सुर्खेतको गढी पैदल मार्ग विस्तार, बन्यो १६०० मिटर – Nepal Press

सुर्खेतको गढी पैदल मार्ग विस्तार, बन्यो १६०० मिटर

सुर्खेत । सुर्खेतको पर्यटकीय क्षेत्र गढी पुग्ने पैदलमार्ग विस्तार गरिएको छ । सर्खेतको सदमुकाम वीरेन्द्रनगरबाट गढी जाने पैदल मार्ग विस्ता गरिएको हो ।

वीरेन्द्रनगर नपा– ४ देखि १४ नम्बर वडास्थित गढीसम्म पुग्ने पैदल मार्गको लम्बाई ३५ सय मिटर छ । दुई वर्षअघि ११ सय मिटर रेलिङ्ग सहित पदमार्ग निर्माण गरिएको थियो । यस वर्ष थप ८५० मिटर पदमार्ग निर्माण सुरु भएको छ । गढी पदमार्ग उपभोक्ता समितिका अध्यक्ष रेशम ढकालका अनुसार असार २५ सम्म ८५० मिटर पदमार्ग निर्माण भइसक्नेछ ।

यसका लागि नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले पूर्वाधार विकास कार्यक्रममार्फत कन्टिजेन्सीबाहेक ७३ लाख ५० हजार रकम विनियोजन गरेका थिए ।

‘हामीले फागुन २६ गते निर्माण सम्झौता गरेका थियौं’, उनले भने, ‘४०० मिटर पदमार्गमा कटिङ र सोलिङ भइसकेको छ । ४५० मिटर पदमार्ग तयार भइसकेको छ ।’

उनले रेलिङको दायाँ बायाँ वस्तुभाउ हिँडाउन नाला कटिङ गर्ने र बाटो निर्माण कार्य गर्नेबारेमा इन्जिनियरसँग सल्लाह भइरहेको बताए ।

पदमार्ग निर्माणबारे प्रदेश सांसद कँडेलले बुधबार बिहान अवलोकनसमेत गरेका छन् । उनले वीरेन्द्रनगरवासीका लागि यो पदमार्ग अत्यावश्यक भएकाले चाँडोभन्दा चाँडो निर्माण पुरा गर्न निर्देशनसमेत दिए ।

‘यो वीरेन्द्रनगर र प्रदेश राजधानीको महत्त्वपूर्ण पर्यटकीय पैदलमार्ग हो । यो मार्ग सञ्चालनमा आएपछि यहाँका नागरिकले रोजगारी पाउने र यसले यस क्षेत्रका जनताको जीवनस्तर माथि उठाउने अपेक्षा गरेका छौं’, उनले भने, ‘काम गुणस्तरीय र र समयमै सम्पन्न गर्नुहोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर