राष्ट्र रक्षाको एमाले मिसन र प्रचण्ड ऐंठन – Nepal Press
विचार

राष्ट्र रक्षाको एमाले मिसन र प्रचण्ड ऐंठन

‘गलत दिशातिर भड्किरहेको मन खराब शत्रुभन्दा घातक हुन्छ ।’- गीता

गलत दिशातिर भड्किएको प्रचण्डको मुडको शिकार अनाहकमा नेपालले हुनुपरेको छ । विगत तीन दशकयता नेपालले भेग्नुपरेको सास्तीको गाँठो प्रचण्डले लिएको गलत दिशा र विपरीत बुद्धिनेर परेको छ । नेपालबाट भड्किएर भारत गुहार्ने र भारतबाट बिभिण्डिएर एमाले र कांग्रेस गुहार्ने, भारतलाई धम्काउन चिनियाँ कार्ड, चीनलाई चिडाउन भारतको महिमा गान प्रचण्ड अस्थिरताका झाँकीहरु हुन् । दुःखी आत्माले नेपालको थाप्लोमा बर्बादीमात्र थोपरेको छ । प्रचण्डको भड्किएको मन र यसले पारेको बिगार जान्न र भण्डाफोर गर्न प्रचण्ड सम्मेलनको आवश्यक छ ।

कि बिगार्छ आकाशको गड्कने कि बिगार्छ धरतीको भड्कने । आफ्नो बलबुत्तामा विश्वास नगर्ने, शक्ति प्राप्त गर्न विदेशी र विपार्टीको पाऊ मल्ने, धैर्यको सट्टा भड्काऊको भाषा बोल्ने गलत राजनीतिक कार्यशैलीले गर्दा नेपालको राजनीति धमिलिएको छ । संयोग नै भनौं वर्तमान सत्ता गठबन्धनका प्रायः सबै हस्तीहरुको उठान भड्कावलाई सोपान बनाएर भएको छ । शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, वामदेव गौतम सबै पार्टी फोरुवा परेका छन् । लोकतन्त्रलाई काँध थाप्न बलियो लोकतान्त्रिक दलको दरकार पर्छ । सत्तारुढ दलका प्रमुख हस्तीहरुले भने महत्वाकांक्षामा ठेस पुग्दा मातृ पार्टीलाई माकुरी माउझैं खाइसिध्याउने गरेका छन् ।

सत्ता गठबन्धनका हस्तीहरु राजनीतिलाई सन्तान दरसन्तान धनकुबेर बनाउने र आम जनताको खल्ती रित्याउने कारखाना बनाएका छन् । देशको अगुवाले गर्ने असल र खराब आचरण र कर्मको सिको युवा पुस्ताले गर्छ ।

सत्ता गठबन्धनका हस्तीहरु राजनीतिलाई सन्तान दरसन्तान धनकुबेर बनाउने र आम जनताको खल्ती रित्याउने कारखाना बनाएका छन् । देशको अगुवाले गर्ने असल र खराब आचरण र कर्मको सिको युवा पुस्ताले गर्छ । राष्ट्रिय आवाराको नक्कल गर्नबाट युवा पुस्तालाई बचाउने चुनौती थपिएको छ । देशमा स्वास्नी सिंगार्ने देश बिगार्नेको जमात बढ्नुको मूल कारण चुनावमा पार्टी फोरुवाहरु यथोचित मात्रामा जनताबाट दण्डित नहुनु हो । अझ भारतीय रुचिका मोहोरा बनेको भए पनि प्रचण्ड र उनको पार्टी लगातार सरकार टाक्सिने गरेको छ ।

एमाले र कांग्रेसले एकअर्कालाई ढाल्न भरुवा पेस्तोलका रुपमा प्रचण्डलाई उपयोग गर्दा राष्ट्रिय चेत र देशभक्ति तपसिलमा पर्ने खतरा बढेको छ । मतलब लुट्ने तर कुन घट्टमा कति बेला पिसिने हो थाह नपाउने घुनको चेतले देश बनाउन र बचाउन सकिँदैन । घुनमती र हीनमतीले उत्थान होइन पतनसम्म पुर्‍याउँछ । देशको निरन्तर उत्थान गर्नु छ भने हरेक नागरिकमा मौरीको जस्तै कर्म र कुर्बानी धर्मको चेतना हुनुपर्छ । राष्ट्रिय आवाराहरुको जमात नेपाल जस्तो कमजोर र संवेदनशील भूराजनीति भएका मुलुकका निम्ति मुटु नजिकै पुगेको छुरा जस्तै घातक हुन्छ ।

संविधानसभा र लेण्डुप दोर्जेलाई माध्यम बनाएर भारतले सिक्किम हड्पेको थियो । नेपालको संविधानसभा पनि नेपालकै विरुद्ध भारतले प्रयोग गरेको एक कपटपूर्ण किल्ला थियो । नेपाल नामेट पार्न एक खतरनाक मोहोराका रुपमा प्रचण्डको आविस्कार गरिएको थियो । नोयडामा रईसको जस्तो ठाँटबाँठले राखेर प्रचण्डको लालनपालन भारतीय संस्थापनले ठूलै घातक लक्ष्य लिएर विशेष हिसाबकिताबसहित गरेको थियो । भारतीय संस्थापनले प्रचण्डलाई रिसाए नि आफ्नै ठान्छ, खुशी हँुदा नि आफ्नै भन्छ । किनभने मिसन अस्तव्यस्तको गाडा तान्ने यतिको बलियो घोडा अर्काे भेटिन असम्भव छ ।

नोयडामा रईसको जस्तो ठाँटबाँठले राखेर प्रचण्डको लालनपालन भारतीय संस्थापनले ठूलै घातक लक्ष्य लिएर विशेष हिसाबकिताबसहित गरेको थियो । भारतीय संस्थापनले प्रचण्डलाई रिसाए नि आफ्नै ठान्छ, खुशी हुँदा नि आफ्नै भन्छ । किनभने मिसन अस्तव्यस्तको गाडा तान्ने यतिको बलियो घोडा अर्काे भेटिन असम्भव छ ।

लेनिनको भनाइमा इतिहासमा घटनाहरु हुबहु दोहोरिँदैनन् बरु एकपटक दुःखान्त नाटकको रुपमा अर्काे पटक त्यसको भद्दा कार्टुनको रुपमा दोहोरिन्छन् । सकभर नेपाल हडप्ने, त्यो नभए विखण्डन गर्ने र त्यो पनि नभए अस्तव्यस्त पार्ने भारतीय मिसन पूरा भएन । भारतीय लगानी डुब्यो । अन्यथा नेपालको संविधान बन्दा र घोषणा हुँदा भारतको टाउको दुख्नुपर्ने र विशेष दूत नेपाल आइहाल्नुपर्ने जरुरत थिएन । नेपालका ग्रहदशा बलिया रहेछन् । भाग्यले साथ दियो । अविछिन्न अस्तित्वको अखण्ड ज्योति निभेन । नेपाली जनताको चेतना र देशभक्तिका सामु साजिसको सीप चलेन । एक ठूलो खट्कोबाट नेपाल जोगियो ।

षडयन्त्रपूर्वक गरिएको काम अनिष्टकारी हुन्छ । चोरहरु चोर्ने बेला एकमत हुन्छन् । तर, भागबन्डाको बेला झगडा गर्छन् । संयोगवश सेनापति काण्डमा आएर भारत र प्रचण्डबीच दोहोरो शंका पैदा भयो । सत्ताकब्जा गरिसकेपछि भारतभक्ति जारी राख्ने प्रचण्डको उधारो आश्वासनमा भारतीय संस्थापन ढुक्क हुन सकेन । चाइना कार्ड प्रचण्डको देखाउने दाँतमात्र हो भन्ने जान्दाजान्दै पनि भारतीय संस्थापनले नेपालको लोकतन्त्रलाई साथ दिएको नाटक गरेर कांग्रेसलाई पनि काखी च्याप्न थाल्यो ।

अविवेकीको पतन अनेक प्रकारले हुन्छ । चाइना कार्ड प्रयोग गरी ब्ल्याकमेलको भाषा बोलिरहेका प्रचण्ड सेनापति काण्डमा गएर बजारिन र थचारिन पुगे । जुन काण्डले गर्दा प्रचण्डलाई फेरि उठ्नै नसक्ने गरी धराशायी पा¥यो । तत्कालीन सेनापति रुक्मांगद कटवाल लोभी र डरपोक नहुनुको मार र भार थेग्ने औकात प्रचण्डमा देखिएन । रिस, असहिष्णुता, कपट र कृतघ्नताको गोदाम भएर पनि प्रचण्डमा त्याग, दया, धैर्य, सौर्य, साहस र कुर्बानीको अभाव हुनुको एकमुष्ट झटारोले प्रचण्डको शेखी र महत्वाकांक्षालाई भूईको बास गरायो । प्रधानमन्त्रीबाट प्रचण्डको पदच्यूतीको स्वरुप यस्तो निर्मम भयो कि जो प्रधानमन्त्रीको सामान्य खालको फेरबदली जस्तो थिएन । यसरी नेपालको सौभाग्यले गर्दा भारतको मिसन संविधानसभा र लेण्डुप दोर्जे दोस्रोको मिसन नेपालमा विफल हुने आधार खडा भयो ।

जननेता मदन भण्डारी भन्नुहुन्थ्यो, ‘राजनीति ढाँटठगको विषय होइन, खुला र स्पष्ट हुनुपर्छ ।’ लिम्पियाधुरा समेटिएको नक्सा छापिएपछि नेपालमा देशभक्तिको खुला र स्पष्ट राजनीति एकातिर छ भने अर्काेतिर राष्ट्र रक्षा र देशभक्तिलाई विषयान्तर गर्ने कठपुतलीका रुपमा देउवा, प्रचण्ड र माधवहरुले मात्र नपुगेर स्वतन्त्रको बिल्लाधारी लघुप्रचण्डहरुको बिस्कुन लगाइएको छ । उर्लिएको ओली लहरलाई रोक्न घेराबन्दी, विभाजन र स्वतन्त्रहरुको त्रिआमिक चक्रब्यूह रचिएको छ ।

भारतीय हैकम, हस्तक्षेप र नेपालभित्र छरिएका दलाल र प्रयोग गरिएका कठपुतलीहरुको घेरा तोड्ने रामबाण भनेकै सचेत र देशभक्त जनमत हो ।

नेपालको जीवनरथ नेपाली जनताको सर्वाेच्चता, बलबुत्ता र रोजाइको लिकमा उभ्याएर गुड्नुपर्छ भन्ने मदन मिसन र भारतीय रुचिबीच विगत तीन दशकदेखि पेचिलो द्वन्द्व छ । भारतीय हैकम, हस्तक्षेप र नेपालभित्र छरिएका दलाल र प्रयोग गरिएका कठपुतलीहरुको घेरा तोड्ने रामबाण भनेकै सचेत र देशभक्त जनमत हो । नेपालमा नेपाली जनताको शान, स्वाभीमान र सर्वाेच्चता स्थापित गर्नमै जननेता मदन भण्डारीको सिंगो जीवन खपत भएको छ । वास्तवमा भन्ने हो भने मदनको यही ह्याउ, हुती, मती, गति र सरस्वती नै आधुनिक नेपालको जीवनरस हो । इमानदारी नै उत्तम नीति हो ।

संविधानसभाको माग र प्रचण्डको आविस्कार गरिएकै बेला नेपाली जनताको साथमा नियत बांगो नभएका नेपाल आमाका सपूतहरुको बाहुल्य र दबदबा रहेको राजनीतिक दलका रुपमा नेकपा एमाले मौजुदी रह्यो । जननेता मदन भण्डारीबाट प्रेरित एमालेको युवा पुस्ताले एकातिर कांग्रेस र माओवादीलाई भारतीय रुचिको गाडामा गोरु भएर नारिन दिएन भने अर्काेतिर माधव, झलनाथ र वामदेवहरुबाटको घेराबन्दीको सामना गरिरहेका ओलीको पल्ला भारी पार्दै आन्तरिक शक्ति ऐंठन झेलिरहेको एमालेको पोल्टामा पुनरोदय र स्वाभाविक लयको सौभाग्य थमाउन सक्यो ।

राष्ट्र रक्षा र देशभक्ति एक जटिल साधना हो । जनता नजुटाएर, फुटेका मनहरु नसिलाएर, दिल, दिमाग, दृष्टिकोण, दम, द्रव्य र दलबलको जोहो नगरेर साँचो लोकतन्त्र र स्वाभीमान रक्षाको महायज्ञ सम्भव हुँदैन । नेपाल र नेपालीको अविछिन्न अस्तित्वको लागि शस्त्रबल र शास्त्रबलको जोहो गर्न सक्ने एक लोकतान्त्रिक, देशभक्त र प्रगतिशील राजनीतिक दल इतिहासको माग थियो । मदन हत्या, मनमोहनको अवशान र माधव, झलनाथ र वामदेवहरुबाटको शक्ति ऐंठन र गद्दारीका तगारा तोड्दै ओलीको उदय, ओली लहर र अझ भन्ने हो भने ओली युगसम्मको एमालेको युगान्तकारी छलाङले इतिहासको माग पूर्ति गरेको छ । नेपालको जनमतको प्रमुख ब्राण्ड नै ओली लहर हो । पार्टी फुटेको वर्ष ६ लाख जनमत थप्ने राजनीतिक कीर्तिमान ओली नेतृत्वको एमालेको नाममा छ ।

नेपाल हडप्ने भारतीय इच्छा शस्त्र बल र शास्त्र बलका मुहान नेपाली जनताको सराहनीय चेतना, हिम्मत, देशभक्ति र जुझारु चरित्रले गर्दा अधूरै रहेको छ । दुई वटा संविधानसभाबाट एक थान संविधान दिन नसक्ने देश भनेर नेपाललाई असफल राष्ट्र बनाउन भारत जमेरै लागेको थियो ।

२०७४ सालको चुनावमा एमालेले ३२ लाख मत पाएको थियो । अहिले एमालेले ३८ लाख, समाजवादीले चार लाख र कांग्रेस र माओवादीमा गएको समाजवादीको पाँच लाख जोड्ने हो भने करिब ५० लाख हाराहारी पुग्छ । ओलीको तीन वर्षे शासनकालमा १८ लाख मत बढेछ । ओलीले जनमत बढाएको जलन र ईष्र्याले प्रचण्ड र माधवले ओलीविरुद्ध १९ बुँदे आरोपपत्र लेखेर नेकपा विभाजित गरेको प्रस्ट भयो । ओली लहरको उछाल देशको चुनौतीको सापेक्षतामा पर्याप्त छैन । मत वृद्धिको यो छलाङ संघ र प्रदेशको चुनावमा नदोहोरिने हो भने नेपालको अस्तित्वको दिन गन्ती सुरु हुने निश्चित छ ।

शान्ति प्रक्रियाले माओवादी लडाकु र हतियारको व्यवस्थापन गर्‍यो । तर, प्रचण्ड र वाईसीएल छाडा साँढेलाई झैं छोडिदियो । युथफोर्स परिचालनदेखि चुनावी गठबन्धनसम्म मिल्न खोजे नौनीको डल्लो र चिल्न खोजे बिच्छीको चल्लो हुने पौरख र औकातको बलमा एमालेले वाईसीएल र प्रचण्डलाई नियन्त्रणमा ल्याएर व्यवस्थापन गर्‍यो । प्रचण्डको अधिनायकवादी सपना ध्वस्त पार्ने एमाले हो । जनताको सर्वाेच्चता र संसद प्रचण्डका रुचि, निष्ठा र मर्यादाका विषय होइनन् । सत्तामा रहेर होस् वा विपक्षी भूमिकामा रहेर नेपालमा शासन एमालेले नै गरेकोमा मोदी र प्रचण्ड आजित छन् । शस्त्र बल र शास्त्र दुवैको संयोजन गरेर एमालेले माओवादी र भारतीय संस्थापनको षड्यन्त्रलाई हात्तीले माकुरे जाल च्यातेझैं विफल पारेको छ ।

नेपाल हडप्ने भारतीय इच्छा शस्त्र बल र शास्त्र बलका मुहान नेपाली जनताको सराहनीय चेतना, हिम्मत, देशभक्ति र जुझारु चरित्रले गर्दा अधूरै रहेको छ । दुई वटा संविधानसभाबाट एक थान संविधान दिन नसक्ने देश भनेर नेपाललाई असफल राष्ट्र बनाउन भारत जमेरै लागेको थियो । नेपालको घरेलु द्वन्द्व, महाभूकम्प र नाकाबन्दीको त्रिआयामिक महासंकट अकारण थोपरिएको थियो । शिशु अवस्थामै नेपालको संविधानको हत्या गर्ने प्रयास भयो । सिक्किम मोडेल र मिसन अस्थिरता भारतको नेपाल नीतिका दुई खम्बा हुन् । नेपाल सिंगापुर बन्यो भने भारतीय शासक वर्गमाथि भारतका मेहनतकस जनताको दबाब बढ्नेछ । नेपाल समृद्ध र नेपाली सुखी बनेमा केही करोड जनसंख्याको राइँदाइँमै सीमित भारतीय शासक वर्ग जनताको वितृष्णाको शिकार बन्नेछ । यसैले हडपनीति, सीमा अतिक्रमण र अस्थिरता मिसनको माध्यमबाट नेपाल र नेपालीको लय र गति रोक्नु भारतको नेपाल नीतिका नियमित आकस्मिकता हो । सिक्किम मोडेल र मिसन अस्थिरता दुवै नीतिमा भारतको लागि गोटी बनेकाले प्रचण्डको पतन नेपाल र नेपालीको अस्तित्व, उदय र उत्कर्षको निरन्तरताका लागि अनिवार्य शर्त थियो ।

नेपालमा निरन्तरको अस्थिरता मिसनमा प्रचण्डलाई सबैभन्दा बढी उपयोग गरिएको छ । आफ्नो देशको राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रधानसेनापतिविरुद्ध हात धोएर लागेको एकमात्र नेताको विश्व रेकर्ड प्रचण्डकै नाममा छ । मौका आयो भने जो–कसैको पनि विरुद्धमा उत्रिहाल्नु प्रचण्डको बानी हो । युद्ध र प्रेममा जे पनि सम्भव हुन्छ भन्दै मर्यादाको उल्लंघनमा अभ्यस्त हुनमा प्रचण्डलाई लाजघीन लाग्दैन, बरु आनन्द आउँछ ।

सिक्किम मोडेल र मिसन अस्थिरता दुवै नीतिमा भारतको लागि गोटी बनेकाले प्रचण्डको पतन नेपाल र नेपालीको अस्तित्व, उदय र उत्कर्षको निरन्तरताका लागि अनिवार्य शर्त थियो ।

निष्ठा, देशभक्ति, सिद्धान्त, जनादेश बेचबिखनका विषय होइनन् । प्रचण्डलाई यी सबैको सौदागर बन्न संकोचले छुँदैन । देशभित्र कसैलाई मनपेट नदिनु तर भारतमा गएर देश र पार्टीका आन्द्राभुँडी छताछुल्ल पार्नुलाई प्रचण्डले आफ्नो व्यक्तिको पहिचान र उचाइको मापन ठानेको देखिन्छ । अस्थिरता मिसनको गोटी बन्नलाई चाहिने आधारभूत गुण यही हो । नेकपाको बलियो सरकारविरुद्ध भारतमै गएर फायर खोलिएको थियो । आलोपालो सरकार प्रचण्डको महत्वाकांक्षा र भारतीय आकांक्षाको खिचडी गेमप्लान थियो । अन्तत्वगत्वा आलोपालोको प्रचण्ड ध्येय झन् पर धकेलिएको मात्र छैन । बरु प्रचण्ड कहिल्यै सिंहदरबार नपस्ने आधार खडा भएको छ । मिसन अस्थिरताले भारतीय स्वार्थलाई नगदानगदीको लाभ मिलेको छ । निरन्तरको अस्थिरताको भनेजस्तै खोजेजस्तै गोटी भेटिए पनि प्रचण्डको उद्धार गर्न भारत असमर्थ देखिन्छ । किनकि आफू र प्रचण्डप्रति नेपाली जनताले पालेको कोप भारतीय संस्थापनलाई राम्रैसँग थाह छ ।

चरो अरुको पासामा पर्छ । तर, मान्छे आफ्नै फन्दामा फस्छ । राजनीतिमा ल्याउने जीवन गुरुमाथिको कपट, अग्रज नेतालाई धोका, प्रमुख सहायकविरुद्ध कपट, पार्टीभित्र अर्काे विकल्प र उत्तराधिकारीको नसबन्दी उत्कर्षकालका प्रचण्डको चिनारुहरु थिए । यी सबै संग्रहित पापकर्महरु प्रचण्डलाई जीवनको उत्तरार्द्धमा भारी पर्दैछन् । आफ्नासँगको छलकपट र एमाले जस्तो देशभक्त शक्तिसँगको दुश्मनीले प्रचण्डलाई भीरको डिलमा पुर्‍याएको छ । प्रचण्डको उद्धार गर्ने र पतनमा नुनिला आँसु चुहाइदिने कोही छैन । चौम स्कुलिङ, एमाले, कांग्रेस सबैलाई प्रचण्डले उत्कर्षकालमा चिढाएका छन् र अपमान गरेका छन् । कान्छी श्रीमती दुर्गा पौडेललाई मन्त्री बनाउने लोभले मुखमा रामराम गरे पनि प्रचण्डका जीवन गुरु मोहनविक्रम सिंहले मौका आउँदा छुरा चलाउने नै छन् । मोहन वैद्य र डा. बाबुराम भट्टराईले दागा धरेकै छन् ।

ओलीको रिसले उठनबसन गरे पनि प्रधानमन्त्री हुँदा सताएको र विषवृक्षको उपमा दिएको तुष आग्रहका प्रतिमूर्ति माधवले बिर्सेका छैनन् । गिरिजाप्रसाद कोइरालाको गोदमा बसेर छुरी धसेको र सुशील कोइरालालाई लिएको बदला कोइराला कांग्रेसले भुलेको छैन । ऐन मौका आफुलाई दरबारियाको बिल्ला लगाइदिएको रिस देउबामा जीवितै छ । जनमत गुमाउँदै गएका प्रचण्ड चोभारमा बगेको खण्डमा सुन्दरीजलमा खोज्न जानेको मात्रा बाक्लो छ र लर्काे लामो छ ।

पकड पौरखीको हातमा पर्न रुचाउँछ । आसेहरुको भागमा रहलपहल पर्ने गर्छ । सिंहले आफ्नो बलबुत्ताले शिकार गर्छ । घाइते हुँडारले खुरपुच्छरमा चित्त बुझाउनुपर्ने हुन्छ । भात खानु र भाते लाग्नु एकै होइन । आशावादी हुनु र बलबुत्ताविना लालशा पाल्नु भिन्न–भिन्न कुरा हुन् । आलोपालो प्रधानमन्त्रीको लालचको डोरी प्रचण्डले बाट्न छोडेका छैनन् । औकात, हैसियत, जनमत र सहायक खुम्चिएको हेक्का नराखी चामल र कनिका बराबर देख्ने जिद्दीलाई ओलीले जसरी नै कांग्रेसले पनि स्वीकार गर्नेछैन ।

आजको कांग्रेसमा अटल कांग्रेस छत्तीसे र तान्त्रिक कांग्रेसबाट शासित छन् । देउवा र दाहाललाई पालैपालो बोक्न सक्कली कांग्रेस तयार हुनेछैन । ओली सरकार ढाल्ने प्रचण्ड, माधव, झलनाथ र वामदेवहरुका आदर्श र प्रेरणा स्रोत छत्तीसे हुन् । देउवा छत्तीसेका संरक्षक र सञ्चालक थिए ।

नेपालको संस्थापनको रिसले भारतको सेवा, सुशील कोइरालाप्रतिको तुष साध्न ओलीलाई प्रधानमन्त्री, ओली र ओली लहरप्रतिको जलनले देउवालाई प्रधानमन्त्री बनाउने प्रचण्डको बदलाको राजनीति सबैले थाह पाइसकेका छन् । प्रचण्डसँग न उत्कृष्ट शक्ति न दिलको उत्कृष्ट भाष्य नै । बदलाको सट्टामा कांग्रेसले दिल दिनेछैन । टिनको खानीमा चाँदीको आशा गर्न सकिँदैन ।

आजको कांग्रेसको ठूलो हिस्सा बीपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद स्कुलिङको नभई कांग्रेस र पञ्चायतको संसर्गबाट जन्मेको खच्चड परेको छ । उठेको कांग्रेस छत्तीसेको बेर्ना हो । छत्तीसे शब्द नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा बदनाम शब्द हो । छत्तीसेको अर्थ हुन्छ– आफ्नो सरकार आफै ढाल्ने तीन दर्जन गद्दारहरु । आजको कांग्रेसमा अटल कांग्रेस छत्तीसे र तान्त्रिक कांग्रेसबाट शासित छन् । देउवा र दाहाललाई पालैपालो बोक्न सक्कली कांग्रेस तयार हुनेछैन । ओली सरकार ढाल्ने प्रचण्ड, माधव, झलनाथ र वामदेवहरुका आदर्श र प्रेरणा स्रोत छत्तीसे हुन् । देउवा छत्तीसेका संरक्षक र सञ्चालक थिए । दलबदलुहरुको गठजोड र साजिसलाई अटल कांग्रेसले बारम्बार अन्देखा गर्ने र काँध थाप्ने देखिँदैन ।

टुपीभन्दा माथि ठाउँ छैन । सबै भड्काव र फण्डाहरुले काम नलागेपछि प्रचण्ड र माधवहरुले आत्मसमीक्षा गर्नैपर्ने भएको छ । नेपाल र एमालेलाई गरेको पापको प्रायःश्चितबाट भागेर प्रचण्डहरुले सुख पाउने छैनन् । स्वबोध हराएर शत्रु शिविरमा पुगेकाहरुको प्रत्यागमनदेखि यथोचित दण्डसम्मका हरेक सम्भावनाको ढोका ढकढक गर्ने र सबै विकल्पमा खुला हुने दायित्वबाट एमाले पनि भाग्नु हुँदैन । महात्मा गान्धीको भनाइ छ, ‘मूर्खलाई प्रेमले जित ।’ दया र दण्ड नीतिको सन्तुलन नै नेकपा एमालेको राजनीतिक श्रेष्ठताको आधार हो । दिलको गलैंचा ओछ्याएर संघ र प्रदेशको चुनावमा तालमेल गर्नेदेखि सत्ता गठबन्धनलाई जनदण्डको भागीदार बनाइछाड्ने आँट र औकात देखाउन काबिल भएर एमालेले आफ्नो गौरवको रक्षा गर्न सक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.