प्रधानमन्त्रीलाई चुनाव लागिसक्यो, तर मिति तोक्न केले रोक्यो ? – Nepal Press

प्रधानमन्त्रीलाई चुनाव लागिसक्यो, तर मिति तोक्न केले रोक्यो ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ल्याएको परिणामबाट उत्साहित छन् । पाँचदलीय गठबन्धन गरेर भएपनि कांग्रेसलाई पहिलो पार्टी बनाएपछि देउवाको ध्यान अब संसदीय निर्वाचनतर्फ केन्द्रित छ ।

सत्तारुढ गठबन्धनमा कुनै राजनीतिक संकट आउनुभन्दा पहिले नै संसदीय निर्वाचनका लागि बलियो आधार तयार पार्न देउवा चाहन्छन् । यहीकारण जतिसक्दा चाँडो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति तोक्न देउवाले हतारो गरिरहेका छन् ।

स्थानीय तहको निर्वाचनपछि सत्ता गठबन्धनमा केही राजनीतिक अप्ठ्याराहरू देखापरेका छन् । कांग्रेससँगको तालमेलबाट सोचेजति लाभ नभएको निष्कर्षमा रहेका गठबन्धनका घटकहरूलाई आफूसँगै राख्नुपर्ने चुनौती प्रधानमन्त्री देउवासामु छ । गठबन्धनका सबैजसो दलभित्र जारी आन्तरिक विवादका कारण आफू नेतृत्वको सरकारमा समस्या नआओस् भनेर देउवा सचेत छन् । यहीकारण ३ सातादेखि नेकपा एसका मन्त्रीहरू हेरफेरको सिफारिस कार्यान्वयन गरेका छैनन् ।

जसपा विवादमा सहजीकरण गर्न डा. बाबुराम भट्टराई पक्षले गरेको अनुरोधमा निरपेक्ष बसेका छन् । त्यस्तै सरकारमै नभएको लोकतान्त्रिक समाजवादी पार्टीसँग वार्ता गर्दै उसका माग पूरा गराउन सक्रिय छन् ।

सरकारका एक मन्त्री पनि प्रधानमन्त्रीको प्रस्तुति र निर्देशन चुनावलक्षित भइसकेको बताउँछन् । ‘प्रधानमन्त्रीलाई चुनाव लागिसकेको छ । केही राजनीतिक परिस्थिति नमिलेर मात्रै घोषणा हुन ढिलाइ भएको हो’, ती मन्त्रीले नेपाल प्रेससँग भने ।

प्रधानमन्त्री देउवाले निकटस्थहरूसँग आफू जतिसक्दो चाँडो निर्वाचन होस् भन्ने पक्षमा रहेको बताउँछन् । वामगठबन्धन ब्युँतने खतरा यथावत रहेको भन्दै उनी चुनावसम्मै आफ्नो सरकार, गठबन्धन र तालमेल जोगाउन चाहन्छन् । गठबन्धनका शीर्ष नेताहरूको बैठकमै प्रधानमन्त्री देउवाले संसदबाट गराउनुपर्ने काम जतिसक्दो चाडो सकेर चुनावकेन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । मधेशमा राजनीतिक एजेण्डा बनेको नागरिकता विधयेक संसदबाट पारित गराउन प्रधानमन्त्रीको पहल चुनावी तयारीकै रणनीति हो ।

‘प्रधानमन्त्रीको दिमागमा अहिले निर्वाचन मात्रै छ । निर्वाचनसम्म गठबन्धनलाई जोगाएर लानेगरी उहाँले भूमिका निर्वाह गर्नुभएको हो’, देउवानिकट एक नेताको भनाइ छ । ती नेताका अनुसार प्रधानमन्त्रीले निर्वाचन तयारीको खाका कोर्न पार्टीका केही नेताहरूलाई जिम्मा पनि दिइसकेका छन् ।

‘गठबन्धन र तालमेलबारे केही नेताहरूले आन्तरिक तयारी गरिरहनुभएको छ । बजेट अधिवेशन सक्नासाथ चुनाव घोषणा गर्ने प्रधानमन्त्रीको तयारी छ’, प्रधानमन्त्रीनिकट कांग्रेस नेताको भनाइ छ ।

सरकारका एक मन्त्री पनि प्रधानमन्त्रीको प्रस्तुति र निर्देशन चुनावलक्षित भइसकेको बताउँछन् । ‘प्रधानमन्त्रीलाई चुनाव लागिसकेको छ । केही राजनीतिक परिस्थिति नमिलेर मात्रै घोषणा हुन ढिलाइ भएको हो’, ती मन्त्रीले नेपाल प्रेससँग भने ।

सत्तारुढ गठबन्धनका अन्य घटकहरू भने आन्तरिक विषय मिलाएर मात्रै निर्वाचनको मिति घोषणा गर्नुपर्ने पक्षमा छन् । निर्वाचनको मिति तोकेपछि प्रतिनिधिसभाको कार्यकाल कायमै रहने वा सकिने भन्नेमा कानूनी प्रष्टता हुनै बाँकी छ । प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल निर्वाचन भएको मितिलाई आधार मान्ने वा शपथ ग्रहणको मितिलाई मान्ने भन्नेमा पनि विवाद छ ।

संसद निष्क्रिय भएमा संसदमै विचाराधीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको अर्को प्रश्नले पनि सत्ता गठबन्धनलाई पिरोलेको छ । यहीकारण तत्कालै निर्वाचन मिति तोकिनेमा गठबन्धनका शीर्ष नेताहरू नै विश्वस्त छैनन् ।

‘प्रधानमन्त्रीलाई चुनाव लागेर मात्रै हुँदैन राजनीतिक र कानूनी कुराहरू मिल्न बाँकी नै छ । त्यसैले भरे-भोलिमै चुनावको मिति तोकिन्छ भन्ने कुरा अनावश्यक अन्दाज मात्रै हो’, गठबन्धनका एक शीर्ष नेताले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर