रवि लामिछाने राजनीतिमा आउँदा पारिवारिक हलचल, पुनम पौडेलले पनि मुख खोलिन् – Nepal Press

रवि लामिछाने राजनीतिमा आउँदा पारिवारिक हलचल, पुनम पौडेलले पनि मुख खोलिन्

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने उच्च महत्वाकांक्षा र उत्साहका साथ राजनीतिमा हाम्फालेका छन् । उनलाई देशभरका समर्थक र शुभेच्छुकहरुको साथ छ । तर, आफ्नै परिवारभित्र भने रविको यो कदम विवादित बनिरहेको छ ।

खासगरि रविका दाजु हरिशरण लामिछाने, जो आफैंमा एक अनुभवि सञ्चारकर्मी हुन् र प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्, ले भाइको निर्णयप्रति सार्वजनिकरूपमै असन्तुष्टि र आलोचना गर्दै आएका छन् । रविले हतारमा राजनीतिमा आउने निर्णय गरेको र अपरिपक्व शैली देखाएको उनको टिप्पणी छ । हिजो रविको पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने स्वतन्त्र समूहमा उनी पनि संलग्न छन् ।

हरिशरणले दुई साताअघि संसदीय चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए । तर, निर्वाचन क्षेत्रको निधो गरेका थिएनन् । एक साताअघि उनले आफू काठमाडौं ३ बाट उम्मेदवार बन्ने बताए । आफूले चुनाव लड्ने घोषणा गरिसकेपछि भाइले पनि टिभीबाट राजीनामा दिएर राजनीतिमा आएकोमा दाइ हरिशरणको चित्तदुखाइ छ । उनी दिनदिनै सामाजिक सञ्जाल र युट्यूव च्यानलमा अन्तरवार्ता दिएर रविप्रति आक्रोश पोखिरहेका छन् । रविले भने कुनै सार्वजनिक टिप्पणी गरेका छैनन् ।

यसैबीच, हरिशरणकी पत्नी तथा रविकी भाउजु पुनम पौडेलले पनि दाजुभाइको अन्तरसंघर्षमा मुख खोलेकी छन् । परिचित टेलिभिजनकर्मीसमेत रहेकी पुनमले पनि हरिशरणकै लवजमा रविले राजनीतिमा आउने निर्णय हतारमा लिएको बताइन् । एक युट्यूव च्यानललाई दिएको अन्तरवार्तामा उनले दाइसँग कुनै पनि सरसल्लाह नगरिकन यति ठूलो कदम चालेको भन्दै दुखेसो गरेकी छन् ।

‘उहाँले यसपटक दाइलाई सघाएर पाँच वर्षपछिको चुनावका लागि तयारी गरेको भए राम्रो हुन्थ्यो,’ पुनमले भनेकी छन्, ‘दाइले उम्मेदवारी घोषणा गरिसकेपछि भाइले पनि राजनीतिमा आउने घोषणा गर्दा राम्रो सन्देश गएन ।’

उनले आफ्नो श्रीमान हरिशरणले अहिले अपर्झट चुनाव लड्ने निर्णय नलिएको बताइन् । पुनमको भनाइमा धेरै अघिदेखि हरिशरणले राजनीतिमा लाग्ने योजना बनाएका थिए ।

‘उहाँ अहिले स्वतन्त्रको लहर चलेको देखेर एकाएक चुनावमा होमिनुभएको होइन, पहिल्यैदेखि मेरो अन्तिम लक्ष्य राजनीति नै हो भन्नुहुन्थ्यो । उचित समय पर्खिरहनुभएको थियो । उहाँका लागि अहिले ठीक समय पनि हो,’ पुनमले भनिन् ।

रविले भने भर्खरभर्खर टेलिभिजन अगाडि बढाएकाले त्यसलाई नै स्थापित गर्नतिर लागेको भए राम्रो हुने पुनमको सुझाव छ ।

उनले भनिन्, ‘उहाँले टिभी खाेल्दा धेरै किसिमका प्रतिवद्धताहरु गर्नुभएकाे थियाे । ती प्रतिवद्धताहरु पूरा गर्न पनि केही समय यही प्रोफेसनलाई निरन्तरता दिएको भए हुन्थ्यो । उहाँसँग राजनीति गर्न जति पनि समय छ । पाँच वर्ष मज्जाले होमवर्क गरेर अर्को चुनाव लड्नुभएको भए आज यो जगहँसाइ हुने थिएन । योपाली आफ्नो पपुलारिटी दाइलाई चुनाव जिताउनका निम्ति उपयोग गरेको भए हुन्थ्यो ।’

पुनम थप्छिन्, ‘सबैभन्दा ठूलो कुरा त आफ्नै परिवारभित्र सल्लाह गर्नुभएन । मैले यस्तो गर्न लागेँ है भनेर दाजुलाई भन्नुभएन । दाइ आफैंले चासो राखेर सोध्दा पनि प्रष्ट कुरा गर्नुभएन रे ।’

रविसँग व्यक्तिगतरुपमा आफ्नो कुनै पनि मनमुटाव नरहेको पुनमले प्रष्ट पारेकी छन् ।

‘उहाँ यति पपुलर हुनुहुन्छ । म उहाँको कामलाई एकदम मन पराउँछु । देवर भाउजुको रुपमा हाम्रो सम्वन्ध राम्रो छ । मेरो त भाइजस्तै हो,’ पुनमले भनिन् ।

उनले रविलाई दाइले घोषणा गरेको क्षेत्रमा सकभर उम्मेदवारी नदिन सुझाव दिइन् ।

‘उहाँ यति पपुलर हुनुहुन्छ, बरु केपी ओली, प्रचण्ड वा शेरबहादुर देउवाको क्षेत्रमा लड्नु राम्रो हुन्छ । जहाँ दाइले उम्मेदवारी घोषणा गरिसक्नुभयो, त्यहाँ भाइ पनि लड्न आउँदा दुनियाले के भन्छ ?’ उने प्रश्न गरिन् ।

यदि एउटै चुनाव क्षेत्रमा दाजुभाइ भिड्नुपर्ने अवस्था आएको खण्डमा चाहिँ हरिशरण ब्याक हुन सक्ने संकेत पुनमले गरिन् ।
‘त्यस्तो अवस्थामा दाइले नै फराकिलो छाति देखाउनुपर्ने हुन्छ,’ उनले भनिन् ।

कान्तिपुर टेलिभिजनमा समाचारवाचन गरेर परिचित बनेकी पुनम पछिल्लो केही समय गुमनाम थिइन् । स्थापनाकालदेखि करिब १५ वर्ष कान्तिपुरमा काम गरेकी उनी २०१७को अक्टोबरमा राजीनामा दिएर अमेरिका उडिन् । २ वर्ष अमेरिकामा बिताएर उनी २०१९ मा नेपाल फर्किएकी हुन् । अहिले उनी अर्थन्यूज टिभीमा आवद्ध छिन् ।रविकी श्रीमती निकिता पाैडेल र पुनम नाताले दिदीबहिनी पर्छन् ।

आफू स्वयम् पनि गत स्थानीय चुनावमा ललितपुरबाट मेयरमा उठ्ने सोच बनाएको तर निर्णय लिन नसकेको पुनमले बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर