मूल्यवृद्धिको विरोधमा सरकारी सवारी सञ्चालनमा अवरोध – Nepal Press

मूल्यवृद्धिको विरोधमा सरकारी सवारी सञ्चालनमा अवरोध

कैलाली। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले धनगढीमा सरकारी गाडीहरू सञ्चालनमा अवरोध गरेको छ ।

सर्वसाधारण नागरिकलाई चर्को मार पर्ने गरी सरकारले मूल् वृद्धि गरेको भन्दै बुधबार सरकारी सवारी साधन सञ्चालनमा अवरोध गरिएको हो ।

मूल्यवृद्धि तत्काल फिर्ता गर्न दबाब दिने उद्देश्यले बुधबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सरकारी सवारी साधन सञ्चालनमा अवरोध गरेको राष्ट्रिय युवा संघ धनगढी नगर कमिटी संयोजक अविवेक नाथले बताए ।

‘सरकारले चर्को मूल्यवृद्धि गर्दा नागरिक मारमा परेका छन्’ उनले भने ‘सरकारलाई जनताको चिन्ता छैन। हामीले त्यही बुझाउन दबाब दिएका हौँ ।’

युवाहरूले आन्दोलनका कार्यक्रम अन्तरगत सरकारी सवारीसाधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई ठाउँ–ठाउँमा रोकेर चाबी खोसिदिएका थिए ।

धनगढीको एलएन चोकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गाडी र २५ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको नाथले बताए ।

उनका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ४१ गाडी नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएका सवारीसाधन पाँच बजेपछि मात्र छोडिएको नाथले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर