मूल्यवृद्धिभन्दा शेयर बजारलाई इस्यु बनाउँदै नेताहरु – Nepal Press

मूल्यवृद्धिभन्दा शेयर बजारलाई इस्यु बनाउँदै नेताहरु

काठमाडौं । अहिले सबैतिर शेयर बजारको चर्चा भरहेको छ । ३२ सय अंक पुगेको शेयर बजार १८ सय अंकमा झरेपछि सत्ता पक्ष र प्रतिपक्ष नै शेयर बजारको विषयमा बोल्दै हिँडिरहेका छन् ।

प्रतिपक्षले नेपाल राष्ट्र बैंकको नीतिका कारण शेयर बजार घटेको आरोप लगाइरहेको छ । प्रतिपक्षले अर्थतन्त्र नै नबुझेको र अर्थतन्त्र तहसनहस गर्ने व्यक्ति नै अर्थमन्त्रीका रुपमा रहेको भनेर भन्दै आएको छ ।

दैनिक उपभोग्य वस्तुको मूल्य दिन दुईगुणा, रात चौगुणा हिसाबले वृद्धि भइरहेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारण समग्र अर्थतन्त्रमै असर गरेर मूल्य अत्यधिक बढेको हो । तर, संसदमा महंगीको विषयमा खासै कुरा उठेको छैन । प्रतिपक्षले महंगीको विरुद्धमा आन्दोलनको कार्यक्रम भर्खरै घोषणा गरेको छ । विभिन्न पार्टीका विद्यार्थी नेताहरु मूल्यवृद्धि नदेखेको जसरी बसिरहेका छन् ।

सत्ता पक्ष र प्रतिपक्षका सांसदहरु नै शेयर बजारको विषयमा बोल्न थालेका छन् । केही दिनअघि संसद बैंठकमा नेपाली कांग्रेसका नेता गंगन थापाले धेरै सर्वसाधारणले शेयर बजार घटेको भनेर गुनासो गर्ने गरेको बताएका थिए ।

आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र गगन थापाबीच शेयर बजारको विषयमा छलफलसमेत गएको छ । कांग्रेसका महामन्त्री एवं सांसद थापाले अर्थतन्त्रमा देखिएको समस्याका विषयमा गभर्नरसँग छलफल गरेका थिए ।

गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीसँग भेटेको कुरा उनले फेसबुकमार्फत जानकारी गराएका छन् । ‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीसँग भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितीको अवस्था र पूँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरूमा छलफल गरेको छु’, थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेकपा एमालेका संसदहरुले पनि शेयर बजारमा भएको गिरावटको बारेमा संसदमा बोल्दै आएका छन् । केही दिनअघि मात्रै एमाले सांसद नवीना लामाले शेयर घटेको विषय उठाएकी थिइन् ।

पूर्वअर्थमन्त्रीहरुले पनि यस विषयमा बोल्न थालेका छन् । नेपालमा करिब ५२ लाखको डिम्याट खाता रहेको छ । १० लाखभन्दा धेरैले दोस्रो बजारमा शेयर खरिदबिक्री गर्ने गरेका छन् ।

तर, सर्वसाधारणले प्रयोग गर्ने दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको विषयमा संसदमा खासै चर्चा भएको छैन । तेल, दाल, चामल, तरकारी, माछा मासु सबैको मूल्य आकाशिएको छ ।

शेयर बजार घट्दा सुधारको नाममा ३ पटक लगानीकर्ता तिलक कोइराला अमरण अनसन बसिसकेका छन् । आज नै उनको तेस्रो अनसन माग पूरा गर्ने शर्तमा तोडिएको छ । तर, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको विरुद्ध बोल्ने मान्छेसमेत छैन । उपभोक्ताकर्मीहरु समेत कानमा तेल हालेर बसिरहेका छन् ।

शेयर कारोबार पैसा हुनेहरुले गर्ने हो । तर, दैनिक उपभोग्य वस्तु भने उच्चदेखि निम्न वर्गले समेत प्रयोग गर्नैपर्ने आवश्यकता छ । सबैले प्रयोग गर्ने वस्तुमा भन्दा ५२ लाख प्रयोगकर्ता भएको शेयर बजार बढाउन नेतादेखि लगानीकर्तासम्म लागिपरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सबै वस्तुको मूल्य अत्यधिक बढेको छ । इन्धनको मूल्यवृद्धिले समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पारिरहेको छ ।

पहिले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन बोल्नुपर्ने नेताहरुले शेयर बजारको बारेमा ध्यान दिएका छन् । शेयर बजारबारे बोल्नै हुँदैन भन्ने हैन । अहिले दैनिक उपभोग्य वस्तुमा लाग्दै आएको कर घटाउने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा नेताहरुले शेयरका विषयमा बोल्न थालेका छन् ।

राष्ट्र बैंकले केही दिनअघि निकालेको तथ्याङ्कअनुसार समग्रमा मूल्यवृद्धि ७.७ प्रतिशत थियो । यस वर्ष खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत, फलफूल १२.६१ प्रतिशत र २४.८६ प्रतिशतले वृद्धि भएको छ ।

पछिल्लो समय खाने तेलको मूल्य दैनिक उपभोग्य वस्तुमध्ये सबैभन्दा धेरै वृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्य पनि त्यसैअनुसार वृद्धि भएको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार दूध र दुग्धपदार्थमा ११.३० प्रतिशत र दलहन बालीमा १०.५३ प्रतिशत मूल्यवृद्धि भएको छ । सरकारको तथ्यांकभन्दा बजारको मूल्यवृद्धि अझ माथि रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर