अर्थमन्त्री पार्टी बैठकमा गएपछि बजेटमाथिको छलफल अनिश्चित – Nepal Press
सुदूरपश्चिम प्रदेश

अर्थमन्त्री पार्टी बैठकमा गएपछि बजेटमाथिको छलफल अनिश्चित

कैलाली । सुदूरपश्चिम प्रदेशसभामा बजेट प्रस्तुत भएको झन्डै दुई सातासम्म पनि छलफल सुरू भएको छैन ।

असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले २०७९/०८० को लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका थिए ।

असार १ गते प्रस्तुत भएको बजेटमाथि ८ गते प्रदेशसभामा छलफल हुने कार्यसूची रहेको थियो । तर, सत्ता पक्ष र विपक्षबाटै विरोधपछि ८ गते प्रदेश सभा बैठक नै नबसी १३ गतेको लागि बैठक आह्वान गरिएको थियो ।

१२ गते दिउँसो ३ बजे बस्ने भनिएको बैठक पनि आज नबस्ने भएको छ । सरकारले १२ गतेको बैठक १६ गते सम्म सारिदिन सभामुख अर्जुनबहादुर थापालाई आग्रह गरेपछि बैठक १६ गते सम्म सारिएको छ ।

सरकारको तर्फबाट प्रदेश अर्थमन्त्री रावलले नै सभामुख थापालाई फोन गरेर बैठक सारिदिन आग्रह गरेका थिए । यस अघि ८ गते कार्य व्यवस्था परामर्श समितिको बैठकबाट बैठक स्थगित गरिएको भए पनि आज परामर्श समितिको बैठक नबसी स्थगित गरिएको हो ।

बैठकमा अर्थमन्त्री नै नरहने अवस्था आएपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश अर्थमन्त्री रावल अहिले नेकपा एकीकृत समाजवादीको बैठकमा सहभागी हुन काठमाडौं पुगेका छन् ।

यता सत्ता पक्षमै रहेको नेपाली कांग्रेसले भने सरकारले विरोध सहज नसक्ने भए पनि बैठक स्थगित गरेको आरोप लगाएको छ । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्काले भने, ‘सरकारलाई हामीले बजेट परिस्कृत गर्न भनेका थियौँ अहिलेसम्म कुनै पहल भएन । यही अवस्थामा सांसदले बहिष्कार गर्ने डरले संसद् स्थगित गरिएको हुन सक्छ ।’

उनले बजेट उपयुक्त नभएको बताउँदै आएका थिए । यता प्रतिपक्ष दल नेकपा एमालेले पनि यही अवस्थामा बजेटमाथि छलफल हुन नसक्ने जनाउँदै आएको छ ।

‘सरकारले नीति र सिद्धान्तविपरीत बजेट ल्याएको छ कुनै पनि अवस्थामा यो बजेट माथि छलफल हुन सक्दैन’ एमालेका नेता पठानसिंह बोहराले भने ‘सरकारले विरोध झेल्न नसक्ने भए पनि संसद् स्थगित गरेको हो ।’

सुदूरपश्चिम सरकारले ल्याएको बजेटको विरुद्धमा अहिले सत्ता पक्ष र विपक्ष एकै ठाउँमा उभिएका छन् । उनीहरूले संयुक्त रूपमा बजेट संशोधन गर्नु पर्ने बताइरहेका छन् । बजेट संशोधन नगरे सम्म प्रदेश सभामा छलफल हुन नसक्ने उनीहरूको दाबी छ ।

सुदूरपश्चिम प्रदेशका बजेटमा लुम्बिनी प्रदेशका योजनाहरू पनि भेटिएपछि सांसदहरू थप रुष्ट भएका हुन् ।

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक दुर्गा विकले सांसदहरूको माग अझै पूरा नभएको हुँदा सरकारले बैठक सार्न आग्रह गरेको हुन सक्ने बताइन् । उनले अघिल्लो परामर्श समितिको बैठक सम्झँदै भनिन्, त्यो बेला सबैले सरकारलाई बजेटमा केही थपघट गर्न आग्रह गर्नुभएको थियो त्यो अझै सम्म नभएको हुँदा सरकारले बैठक सार्न आग्रह गरेको हुनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर