१२ वर्षमा बन्यो तिनाउ नदीको मणिग्राम-मोतिपुर पुल – Nepal Press

१२ वर्षमा बन्यो तिनाउ नदीको मणिग्राम-मोतिपुर पुल

रुपन्देही । तिलोत्तमास्थित तिलोत्तमास्थित तिनाउ नदीमा मणिग्राम-मोतिपुर जोड्ने पुल १२ वर्षमा निर्माण पूरा भएको छ । शनिबार गृहमन्त्री बालकृष्ण खाणले पुलको उद्घाटन गरे ।

बुद्ध सर्किट सडकमा पर्ने मणिग्राम-मोतिपुर जोड्ने उक्त पुल २५ असार २०६७ सालमा सम्झौता भई निर्माण थालिएको थियो । ६ वटा फाउन्डेसन रहने गरी डिजाइन गरिएको पुलका तीन वटा फाउन्डेसनमा चट्टान परेका कारण निर्माण कार्य रोकिएको थियो ।

पुलको तीन वटा फाउन्डेसन र दुई स्ल्याप ढलान भएपछि पुल रोकिएको थियो । यसअघि बेल फाउन्डेसन डिजाइनमा स्वीकृत भएको थियो । तर, सम्झौता र डिजाइनअनुसार १७ मिटर जमिनबाहेक जानुपर्ने फाउन्डेसनमा कडा चट्टान परेपछि जम्मा ७ देखि १० मिटरसम्म भित्र गएको थियो ।
त्यसपछि सडक विभागको पुल महाशाखाबाट विभिन्न चरणमा छलफलपछि बेल फाउन्डेसनलाई परिवर्तन गरी पाइल फाउन्डेसन बनाउने वैकल्पिक डिजाइन स्वीकृत भएपछि गतबर्षदेखि पुनः निर्माण थालिएको थियो ।

बनाउन थालेको ११ वर्षपछि गतवर्ष डिजाइन नै परिवर्तन गरी काम थालिएको थियो । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले १२ वर्षमा पुलको काम सकिएको जानकारी दिएका छन् । पुलको लम्बाइ १८५ र चौडाइ ११ मिटर छ । दुवैतर्फ १.७५ मिटर फुटपाथ रहेको छ भने साढे ७ मिटरको डबल लेनमा सवारी चलाउन सकिन्छ । पुल निर्माणसँगै मगरघाटमा हुने जाम कम हुने डिभिजन प्रमुख जयलाल मरासिनीले बताए ।

पहिलो चरणमा २०६९ पुस २४ गते सक्ने गरी १२ करोड रूपैयाँमा काठमाडौंको एलिट कन्स्ट्रक्सन कम्पनीलाई ठेक्का दिइयो । तोकिएको अवधिमा काम नसकिएपछि २०७७ फागुन १३ गतेसम्म म्याद थपिएकोमा पुन: ७९ असार मसान्तसम्म सम्झौता अवधि बढाइयो ।

पुल निर्माणपछि बुटवल उपमहानगरपालिका-१७ र १८, शुद्धोदनको मानपकडी, मानमटेरियादेखि सूर्यपूरा, सियारीका स्थानीयलाई पूर्वीरुपन्देहीका मुख्य बजार आउन सहज र नजिक पर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *