काठमाडौं-६ मा अब्दुस मियाँको उम्मेदवारी घोषणा – Nepal Press

काठमाडौं-६ मा अब्दुस मियाँको उम्मेदवारी घोषणा

‘संविधानमा ‘नो अब्जेक्सन’, संसद्मा भ्रष्टाचारको भण्डाफोर गर्ने, ‘शान्ति क्षेत्र’को प्रस्तावको पहल गर्ने’

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं-६ बाट अब्दुस मियाँले उम्मेदवारी घोषणा गरेका छन् । विगतमा विवेकशील साझा पार्टीको युवा संगठनको संयोजक रहेका उनले दल त्याग गरेर स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका हुन्। यद्यपि चुनाव अगाडी या चुनाव पछि पुनः युवाहरूको नयाँ राजनीतिको आका‍ंक्षालाई समेट्ने गरी नयाँ सम्भावना खोजिने उनले बताए।

‘प्रतिनिधि सभामा सक्षम र स्वतन्त्र युवाहरू कानून निर्माताका रूपमा सहभागी हुनुपर्छ भन्ने मेरो उद्देश्य हो’ मियाँले भने, म ‘देशभरका १६५ निर्वाचन क्षेत्रहरूबाटै सक्षम युवाहरुलाई उम्मेदवारी दिन आह्वान गर्न चाहन्छु।’

मियाँले आफ्नो मुख्य एजेण्डाको रूपमा ‘नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्तावलाई अगाडि बढाउन पहल गर्ने, गरिखाने उद्यमशील समाज बनाउनको निम्ति नीतिगत, ब्युरोक्र्याटीक र प्रशासनिक झन्झट लाई हटाउने, ग्लोबल वार्मिङ, यु।बि।आइ , लगायत विषयलाई संसद्को बहसको विषय बनाउने’ छन्।

उनले संसद् विकास कोषको कनिका छर्ने जस्तो प्रावधानलाई संशोधन गर्दै पोलिसी डेडिकेसनको माध्यम बाट सामुदायिक शिक्षालयको पुनः संरचना गर्दै अगाडि बढाउन भूमिका खेल्ने बताए ।

संविधानमा ‘नो अब्जेक्सन’

विवेकशील साझा पार्टीमा रहँदा तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले प्रस्तुत गरेको दस्ताबेजमा समेटिएका विषयबारे सञ्चारकर्मीको प्रश्नमा उनले संविधानका मूलभूत अन्तर्वस्तुबारे आफ्नो विमति नरहेको बताए ।

‘पार्टीमा अध्यक्षले ल्याउनुभएको प्रस्तावमा पार्टीभित्र विभिन्न धारणा थिए । तर त्यसले सही ट्र्याक लिन नसकेपछि अहिले पार्टी नै कोमामा छ। त्यो च्याप्टर नै क्लोज भयो। मेरो यो संविधानमा खास विमति छैन।’

काठमाडाैं ६ लाई ‘गरिखाने युवाहरूको क्षेत्र’ बनाउन पहल गर्ने

काठमाडौंको दरबारमार्गमा मनोरञ्जन व्यवसाय गर्नेदेखि देखि टोखाको पसलमा दूध या मासु बेचेर नेपालमै गरिखाने माहौल बनाइरहेका युवाहरूको आवाज संसदबाट उठाउने मियाले बताए।

राजनीतिक तहमा रहेको भ्रष्टाचारको कारण देशमा रोजगारीका अवसर खोसिएको र युवाहरू बिदेसिन बाध्य भएको अवस्थामा नेपालमै केही गरूँ भन्ने युवाहरूलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने मियाँको भनाई थियो।

नेपाललाई ‘शान्ति क्षेत्र’ को प्रस्तावलाई अगाडि बढाउन पहल गर्ने

नेपाललाई शान्ति क्षेत्रको रूपमा स्थापित गर्ने प्रस्तावलाई अगाडी बढाउन पहल गर्ने उनले बताए ।

नेपालको खराब कूटनीतिका कारण बुद्ध जन्मस्थल शान्तिको पर्याय भूमि नेपाल विदेशी शक्ति राष्ट्रहरूको खेलमैदान बन्ने डर बढिरहेकोले नेपाललाई शान्ति क्षेत्र कायम गराउने प्रस्ताव पुनः अगाडी बढाउन पर्ने र त्यसमा आफ्नो तर्फबाट संसदबाट पहल रहने मियाको प्रतिबद्धता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर