विराटनगर महानगरपालिकाले साढे ३ अर्ब हाराहारीको बजेट ल्याउँदै – Nepal Press

विराटनगर महानगरपालिकाले साढे ३ अर्ब हाराहारीको बजेट ल्याउँदै

विराटनगर। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५० करोडको बजेट ल्याउने तयारी गरेको छ । महानगरले आज सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रममार्फत आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब कम हुनेछ ।

विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको आय व्यय प्रस्तुत गरेको थियो । उक्त बजेटको आकार संशोधन हुने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट पनि ३ अर्ब ५० करोडदेखि ३ अर्ब ६० करोड भित्रमा रहेर आउने महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बताए । ‘साढे ३ अर्बदेखि ३ अर्ब ६० करोडको बीचमा बजेट आउँदैछ,’ कोइरालाले भने ।

मेयर कोइरालाले बजेटमा ठूला योजना केही नसमेटिएको र भएका कार्याक्रमलाई निरन्तरता दिने उदेश्यले बजेट निर्माण गरिएको बताए ।

‘विराटनगरको बजेट घाटामा छ मेयर कोइरालाले भने, महानगरको स्रोत बलियो अवस्थामा छौन, त्यसलाई ध्यानमा राखेर बजेट आउँछ । अहिलेको बजेटमा ठूला योजना छैनन् । पहिले विराटनगरलाई नाफामा ल्याउने र मात्रै विकास निर्माणलाई तीब्रतामा लाने भनेर काम गर्दैछौं ।’

महानगरपालिका घाटामा गएको कारणले अप्ठ्यारो भएको भन्दै उनले घाटालाई पूर्ति गर्दै विकास निर्माणको काम अगाडि बढाउनु पर्दा समस्या भइरहेको बताए । ‘अर्को आउने आर्थिक वर्षमा हामी सबै दायित्वलाई पूरा गरेर तीब्र गतिमा अगाडि बढ्छौं भन्ने लागेको छ,’ उनले भने ।

निरन्तर घाटाको बजेट

आर्थिक वर्ष ०७४/०७५ मा ८४ करोड ६३ लाख १० हजारको बजेट ल्याएको विराटनगरले आर्थिक वर्ष ०७५/०७६ मा ४ अर्ब ७४ करोड ८५ लाख बजेट ल्याएको थियो ।

आर्थिक वर्ष ०७६/०७७ मा ४ अर्ब ४३ करोड ३४ लाख ४४ हजार बजेट ल्याएको महानगरपालिको यथार्थ आय भने त्यसको आधामा खुम्चियो । उक्त आर्थिक वर्षको ययार्थ आम्दानी २ अर्ब ४८ करोड २८ लाख मात्रै भएको थियो । यस्तै आर्थिक वर्ष ०७७/०७८ मा पनि ४ अर्ब ६ करोड ५५ लाखको बजेट ल्याएको थियो ।

यस्तै चालू आर्थिक वर्षका लागि महानगरपालिकाले ४ अर्ब ६० करोड ८१ लाखको बजेट ल्याएको थियो । आर्थिक वर्ष ०७८/०७९ को बजेटमा आगामी दुई आर्थिक वर्षको बजेटको आधार पनि अनुमान गरिएको थियो ।

उक्त बजेट अनुसार आगामी आर्थिक वर्ष ०७९/०८० का लागि ४ अर्ब ७७ करोड १७ लाख र आर्थिक वर्ष २०८०/०८१ का लागि ५ अर्ब १७ करोड हुने अनुमानित आय प्रस्तुत गरेको थियो । महानगरको उक्त अनुमान यस पटकको बजेट आउँदासम्ममा फेल हुने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर