारतको जंगलमा रुखमा बाँधेर सामूहिक बलात्कार गरेका छन्,’ डीएसपी रिजालले भने, ‘उनीहरूलाई लुटपाट समेत गरिएको छ । बलात्कारमा संलग्न चार जना भारतीय प्रहरीको नियन्त्रणमा छन् ।’

प्रहरीका अनुसार नेपाली महिलालाई बलात्कार गरेको आरोपमा राकेश पासी, रामचन्द्र्र पासी,राजेन्द्र पासी र पिन्टु पासी भारतको हरैया प्रहरी चौकीको नियन्त्रण छन् ।

अहिले मेडिकल जाँचका लागी बलात्कारका आरोपी र बलात्कृत महिलाहरूलाई बलारामपुर अस्पतालमा लगिएको छ ।

बलात्कृत महिलाका आफन्त किटानी जाहेरी लगेर भारतको हरैया प्रहरी चौकी पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर