नरोइकन बिदा भए किसान श्रेष्ठ, भने- मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर आएको छु (भिडिओ) – Nepal Press

नरोइकन बिदा भए किसान श्रेष्ठ, भने- मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर आएको छु (भिडिओ)

काठमाडौं । पदबाट हात धोएका दुई मन्त्रीले हिजै बिदाई कार्यक्रममा पत्रकारहरूलाई बोलाएर आ-आफ्नो तरिकाले पीडा पोखे । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले रुवाबासी नै गरिन् ।

बहिर्गमनमा परेका अर्का मन्त्री किसान श्रेष्ठले भने आफूहरू बाहिरिँदा पत्रकार सम्मेलन गरिरहनुको औचित्य नभएको बताएका थिए । हिजो संसदबाट बाहिरिँदै गर्दा पत्रकारसँग उनले भनेका थिए- नयाँ मन्त्री नियुक्त भएपछि हामी स्वत हट्छौं, किन राजीनामा दिनुपर्‍यो ? किन पत्रकार सम्मेलन गर्नुपर्‍यो ?

तर, मन्त्री श्रेष्ठले हिजो आफैँले दिएको गफविपरीत आज पत्रकार सम्मेलन गरेर बिदा भए । मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई कर्मचारीहरूले खादा लगाएर सम्मान गरेका थिए ।

यस विषयमा प्रष्टीकरण दिँदै श्रेष्ठले मन्त्रालयको आग्रहमा बिदाई कार्यक्रममा आएको बताए ।

‘मैले त नगरौँ भनेको थिएँ, तर सचिवज्यूले कसरी हुन्छ मन्त्रीज्यू भनेर आग्रह गर्नुभएपछि आज आएको हुँ,’ उनले भने ।

बिदाई कार्यक्रममा मन्त्री श्रेष्ठ खासै भावुक देखिएनन् । बरु उनी ठट्यौलो रूपमा पेस भएका थिए । उनले मन्त्री पद आफ्नो लागि ठूलो विषय नभएको बताए ।

उनले भने, ‘मलार्ई मन्त्री भएर पैसा कमाउने लोभलालच थिएन । आज पनि मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर आएको छु ।’

उनले छुट्टिँदा नरमाइलो लाग्नु स्वाभाविक भए पनि मन्त्री पद गएको चिन्ता नलिएको बताए । आफूपछि आउने मन्त्रीलाई सहयोग गर्न कर्मचारीलाई उनले आग्रह गरे ।

‘अब आउने पनि हाम्रै पार्टीको मन्त्री हुनुहुन्छ, उहाँलाई पनि मलाई जस्तै सहयोग गर्नुहोला,’ श्रेष्ठले भने, ‘यदि मसित कसैको चित्त दुखेको भए आजदेखि सबै भुलिदिनुहोला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर