हेटौंडा उपमहानगरपालिकाको बजेट आज आउने, एमालेसँग मेयर र उपमेयरको तीनबुँदे सहमति – Nepal Press

हेटौंडा उपमहानगरपालिकाको बजेट आज आउने, एमालेसँग मेयर र उपमेयरको तीनबुँदे सहमति

हेटौंडा । एमालेको विरोधपछि शुक्रबार स्थगित हेटौंडा उपमहानगरपालिकाको नगरसभा आज हुने भएको छ ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामा तथा उपमेयर राजेश बानियाँले बहुमत कार्यपालिका र नगरसभा सदस्यलाई जानकारी नगराई बजेट प्रस्तुत गर्न लागेको भन्दै एमालेले विरोध गरेको थियो । विरोधपछि स्थगित नगरसभा गर्नेबारे मेयर र उपमेयरले एमालेसँग तीनबुँदे सहमति गरेका छन् ।

नेकपा एमाले हेटौंडा उपमहानगरपालिका दलका प्रमुख सचेतक सुनिल मोक्तानले आफूहरुको माग सम्बन्धमा नगर प्रमुख र उपप्रमुखले तीनबुँदे सहमति गरेको जानकारी दिए ।

सहमतिको पहिलो बुँदामा नेकपा एमाले सम्बद्व ५४ जना सदस्यले पेश गरेको संशोधन प्रस्ताव नगरसभापछि कानूनी परामर्श गरी प्रक्रिया अगाडि बढाउने उल्लेख छ । दोस्रो बुँदामा विषयगत समितिहरू सहमतिको आधारमा गठन गर्ने र तेस्रो बुँदामा बजेट निर्माणमा सामूहिक छलफलबाट टुङ्गो लगाउने उल्लेख छ ।

हेटाैंडा उपमहानगरपालिकाकाे नगरसभामा एमालेकाे बहुमत रहेकाे छ । सहमति भएसँगै स्थगित नगरसभा आइतबार दिउँसो ३ बजेबाट सुरु हुने उपमहानगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर