मदन जयन्तीमा रुपन्देहीमा खेलकुद गतिविधि – Nepal Press

मदन जयन्तीमा रुपन्देहीमा खेलकुद गतिविधि

रुपन्देही । ७१ औ मदन जयन्तीको अवसरमा रुपन्देहीमा विविध खेल गतिविधि सुरु भएको छ । कम्युनिस्ट नेता मदन भण्डारीको स्मृतिमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रको आयोजनामा बुटवलमा कलेज स्तरीय छात्रछात्रा भलिबल तथा चेस प्रतियोगिता शनिवार शुभारम्भ गरिएको हो ।

सिद्धेश्वर माविको खेल मैदानमा एक समारोहबीच पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतियोगिताको उद्घाटन गर्दै युवालाई खेलमाध्यमबाट अघि बढाएर देशको विकासमा लगाउन सकिने बताए ।

एमाले सरकारमा रहेका बेला एक वडा, एक खेल मैदानजस्ता खेल पूर्वाधार विकासका काम अगाडि बढाएको स्मरण गर्दै उनले खेलकुद पूर्वाधारमा धेरै कामहरू भएको बताए ।

खेल पर्यटनको सम्भावना नेपालमा रहेको उनले दाबी गर्दै खेल पर्यटनसँगै आर्थिक पाटोमा देशलाई फाइदा मिल्ने उनले बताए । रुपन्देहीमा अन्तर्राष्ट्रियस्तरको इन्डोर मैदानको अभावलाई पूरा गर्न आफू लाग्नेसमेत प्रतिबद्धता उनले जनाए ।

स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेल विकासमा आफूहरू संस्थागत रूपमा लागेको बताए । दिवसको अवसरमा पारेर सात वटा विद्यामा खेल प्रतियोगिताहरू देशका विभिन्न प्रमुख सहरहरूमा खेलाइएको उनले बताए ।

उद्घाटन सत्रमा आयोजना गरिएको मार्च पासमा कालिका मानव ज्ञान मावि उत्कृष्ट हुँदै नगद १० हजार रुपैयाँसहित ट्रफि प्राप्त गरेको छ । नवज्योति मावि सान्त्वना हुँदै २ हजार रुपैयाँ नगदसहित ट्रफि प्राप्त गरेको प्रचार विभाग संयोजक अमृता अनमोलले बताइन् ।

भलिबलतर्फ छात्रमा १८ र छात्रामा ११ टिमले भाग लिएका छन् । चेसमा एक सय बढीले भाग लिएका छन् । वेस्ट अफ थ्रीको आधारमा नट आउट प्रतियोगितामा खेलाइएको हो ।

भलिबलतर्फ प्रथम हुने टिमले नगद ५० हजारसहित कप, मेडल, प्रमाणपत्र, द्वितीय टिमले नगद ३० हजार रुपैयाँ, तृतीय टिमले नगद २० हजार तथा सान्त्वना टिमले नगद १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने भलिबल खेल संयोजक बुद्धि बस्यालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर