अचाक्ली मूल्यवृद्धि, मल र पुस्तक अभावविरुद्ध जनसंगठनलाई आन्दोलनमा उतार्ने एमालेको निर्णय – Nepal Press

अचाक्ली मूल्यवृद्धि, मल र पुस्तक अभावविरुद्ध जनसंगठनलाई आन्दोलनमा उतार्ने एमालेको निर्णय

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दा उठाउँदै सम्बन्धित जनवर्गीय संगठनहरूलाई सडक आन्दोलनमा उतार्ने भएको छ ।

एमाले जनसंगठन समन्वय संयन्त्रको बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले जनताको दैनिक समस्या विकरल बन्दै गएकाले सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको संयन्त्रकी सहसंयोजक रचना खड्काले नेपाल प्रेसलाई बताइन् ।

विशेषगरी एमालेले सरकार छाडेको एक वर्षभित्रमा मूल्यवृद्धि तेब्बरसम्म भएको र सर्वसाधारण बाँच्नसमेत नसक्ने अवस्था आएकाले आन्दोलनमा जानुको विकल्प नरहेको एमालेको ठहर छ ।

एमालेका २२ वटा जनसंगठनका प्रमुखहरूसहितको बैठकले मुद्दा अनुसार संयुक्त आन्दोलन वा सम्बन्धित संगठनले एकल आन्दोलन गर्ने निर्णय भएको खड्काले जानकारी दिइन् ।

तत्कालै मुल्यवृद्धि, किसानले मल नपाएको तथा विद्यार्थीले पाठ्यपुस्तक नपाएको विषयमा आन्दोलन सुरू हुने भएको छ । त्यस्तै राष्ट्रियताको मुद्दामा समेत सरकार आत्मसमर्पणवादी भएकाले खबरदारी गर्नुपर्ने भएको एमाले नेता भानुभक्त ढकालले बताए ।

बैठकमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेता सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर