रामायण सर्किट जोड्ने रेल आज जनकपुरधाम आउँदै, मुख्यमन्त्री राउतले स्वागत गर्ने – Nepal Press

रामायण सर्किट जोड्ने रेल आज जनकपुरधाम आउँदै, मुख्यमन्त्री राउतले स्वागत गर्ने

जनकपुरधाम । आज जनकपुरधाम आउन लागेको भारत- नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’लाई मधेसका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने भएका छन् ।

रेल मंगलबार साँझ करिब ७ बजे नयाँ दिल्लीबाट जनकपुरधामका लागि छुटेको थियो । उक्त रेल आज जनकपुरधाम आइपुग्नेछ । जनकपुरधामस्थित रेल्वे स्टेशनमा मुख्यमन्त्री राउतले दिउँसो १ बजे भव्य स्वागत गर्नेछन् । स्वागत समारोहमा उपस्थितिका लागि जनकपुरधामबासीलाई अपिल गरिएको छ ।

भारतका केन्द्रीय पर्यटन, संस्कृति मन्त्री किशन रेड्डी र रेल मन्त्री अश्विनी वैष्णवले हरियो झण्डा देखाएपछि दिल्ली स्टेशनबाट जनकपुरधामका लागि छुटेको थियो । सयौं पर्यटक बोकेको उक्त रेल तेस्रो दिन जनकपुरधाम आइपुग्नेछ ।

रामायण सर्किटमा सञ्चालन हुने यस रेलले अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पंचवटी ९नासिक०, हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरधाममा अवस्थित धार्मिक क्षेत्रलाई जोड्नेछ ।

रेलमा १४ बोगी (डिब्बा) छन् । केही डिब्बाका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवम् लोक नृत्य, पोशाक, पर्व, परिकार प्रवर्धन गर्ने किसिमका सामग्री देख्न सकिन्छ । ६ नम्बर डिब्बामा राम-जानकी मन्दिर निर्माण गरिएको छ ।

त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थललाई एउटै मार्गले जोड्न भारतले रामायण सर्किटको अवधारणा ल्याएको हो । अयोध्याका राम स्वयंवरका लागि जनकपुर आउँदा र सीतासँग विवाहपछि अयोध्या फर्किंदा प्रयोग गरेको मार्गमा रहेका तीर्थस्थललाई जोड्ने मार्गलाई रामायण सर्किट भनिएको छ ।

‘रामायण सर्किटअन्तर्गत जनकपुर र अयोध्याको सम्बन्ध अझ प्रगाढ र आत्मीय बन्ने विश्वास छ । जनकपुर- अयोध्या दूरी ६ सय ५० किलोमिटर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *