नागरिकता विधेयक यही कार्यकालमा पारित गर्ने गरी छलफल अघि बढेको छ : सभामुख सापकोटा – Nepal Press

नागरिकता विधेयक यही कार्यकालमा पारित गर्ने गरी छलफल अघि बढेको छ : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक यही कार्यकालमा पारित गर्नेगरी छलफल अघि बढेको बताएका छन् ।

संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास पहिलो संसददेखि संघीय संसदसम्म’ पुस्तकको आइतबार विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।

सभामुख सापकोटाले बीउबिजन विधेयक पारित भएको उदाहरण प्रस्तुत गर्दै नागरिकता विधेयक पारित नहुँदा नागरिकता पाउन नसकेका धेरै युवाले आफूलाई भेटेर पीडा पोखेको सुनाए । उनले यही कार्यकालमा नागरिकता विधेयक पास गर्न प्रधानमन्त्रीदेखि विभिन्न पक्षसँग छलफल अघि बढाएको पनि जानकारी दिए ।

सभामुख सापकाटोले अलिकति मेहनत गरिए आठ वटा प्रतिस्थापन विधेयक पनि पास गर्न सकिने बताए । उनले भने, ‘संसदको कानून निर्माण गर्नेमात्रै नभएर गुणस्तरीय कानुन निर्माण गर्ने दायित्व हो । कानूनका नौ सिङ हुन्छन् भनेझैं अहिले कानूनको दुरुपयोग हुँदै गएको छ । त्यस्तो नहुने गरी कानून बनाउनु आवश्यक छ ।’

संसद लोकतन्त्रको आत्मा रहेको बताउँदै उनले लोकतन्त्रलाई बलियो बनाउन आफूहरुले गर्ने आनीबानी पनि लोकतान्त्रिक हुनुपर्नेमा जोड दिए । सभामुख सापकोटाले सुशासन र भष्टाचार नियन्त्रणका लागि आफू र आफ्नो सचिवालय प्रतिबद्ध भएर लागेको बताए ।

विमोचित पुस्तक प्रभावकारी रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर