सुशान्त मृत्यु प्रकरण : रियाका दिदीभाईविरुद्ध लागुऔषध खरिद र खपतमा मुद्दा दायर – Nepal Press

सुशान्त मृत्यु प्रकरण : रियाका दिदीभाईविरुद्ध लागुऔषध खरिद र खपतमा मुद्दा दायर

काठमाडौं । नार्कोटिक्स कन्ट्रोल ब्यूरो(एन.सी.बी) ले बुधवार, जुन २२ मा अभिनेत्री रिया चक्रवर्ती, उनका भाइ शोविक चक्रवर्ती र अन्य विरुद्ध बलिउड अभिनेता सुशान्त सिंह राजपुतसँग जोडिएको लागुऔषध खरिद र खपतको आरोपमा अदालतमा मुद्दा दायर गरेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार, विशेष अभियोजक अतुल सरपाण्डेले भने, ‘ अभियोजन पक्षले अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख भएबमोजिम सबै अभियुक्तहरू विरुद्ध आरोपहरू कायम राखेको छ। साथसाथै रिया र शोविक चक्रवर्तीलाई लागुऔषध सेवन गरेको र सुशान्त सिंह राजपुतका लागि लागुऔषध खरिद तथा भुक्तानी गरेको अभियोग लगाइएको छ ।’

उनले थपे, ‘अभियुक्तविरुद्ध अदालतले अभियोग लगाउने तयारी गरेको भए पनि केही अभियुक्तले डिस्चार्ज निवेदन दिएकाले काम अगाडी बढाउन गाह्रो भएको हो। अदालतले डिस्चार्ज निवेदनको फैसलापछि मात्र अभियोग लगाउने बताएको छ ।’

रिया र शोविकसहित अन्य अभियुक्त बुधबार अदालतमा उपस्थित थिए । विशेष न्यायाधिश भिजी रघुवंशीले अर्को सुनुवाइको मिति जुलाई १२ मा तोकेका छन्।

सुशान्त सिंह राजपूत जुन १४, २०२० मा बान्द्रास्थित आफ्नै घरमा मृत फेला परेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *