कर्णालीको बजेट : विभेदको खाडल झल्किएको एमालेको टिप्पणी – Nepal Press

कर्णालीको बजेट : विभेदको खाडल झल्किएको एमालेको टिप्पणी

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको वार्षिक बजेटमाथि प्रदेशसभामा छलफल सुरू भएको छ । ७६४ पृष्ठको रातो किताब सांसदहरूको हातमा पुगिसकेको छ ।

छलफलमा भाग लिँदै नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले बजेटमा असमानता र विभेदका खाडल प्रष्ट देखिएको टिप्पणी गरे ।
‘कर्णालीमा धेरै सडक महत्वपूर्ण छन् । ती सडक कहाँ गए थाहा छैन । सरकारलाई २५ नम्बरमा लेखिएको सडक मात्रै थाहा भएछ । अरु सडकका लागि बजेट खोज्दै हिँडनुपर्ने तर ती सडकका निम्ति बजेट घोषणै गरेर जाने तरिका जुन अवलम्बन गर्नुभयो त्यो हिसाबमा भन्ने हो भने बजेट सबै तरहले असन्तुलित नै छ ’, उनले भने ।

दुई-चार लाखका टुक्रे योजनाप्रति असन्तुष्टि जनाउँदै कंडेलले सभामुखसहितको सहमतिअनुसार मन्त्रालयगत छलफलमा सहभागी भएर आएमात्र आफूहरूले स्वीकार्ने उनले बताए ।

‘आफूखुसी हिँडने कुरा गर्नुभयो भने फेरि पनि कर्णाली प्रदेशको अनुदानस्वरूप आएको जुन रकम छ त्यसलाई दामासाही रूपले बाँड्ने विगतको जुन चलन छ त्यसैलाई निरन्तरता दिनु भयो भने खबरदारी जारी रहन्छ ।’

१५ लाखभन्दा साना योजना कार्यान्वयन नगर्ने सहमति यसअघि सरकार र प्रमुख प्रतिपक्षी दलबीच भएको थियो ।.

पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २४ वटै निर्वाचन क्षेत्रमा बजेट दिनुपर्ने भएपनि १९ वटा स्थानमा मात्रै पठाउने गरी ल्याइएको भन्दै कंडेलले विरोध जनाए ।

‘हामी कर्णालीमा विकास गर्ने होइन कि विकास खाने मानसिकताबाट मुक्त हुन सकेका छैनौं । यो प्रवृत्तिले सबै पार्टीलाई छोएको छ, त्यो प्रवृत्तिलाई अन्त्य गर्न आवश्यक छ । तपाईँ माननीयलाई बेकार भनिएछ योजना पर्दै परेन बरु दुई लाख तिरेको ठाउँको योजना आइ त सक्यो भन्ने अवस्था छ । आफ्ना जनप्रतिनिधिलाई भन्दा योजना नआउने, दुई लाख भुक्तानी गर्नासाथ योजना पर्ने परिस्थिति यस पटक पनि मुक्त भएन ’, उनको टिप्पणी ५ ।

सांसद नरेश भण्डारीले बजेटमा केही कुरा सकारात्मक आएपनि धेरै कुरा छुटेको टिप्पणी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर