संघ र प्रदेश चुनावमा कांग्रेसलाई बहुमत ल्याउन रोक्ने ताकत कसैसँग छैनः उपसभापति खड्का – Nepal Press

संघ र प्रदेश चुनावमा कांग्रेसलाई बहुमत ल्याउन रोक्ने ताकत कसैसँग छैनः उपसभापति खड्का

सुर्खेत । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले आगामी संघ र प्रदेशसभाको निर्वाचनमा कांग्रेसको बहुमत आउने दाबी गरेका छन् ।

कांग्रेस सुर्खेतले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसको बहुमत आउनबाट रोक्ने ताकत कसैसँग नभएकोसमेत बताए ।

‘हामीले आउने संघ र प्रदेशको निर्वाचनमा बहुमत ल्याउँछौं । हामीलाई बहुमत ल्याउनबाट रोक्ने ताकत अरु कुनै पनि दलमा छैन’, उपसभापति खड्काले भने, ‘रोकिने हो भने हाम्रै कारणले रोकिने हो । हामीले राम्रो काम गर्न नसकेर रोकिने हो । हाम्रा जनप्रतिनिधिले जनताको सेवा गर्न चुकेर रोकिने हो ।’

जनप्रतिनिधिहरुको जीवनशैली, बोली व्यवहार, योजना कार्यान्वयनको वातावरणले चुनावमा धेरै प्रभाव पार्ने उनको भनाइ थियो ।

नेता खड्काले नेपालमा कांग्रेसको पछि लागेर कम्युनिष्टले भोट ल्याइरहेकोसमेत बताए । ‘हामीसँग निकटतम प्रतिस्पर्धा गर्ने एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन । कांग्रेसभन्दा बढी लोकतन्त्रवादी छौं, समाजवादी छौं भनेर उहाँहरुले भन्न सक्नुभएको छैन’, उनले थपे, ‘कांग्रेसको लोकतन्त्र, समाजवादलाई नै भोट माग्ने आधार कम्युनिष्टले बनाइरहेका छन् ।’

कांग्रेस जनप्रतिनिधिहरुलाई मतदाता, कार्यकर्ता, पार्टीका नेताहरुको योगदानलाई नभुल्न सचेत गर्दै उनले भने, ‘यदि यो योगदान भुलेर अघि बढे धनको, परिवारको, नातागोताको स्वार्थ प्रवेश गर्न थाल्छ । एक्लै हिँडने प्रवृत्ति बढ्छ । त्यसले तपाईंको राजनीति त बिग्रन्छ नै, कांग्रेसको समेत राजनीति बिग्रन्छ ।’

आफूले सुर्खेती कार्यकर्ता र जनताको शीर झुकाउने कुनै काम नगर्नेसमेत उनले बताए । ‘आज फेरि कांग्रेसलाई नेपाली जनताले नयाँ भरोसा, आशा र विश्वासको रुपमा पहिलो पार्टी बनाएर पठाएका छन् । यही विश्वास जोगाउन सकेको खण्डमा आगामी संघ र प्रदेशमा कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्दैन ।’


प्रतिक्रिया

One thought on “संघ र प्रदेश चुनावमा कांग्रेसलाई बहुमत ल्याउन रोक्ने ताकत कसैसँग छैनः उपसभापति खड्का

  1. गठबन्धन नगरे पो तागत देखिन्छ त ! गठबन्धन गरेर के फुइँ लाउनु ! कसको कति, कसको कति !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर