डिआइजी बढुवा : एकै लटमा दुई आइजीको टुंगो ! – Nepal Press

डिआइजी बढुवा : एकै लटमा दुई आइजीको टुंगो !

काठमाडौं । नेपाल प्रहरीले अबको ९ महिनापछि हुने आइजीपीसँगै त्यसपछिको साढे पाँच महिने आइजीपी पनि टुंगो लगाउँदै बढुवा सिफारिस सूची प्रकाशित गरेको छ ।एसपीबाट एसएसपी बढुवामा आफ्ना सम्पूर्ण व्याचीलाई उछिन्दै एक नम्बरमा पुगेका सन्दिप भण्डारीलाई बसन्तबहादुर कुँवरले डिआइजी बढुवामा उछिनेर पहिलो नम्बर कायम गरेका छन् । यस आधारमा उनलाई भावी आइजीका रुपमा हेर्न थालिएको छ ।
एसएसपीमा बढुवा हुँदा एक नम्बरमा रहेका सन्दिप डिआइजी बढुवा हुँदा ६ मा पुगेका छन् । कुँवर र भण्डारी एउटै भर्ना मितिका अधिकृत हुन् । उनीहरु २०५१ चैत ५ गते इन्स्पेक्टरमा भर्ना भएका थिए । त्यही भर्ना मितिका टेकप्रसाद राई दोस्रो नम्बरमा रहेर डीआईजीका लागि सिफारिस भएका छन्। यसअघि एसपीबाट एसएसपीमा पनि उनी दोस्रो नम्बरमा थिए। अशोक सिंह तेस्रो नम्बरमा बढुवा सिफारिस भएका छन् ।

सिंह २०५२ भदौ १९ मा इन्स्पेक्टरमा नियुक्त टोलीबाट दीपक थापा अगाडि आएका छन् । उक्त भर्ना मितिका सुदिप गिरी आठौं, टेकबहादुर तामाङ दशौं, भीमप्रसाद ढकाल बाह्रौं नम्बरमा बढुवा सिफारिस भएका छन् । थापा ०७५ फागुन ७ मा एसएसपी बढुवा हुँदादेखि आफ्नो टोलीबाट अगाडि आएका हुन् । अब वरियता नमिचिएको अवस्थामा ०५१ चैत ५ मा भर्ना भएको टोलीबाट एकजनाले ०८१ चैत ५ गतेसम्म आइजीपीका रुपमा संगठन चलाएपछि ०८२ भदौ १९ सम्म आइजीपी चलाउने चार दावेदार तयार भएका छन् । त्यसमध्ये डिआइजी बढुवामा दीपक थापाले अग्रता लिएका हुन् ।
नेपाल प्रहरीमा एआइजीबाट आइजीपी बनाउनका लागि वरिष्ठतालाई आधार मानिँदैन । तर, डिआइजीबाट आइजीपी बनाउन भने डिआइजी बढुवाको वरिष्ठतालाई आधार मानिन्छ । त्यसअनुसार, अब ९ महिनापछि आइजीपी हुनुपर्ने ०५१ को टोली डिआइजीबाट सीधै आइजी हुँदैछ । तर, उक्त टोलीले संगठनको नेतृत्व गरिरहँदा पछिल्लो टोलीबाट एआइजीको एकमात्र सीट अहिलेकै बढुवाले ओगट्ने संकेत दिएको छ ।

अहिले बढुवा भएका १७ डिआइजीमध्ये १३ जना ०५१ सालको टोली छ । उक्त टोलीको बीचमा, अर्थात् चौथो नम्बरमा ०५२ का दीपक थापा छिरेका छन् । उक्त टोलीबाट एकजना आइजीपी भएपछि एआइजी हुने पाँचमध्ये दीपक थापा तेस्रो एआइजी हुने सम्भावना छ । यदि त्यस्तो भयो भने उनी ०८१ चैतमा निर्विकल्प आइजीपी हुने छन् । तर, एआइजी बढुवामा उनलाई उछिनेर गिरी, तामाङ र ढकालहरु अगाडि गए भने जो अगाडि हुन्छन्, उनै आइजी बन्ने सम्भावना रहन्छ ।
अहिले बढुवा सिफारिसमा पर्ने डिआइजीमध्ये सबैभन्दा माग्यमानी हुन्, अशोक सिंह । उनी इन्स्पेक्टरबाट डिएसपी बढुवा हुँदादेखि नै व्याचबाट पछाडि पारिएका थिए । उनको व्याचको पहिलो टोली ०६३ भदौ ८ मा डिएसपी बढुवा भएको थियो भने सिंहसहितको टोली भने ०६४ साउन १ मा डिएसपी भएको हो । एसपी हुँदा उक्त व्याचबाट पहिलो लटमा ०७१ फागुन १० को बढुवामा सिंह थिएनन् । उनी ०७२ फागुन १९ मा एसपी भएका हुन् । एसएसपी बढुवामा पनि उनी दोस्रो लटका थिए । तर, डिआइजी बढुवामा पहिलो लटमात्रै हैन, उस्तै परे आइजीपी हुने वरियता कायम गरेका छन् ।
एसपीबाट एसएसपी बढुवामा दोस्रो लटमा परेका दुर्गा सिंह र किरण राणाले डिआइजी बढुवामा न्याय पाएका छन् ।
छुट्नेमा थुप्रै
दुई भर्ना मिति र बढुवा समूहका थुप्रै अधिकृतहरु डिआइजी बढुवामा बञ्चित भएका छन् । ०७५ फागुन ७ मा एसएसपी बढुवा हुने टोलीका सबैले डिआइजी हुने मौका पाए । एसएसपी बढुवाको दोस्रो सूचीका अशोक सिंह, किरण राणा, दुर्गा सिंह र सुदिप गिरी डिआइजी बढुवामा परेका छन् ।

तर, त्यही टोलीका थुप्रै अधिकृतहरु अझै एसएसपीमै थन्किएका छन् । बढुवामा छुट्ने ०५१ का इन्स्पेक्टरहरु भरतबहादुर बोहरा, रबिन्द्र केसी, कुबेर कडायत, केदार ढकाल, बिष्णुकुमार केसी, जनक भट्टराई, विकासराज खनाल, अर्जुन चन्द ठकुरी, भोलाबहादुर रावल, ध्रुवराज राउतसहितका छन् ।

०५२ मा नियुक्ति पाएका इन्स्पेक्टरमध्ये राजेशनाथ बास्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, अनुरागकुमार द्विवेदी, चन्द्रकुबेर खापुङ्ग, मधुसुधन लुईटेल, डिल्लीराज पन्त, मोहनप्रसाद पोखरेलसहितका छन् ।

बढुवा सिफारिस भएका १७ जना एसएसपीहरुको भर्ना मिती र जन्म मिती-

भर्ना मिति – २०५१/१२/०५

१. बसन्तबहादुर कुँवर, जन्म मिति– २०२६ /१२/१५
२. टेकप्रसाद राई, जन्म मिति– २०२७/०५/२२
३. अशोक सिंह, जन्म मिति– २०२५ /०९/ १६
५. श्यामलाल ज्ञवाली, जन्म मिति– २०२५ /०५/ २६
६. किरण बज्राचार्य, जन्म मिति– २०२५ /१०/१६
७. सन्दिप भण्डारी, जन्म मिति– २०२५ /०१/०५
९. मीरा चौधरी थारु, जन्म मिति– २०२५/०१/०७
११. उमेशराज जोशी, जन्म मिति– २०२५/ ०३/ १९
१३. रामदत्त जोशी, जन्म मिति– २०२५ /०७/ १८
१४. पोषराज पोखरेल, जन्म मिति– २०२५ /०३/ २१
१५. बुद्धिराज गुरुङ, जन्म मिति– २०२६ /०७/ ३०
१६. दुर्गा सिंह, जन्म मिति– २०२७/०६/ १०
१७. किरण राणा, जन्म मिति– २०२५ /०७/ १६

भर्ना मिति- २०५२ /०५/ १९ 
४. दिपक थापा, जन्म मिति– २०२८ /०८/ ८
८. सुदिप गिरी, जन्म मिति– २०२७ /०१/ १९
१०. टेकबहादुर तामाङ, जन्म मिति– २०२७/०५/ २९
१२. भीमप्रसाद ढकाल, जन्म मिति– २०२५ /०८/ २८

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *