उद्योगी–व्यवसायीबाट सरकारका गलत कदम र बजेटको आलोचना हुन सकेन : एमाले अध्यक्ष ओली – Nepal Press

उद्योगी–व्यवसायीबाट सरकारका गलत कदम र बजेटको आलोचना हुन सकेन : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्योगी, व्यवसायीको ढाड सक्ने गरी सरकारले बजेट ल्याउँदा पनि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका संगठनहरूले बजेटको आलोचना र विरोध गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको पहिलो बैठक अघि सो विभागका प्रमुख लगायत सदस्यहरूलाई निर्देशनात्मक सम्बोधन गर्दै उद्योग, वाणिज्य क्षेत्रमा सरकारका गलत कदमको आलोचना गर्नुपर्ने बताए ।

‘बजेटमा एकदम बेठिक ढंगका क्रियाकलाप भएका छन् भने ती कुराको उद्योगी–व्यवसायीको हकहितमा खुलेका संगठनले आलोचना गर्नुपर्छ,’ उनले भने, ‘त्यसको आलोचना समुचित ढंगले गर्नुपर्ने थियो । तर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत संगठनले आलोचना गरेको देखिएन ।’

उनले आफ्नो हितमा आफूले नबोले अरू नबोल्ने भन्दै उद्योगी–व्यवसायीलाई बोल्न आग्रह गरे ।

उनले एक–दुई जना व्यापारी घरानीयालाई हेरेर ल्याएको बजेटले समग्र राष्ट्रिय उद्योग–व्यापारको हित गर्न नसक्ने पनि बताए । उनले एमालेका सही नीतिमा सहमत गराउँदै उद्योगी–व्यवसायीलाई आबद्ध गराउने कुरामा भूमिका खेल्नु पर्नेमा पनि जोड दिए ।

पार्टीको उद्योग, वाणिज्य तथा आपूर्तिका क्षेत्रमा फैलाइएका भ्रमलाई चिर्दै अघि बढ्न पनि उहाँले निर्देशन दिए । उनले आर्थिक क्षेत्रका लागि नीति बनाउँदा विभागले राम्रो गृहकार्य गरी सल्लाह सुझाव दिनुपर्ने हुँदा विभागको जिम्मेवारी महत्त्वपूर्ण रहने बताए ।

‘नेकपा (एमाले)ले लिने नीति भनेको राष्ट्रिय नीति हुनुपर्छ । हाम्रो नीति राष्ट्रिय नीति हुनुपर्छ र त्यसले राष्ट्रलाई नेतृत्व गर्नुपर्छ, सरकारलाई नेतृत्व गर्नुपर्छ’ उनले भने, ‘उद्योग होस वा वाणिज्य क्षेत्रमा जुनसुकै पार्टीको सरकार भए पनि हामीले अरूको भन्दा उन्नत, सही, उपयुक्त खालका नीतिहरू लागु गर्नुपर्छ ।’

उनले एमाले आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा रहेको भन्दै विभागलाई आयत निर्भर नभई निर्यात निर्भर अर्थतन्त्रका पक्षमा काम गर्न पनि सुझाव दिए ।

निजी क्षेत्रलाई अगाडि बढ्न प्रोत्साहन गर्ने नीतिसँगै सरकारी स्वामित्वमा रहेका उद्योग, कलकारखाना र आपूर्तिसँग सम्बन्धित संस्थाहरूको संरक्षण गर्नुपर्ने भनाइ राख्दै अध्यक्ष ओलीले तर सरकारले आयल निगमलाई टाट उल्टाएर पेट्रोलियम पदार्थ आपूर्तिको जिम्मा निजी क्षेत्रलाई दिने नीति ल्याएको र आफूले त्यसको संसद्बाटै विरोध गरेको बताए ।

अध्यक्ष ओलीले इजरायलले कृषि उत्पादन निर्यात गरिरहेको प्रसंग जोड्दै हामीले पनि अर्ग्यानिक कृषि उत्पादन निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सक्छौँ भने ।

उनले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण र रोजगारी सिर्जना गर्ने नीति निर्माणमा उद्योगी व्यवसायीहरू सृजनशील र अन्वेषक बन्नुपर्ने बताउँदै सरकारले गर्ने गलत कामका लागि प्रतिक्रियात्मक पनि हुनुपर्छ भने ।

आयात प्रतिस्थापन र निर्यातमूलक उद्योग प्रबद्र्धनमा ध्यान दिनुपर्ने उल्लेख गर्दै ओलीले अध्यक्ष ओलीले उद्योग सञ्चालन इजाजत पत्र प्राप्त गर्ने लगायतका उद्योगी व्यवसायीका विविध समस्या समाधानमा सहजीकरण र सरलीकरणमा ध्यान दिनुपर्ने बताए ।

विभागको पहिलो बैठकलाई महासचिव शंकर पोखरेलले पनि सम्बोधन गरेका थिए ।

विभागका प्रमुख पार्टीका केन्द्रीय सदस्य मोती दुगडको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर