मदन भण्डारीले ल्याएको जबजका कारण कम्युनिस्ट आन्दोलनले उचाइ पायो : उपाध्यक्ष पौडेल – Nepal Press

मदन भण्डारीले ल्याएको जबजका कारण कम्युनिस्ट आन्दोलनले उचाइ पायो : उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले जननेता मदन भण्डारीले ल्याएको जनताको बहुदलीय जनवादकै कारण नेपालमा कम्युनिस्ट आन्दोलनले उचाइ पाएको बताएका छन् ।

‘जबजमा विचारको भण्डार छ, यही विचारले नेपालको कम्युनिस्ट आन्दोलन यहाँसम्म पुगेको हो, मूल जरोलाई बलियो बनाएर एमाले बलियो बनेको हो’ सोमबार प्रेस चौतारी रुपन्देहीले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजनामा गरेको कार्यक्रममा पौडेलले भने ।

जबजलाई भण्डारीले विश्व कम्युनिस्ट आन्दोलन, नेपालको धरातलीय यथार्थता, सामाजिक अवस्थाको सूक्ष्म अध्ययन गरेर ल्याएकाले नै सबैले अनुशरण गर्न बाध्य भएको पौडेलको भनाई थियो ।

जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रताबीच बलियो सम्बन्ध रहेकाले जनताको बहुदलीय जनवाद मान्ने एमाले सधैं अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको नेता पौडेलले बताए ।

‘हामी अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छौँ । ओठे भक्ति र स्तुति होइन‚ मनैदेखि सैद्धान्तिक अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा छौँ’ उनले भने ।

मदन भण्डारीले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिनुपर्छ र प्रतिस्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्न सकिन्छ भन्ने मूल धारणा प्रतिपादन गरेको भन्दै नेता पौडेलले जनताको बहुदलीय जनवादका अलग अलग विशेषतालाई नागरिकबीच पुर्याउन आफू निरन्तर लागेको बताए ।

भण्डारीले शिक्षा र स्वास्थ्य सबै नागरिकका लागि सर्वसुलभ बनाउनुपर्छ भन्दै लैंगिक र सामाजिक समावेशीकरणका मुद्दामा काम गर्नुपर्ने विचार प्रतिपादन गरेको उनले बताए ।

जबजले आलोचना र समीक्षालाई विशेष ध्यान दिएकाले यसलाई अनुशरण गर्ने पार्टीका नेता तथा कार्यकर्ताहरूले यसको गहिरो अध्ययन गर्नुपर्ने उपाध्यक्ष पौडेलको भनाइ थियो ।

‘आलोचनाबिना कुनै गल्ती सच्चाउन पाइँदैन, पार्टीका कमजोरी आन्तरिक रूपमै गम्भीर आलोचना गर्ने, सुझाव दिने र समाधानको उपाय दिने गरी आउनु पर्दछ’ पौडेलले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर