स्वतन्त्रहरूबारे ओलीको टिप्पणी- राम्रो गर्छु भनेर आउनेलाई रोक्नु हुन्न – Nepal Press

स्वतन्त्रहरूबारे ओलीको टिप्पणी- राम्रो गर्छु भनेर आउनेलाई रोक्नु हुन्न

‘केही भेलमा माछा समाउँछु भन्नेहरू पनि छन्, तिनीहरू राजतन्त्र उत्खनन् गर्दैछन्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र उम्मेदवारहरुले चुनाव जित्नु र राजनीतिमा स्वतन्त्र युवाहरूको लहर आउनुलाई स्वाभाविकरूपमा लिनुपर्ने बताएका छन् ।

टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले स्थापित राजनीतिक दलहरू युवाको भावनासम्म पुग्न नसकेकाले क्षति भर्नका लागि नयाँ मानिस आउने बताए ।

ओलीले भने, ‘युवाहरूमा फ्रस्टेसन छ भनिथ्यो अलि एक-दुई वर्षअघिघसम्म । युवाहरू पार्टीमा संगठित हुन पाएनन् वा पार्टीहरू युवासम्म पुग्न सकेनन् । विचार सम्प्रेषण गर्न सकेनन् र पार्टीले युवालाई आफ्नो विचारमा समेट्न सकेनन् । यस्तो ठाउँमा उनीहरू आफैं संगठित भएर आउनु स्वाभाविक हो । युवामा राजनीतिप्रतिको आकर्षण हुन राम्रो कुरा हो । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ ।’

ओलीले मुलुकमा आज पनि मुख्य पार्टी एमाले र कांग्रेस नै रहेको भन्दै उनीहरूले राम्रो काम नगर्दा यो भन्दा राम्रो गर्छु भनेर आउनेलाई रोक्न नहुने बताए । कुनै पनि दल सदाका लागि नरहने भन्दै ओलीले घाम जुन रहेसम्म एमाले र कांग्रेस रहन्छन् भन्न नसकिने बताए ।

ओलीले स्वतन्त्रहरूको एउटा लहर आएको भन्दै भेलमा माछा समाउँछु भन्नेहरू पनि यसमा मिसिएको टिप्पणी गरे । अध्यक्ष ओलीले पत्रकार, कलाकार पनि यो भेलमा आइरहेको भन्दै अरुलाई नालायक भनेर आफूमात्र लायक भन्नेहरू थोत्रो राजतन्त्रको उत्खनन् गरिरहेको आरोपसमेत लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर