चौतारा पुगेर नेता पुनले भने : सम्मानजनक नभए गठबन्धन टुट्न सक्छ – Nepal Press

चौतारा पुगेर नेता पुनले भने : सम्मानजनक नभए गठबन्धन टुट्न सक्छ

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तहमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली कांग्रेसको चलाखी अब नचल्ने धारणा व्यक्त गरेका छन् ।

सिन्धुपाल्चोकको चौतारामा आज आयोजित माओवादीका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा बोल्दै नेता पुनले स्थानीय तहको चुनावमा कांग्रेसले आफू जित्ने ठाउँमा माओवादीलाई अरूसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरूसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिङ्गल लड्ने र जसरी हुन्छ जित्ने चलाखी गरेको तर्क गरे ।

नेता पुनले भने, ‘स्थानीय तह निर्वाचनमा कांग्रेसले गठबन्धनको नाउँमा चलाखी गरेको देखियो । आफू जित्ने ठाउँमा माओवादीलाई अरूसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरूसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिङ्गल लड्ने गरेको देखियो । अब आउने निर्वाचनमा कांग्रेसको त्यस्तो चलाखी चल्दैन ।’

नेता पुनले कांग्रेसको चलाखीका बाबजुद अझै पनि कांग्रेससँगको गठबन्धनको औचित्य नसकिएको टिप्पणी गरे । अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहे पनि सम्मानजनक गठबन्धन भएन भने गठबन्धन टुट्न पनि सक्ने उनले चेतावनी दिए ।

‘केपी ओली प्रवृत्तिको कारण संविधान र लोकतन्त्र नै खतरामा परेको अवस्थामा गठबन्धन बनेको थियो र अझै जरुरी रहेको छ, नेता पुनले सिन्धुपाल्चोकका नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै भने, ‘आगामी निर्वाचनमा बाम गठबन्धनको चर्चा चले पनि केपी ओली प्रवृत्ति रहेसम्म त्यो सम्भावना छैन ।’

बाम गठबन्धनलाई जनताले चाहेको र रुचाएको भए पनि राज्यको प्राथमिकता छोडेर कम्युनिस्ट भएर धार्मिक अन्धतामा मात्र रमाउने र स्वच्छाचारी ओलि प्रवृत्तिका कारण बाम गठबन्धन अहिले सम्भावना नभएको बताए।

स्थानीय तहको निर्वाचनको परिणाम माओवादीले सोचेभन्दा केही कम आए पनि माओवादी केन्द्र भरोसायोग्य पार्टीको रूपमा जनताको बीचमा स्थापित भएको र जनताले विश्वास पनि गरेको उनले बताए ।

‘केही देशी विदेशी तत्त्वहरूले यस पटकको निर्वाचनमा माओवादी केन्द्र पत्तासाफ हुने हौवा पिटाए पनि जनतले त्यो हौवा चिरी दिए । कहिले सानो, कहिले ठूलो पार्टी बनेर माओवादी पार्टी रहिरहने सन्देश यो स्थानीय तहको चुनावले दिएको छ’, उनले थपे, ‘यो नासिने र मासिने पार्टी होइन संख्यात्मक हिसाबले माओवादी केन्द्र तेस्रो शक्ति देखिए पनि बिचार र सिद्धान्तको हिसाबले पहिलो पार्टी हो।’

संख्यात्मक हिसाबले पनि माओवादीलाई पहिलो पार्टी बनाउन नेता पुनले सिन्धुपाल्चोकका नेता कार्यकर्तालाई निर्देशन दिए । प्रशिक्षणसँगै नेता पुनले सिन्धुपाल्चोकमा स्थानीय तहको चुनावमा निर्वाचित भएका माओवादीका जनप्रतिनिधिलाई सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रीय सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिकाका नवनिर्वाचित मेयर कृष्णप्रसाद सापकोटा, नेताहरू माधव सापकोटा, सरल सहयात्री लगायतले पनि प्रशिक्षण दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर