बालेन्द्रले रवि लामिछानेलाई तिर्लान् पालाको पैंचो ? – Nepal Press

बालेन्द्रले रवि लामिछानेलाई तिर्लान् पालाको पैंचो ?

बालेन भर्सेस रविः कति समान, कति फरक ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको चुनावी दौड उत्कर्षमा पुग्दा लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले आफ्नो पेशागत आचारसंहिताको सीमा नाघ्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको खुला पक्षपोषण गरे । सामाजिक सञ्जालमा स्टाटस नै लेखेर उनले कांग्रेस–एमालेबाहेकका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएर बालेन्द्रलाई मेयर जिताउन आह्वान गरेका थिए ।

तटस्थ भूमिकामा रहनुपर्ने एउटा मिडियाकर्मीले अमुक उम्मेदवारको पक्षमा यसरी लविङ गर्नु पत्रकार आचारसंहिता विपरीत मानिन्छ । तर, बालेन्द्र कुनै राजनीतिक पार्टीको नभएर स्वतन्त्र उम्मेदवार भएकाले रविले गरेको पक्षपोषणमाथि धेरै प्रश्न उठेन । अन्ततः बालेनले मेयरको चुनावमा सानदार जीत हासिल गरेर अहिले आफ्नो कर्म क्षेत्रमा जुटिरहेका छन् ।

टेलिभिजन कार्यक्रममार्फत जनताको आँसु पुछ्ने प्रयास गर्दै आएका रवि लामिछानेको पछाडि समर्थकहरुको ठूलै जमात छ । उनलाई ‘भगवान’ नै मान्नेहरु पनि छन् । त्यसैले रविले सामाजिक सञ्जालमा बालेनको पक्षमा लेखेको स्टाटसले उनको जीतमा पक्कै केही न केही टेवा पुर्याएकै हुनुपर्छ । अहिले आएर रवि आफैं चुनावी मैदानमा उत्रिएका छन् । उनले टेलिभिजनबाट राजीनामा दिएर राजनीतिक दल खोल्दै प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरिसकेका छन् । अब धेरैको जिज्ञासा छ, रविको चुनावी अभियानमा मेयर बालेन्द्र साहको भूमिका कस्तो हुन्छ ? के बालेन्द्रले रविको पक्षमा खुलेर हिजो उनले लगाएको गुण तिर्लान् ?

बालेन निकट स्रोतले यो विषयमा कुनै छलफल नभएको बतायो । ‘चुनाव आउन धेरै समय बाँकी छ, त्यसैले उहाँले के गर्नुहुन्छ भन्ने अहिल्यै अनुमान गर्न कठिन हुन्छ’, स्रोतले भन्यो, ‘मेयरकै काममा व्यस्त रहनुभएकाले यो विषयमा हामीसँग कुराकानी गर्नुभएको पनि छैन ।’
चुनाव नजिकिँदासम्म रविको पक्ष वा विपक्षमा कस्तो माहोल बन्छ भन्नेमा पनि धेरै कुरा निर्भर हुने बालेनसँग निकट बताउँछन् ।

‘मेयरजस्तो सार्वजनिक ओहदामा रहेको व्यक्तिले हतारमा कुनै उम्मेदवारको पक्षमा बोलिहाल्न पनि मिल्दैन’, उनले भने ।

रवि लामिछाने र बालेन्द्रबीच पुरानो व्यक्तिगत सम्बन्ध होइन । चुनावअघि वा पछि उनीहरुको प्रत्यक्ष भेटसमेत भएको छैन । चुनावी अभियानका क्रममा रविले दुईपटक फोनमार्फत साहको अन्तर्वार्ता लिएर प्रसारण गरेका थिए । बालेनको पक्षमा माहोल तात्दै गएपछि रविले स्वःस्फुर्त रुपमा उनको समर्थनमा स्टाटस लेखेका हुन् । कतिले यसलाई ‘बलेको आगो ताप्न खोजेको’ आरोप लगाए त केहीले पत्रकारिताको सीमा नाघेको भन्दै आलोचना पनि गरे । तर, आम रुपमा भने उनको स्टाटसले राम्रै प्रतिक्रिया पायो ।

यस्तो थियो रविको स्टाटसः
‘ठूला दल कांग्रेस र एमाले एकातिर अनि विकल्प भन्दै वा खोज्दै राजनीति गरिरहेका अन्य दल र व्यक्तिहरु अर्कातिर । जनताको म्यासेज क्लियर कट रूपमा देखिनका लागि पनि काठमाडौंमा कांग्रेस र एमालेबाहेकका दल र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र युवा उम्मेदवार बालेन शाहलाई समर्थन गरी त्रिपक्षीय भिडन्तका लागि मैदान खाली गरिदिन हुन म व्यक्तिगत रुपमा अनुरोध गर्दछु ।’

बालेन्द्रले मेयरमा जितिसकेपछि रविमा पनि चुनाव लड्ने भूत सवार भएको कतिपयको दावी छ । तर, रविले चाहिँ राजनीतिमा आउने पुरानै योजना भएको बताउँदै आएका छन् । अस्ति आयोजित पत्रकार सम्मेलनमा रविलाई बालेन्द्र साह उनको पार्टीमा आउन सक्ने सम्भावनाका बारे सोधिएको थियो । तर, रविले साहलाई पार्टीमा ल्याउने वा उनको समर्थन लिनेभन्दा पनि मेयरको रुपमा उनलाई सफल बनाउने कुरा महत्वपूर्ण रहेको जवाफ दिए ।

‘उहाँजस्तो व्यक्ति हामीलाई मात्र नभएर जुनसुकै पार्टीलाई चाहिन्छ’, रविले भनेका छन्, ‘तर, यसबेला हामीले उहाँलाई तानातान गर्नेभन्दा पनि मेयरका रुपमा काम गर्न दिनुपर्छ । किनकि उहाँलाई असफल हुने सुविधा छैन ।’

विगतमा बालेन्द्रलाई स्वतन्त्रमा जिताउन भूमिका खेल्ने टीम अहिले पनि संसदीय चुनावमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुसँग नजिक छ । पार्टी खोलेका रवि लामिछानेभन्दा आफूजस्तै स्वतन्त्र उम्मेदवारहरुप्रति बालेन्द्रको सदासयता रहने स्रोतले बतायो । रविले भने आफूले पनि स्वतन्त्र उम्मेदवारहरुलाई समेट्न नै स्वतन्त्र पार्टी गठन गरेको बताइरहेका छन् ।

‘पार्टीको रुपमा दर्ता भए पनि हामी राजनीतिक रुपमा स्वतन्त्र व्यक्तिहरु नै हौं । स्वतन्त्रहरुलाई जुटाएर शक्ति निर्माण गर्नमात्रै यो कदम चालिएको हो’, रवि निकट स्रोतले भन्यो, ‘त्यसैले बालेन्द्रले हामीलाई समर्थन गर्न कञ्जुस्याइँ गर्नु आवश्यक छैन ।’

रविले स्वतन्त्र उम्मेदवारी दिएका पुकार बमलगायतसँग हिजोमात्रै भेटघाट गरेका थिए । अर्कोतर्फ काठमाडौं ३ बाट रविकै दाजु हरिशरणले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दा उनलाई पारिवारिक झिँझो उत्पन्न भइरहेको छ । अरुको समर्थन जित्नेभन्दा पहिले पारिवारिक कलह मिलाउन रविलाई धेरैले सुझाव दिएका छन् ।

बालेन्द्र भर्सेस रवि

बालेन्द्र र रवि लामिछाने फरक–फरक विशेषता बोकेका प्रतिभाहरु हुन् । उनीहरुको आआफ्नै पृष्ठभूमि, स्वभाव, शैली, क्षमता र सीमाहरु छन् ।

काठमाडौंको मेयरमा उम्मेदवारी दिनुअघिसम्म बालेन आम रुपमा परिचित थिएनन् । उनलाई ¥याप संगीत सुन्ने युवाहरुको सानो जमातले मात्रै चिन्थ्यो । उम्मेदवारी घोषणा गरेर सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता दिन थालेपछि मानिसहरुले उनको भिजन र शैली रुचाए । चर्को नबोल्ने, अरुलाई गालीगलौज नगर्ने तथा महानगरका यावत विषयहरुमा गहिरो दख्खलका कारण मतदाताहरुले उनलाई विश्वास गरेका हुन् ।

मेयर निर्वाचित भएपछि बालेन्द्रको लोकप्रियता घट्नुको साटो झन् बढेको छ । उनी अन्तर्वार्ता दिने र उद्घाटनमा हिँड्नेभन्दा महानगरकै काममा दत्तचित्त भएर लागेका छन् । यद्यपि, चर्को जनसमर्थनका कारण पछिल्लो समय उनमा केही अहम पलाएको पनि देखिन्छ ।

यता, रवि लामिछानेको कुरा गर्दा उनी जनमुखी पत्रकारिता गरेर चर्चामा आए र लोकप्रियता कमाउन सफल भए । टेलिभिजन कार्यक्रममार्फत उनले धेरैको आँसु पुछेका छन् । पत्रकारिता भनेको सूचना सम्प्रेषण गर्नेमात्र नभएर मानिसहरुको दुःखपीडालाई समाधान गर्न पनि सहयोगी बन्न सक्छ भन्ने उनले स्थापित गराए । यद्यपि, रविको प्रस्तुति र शैली भने आलोचनामुक्त थिएन । उनले आपैंmलाई न्यायाधीश र पुलिसका रुपमा उभ्याएर थुप्रै मानिसहरुको मानमर्दन पनि गरेका छन् ।

बालेन्द्र र रविमा एउटा समान विशेषता छ, त्यो हो राष्ट्र निर्माणको हुटहुटी । उनीहरु दुवै देशमा परिवर्तन ल्याउने उत्कट अभिलाषा छ र त्यसको अगुवाइ आफूले गर्न सक्ने आत्मविश्वास पनि । उनीहरु को कति सफल हुन्छन्, त्यो भविष्यले नै बताउला ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर