पाकिस्तानी जासुसको ‘हनी ट्रयाप’ मा कसरी फसे भारतीय अधिकारी ? – Nepal Press

पाकिस्तानी जासुसको ‘हनी ट्रयाप’ मा कसरी फसे भारतीय अधिकारी ?

काठमाडौं । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियामा प्रकाशित एक लेखका अनुसार भारतको हेदरावादस्थित डिफेन्स रिसर्च एण्ड डेभलेपमेन्ट ल्याब्रोटेरीमा कार्यरत एक इन्जिनियरले पाकिस्तानी जासुसको ‘हनी ट्र्याप’ मा फसेर भारतको गोप्य मिसाइल प्रोग्रामको सूचना चुहाएका छन् ।

बीबीसीको मिडिया रिपोर्टअनुसार पाकिस्तानी जासुसले इन्जिनियरलाई माया र विवाहको झूटो आश्वासनमा फसाइ मिसाइल प्रोग्रामको बारे गोप्य जानकारी हासिल गरेकी थिइन् । गोप्य सूचना चुहाएको आरोपमा हाल २९ वर्षीय इन्जिनियर मलिक्कार्जुन रेड्डीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

पुलिस स्रोतलाई उद्धृत गर्दै बीबीसीले दाबी गरेअनुसार अभियुक्त इन्जिनियर मार्फत अन्य परमाणु हतियारको सूचनासमेत लिने प्रयास गरिएको थियो । अभियुक्त मलिक्कार्जुन सन् २०१८ देखि डिफेन्स रिसर्च एण्ड डेभलपमेन्ट ल्याब्रोटेरीमा कार्यरत थिए ।

बीबीसीका अनुसार पाकिस्तानी जासुस र अभियुक्त इन्जिनियरको सामाजिक सञ्जाल फेसबुकमार्फत वार्तालाप सुरु भएको थियो । उनले आफ्नो नाम नताशा राव बताएकी थिइन् । विवाहको झूटो आश्वासनमा फसेर रेड्डीले भारतको अग्नि मिसाइलको आरके सिरिजमा प्रयोग हुने प्रविधिको बारे सूचना चुहाएका थिए । रिपोर्टका अनुसार अभियुक्त रेड्डी डिफेन्स म्यानुफ्याक्चरिङ युनिटमा कार्यरत थिए ।

भारतीय प्रहरीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएअनुसार निजी जीवनमा एक्लो रहेका रेड्डी झूटो माया र विवाहको आश्वासनमा फसेको देखिएको छ । अभियुक्तले ३५०० किलोमिटर रेन्जको के ४ मिसाइल, ६,००० किमि रेन्जको के ५ र १५०० किमि रेन्जको क १५ सागरिका सिरिजको कोड नम्बर बी ०५ तथा आणविक हतियारयुक्त पनडुब्बीबाट प्रक्षेपित ब्यालिस्टिक मिसाइल (एसएलबीएमएस)​​को गोप्य सूचना चुहाएका छन् । अभियुक्त इन्जिनियर र जासुस दुई वर्षसम्म सम्पर्कमा रहेको जनाइएको छ ।

नाताशा नाम गरेर इन्जिनियरसँग नजिकिएकी जासुसको ओमिशा अद्दी र सिमरन चोपडा नामका थप दुई फेसबुक अकाउन्ट पनि रहेको मिडिया रिपोर्टमा उल्लेख छ । उनले रेड्डीसँग सधैं फेसबुक वा ह्वाटसएपमा कुरा गर्ने गरे तापनि एक पटक पनि भिडियो कलमा कुरा नगरेको जनाइएको छ । उनले आफूलाई बेलायतको डिफेन्स जर्नलको कर्मचारी बताउँदै आएकी थिइन् ।

प्रहरीले रेड्डीको साथबाट २ वटा मोबाइल र ल्यापटप बरामद गरेको छ । जसमा मिसाइल निर्माण प्रक्रियाबारे तस्वीर तथा अन्य जानकारी रहेको छ । यस्तै उनको फोनबाट दुईबीच भएको वार्तालापको भोइसक्लिप पनि बरामद भएको छ ।

रेड्डीले प्रहरीलाई उक्त जासुसले आफ्नो बैंक अकाउन्ट पनि मागेको तर नदिएको बयान दिएका छन् । प्रहरीले अहिले उक्त प्रकरणमा ती महिलामात्र सहभागी थिइन् वा ठूलै संयन्त्र लागेको थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको रिपोर्टमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर