रहस्यमय मृत्यु भएकी सुविनाका दुई बच्चाको बिचल्ली – Nepal Press

रहस्यमय मृत्यु भएकी सुविनाका दुई बच्चाको बिचल्ली

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका -६ सेमरी पश्चिम पहुनीकी ७ वर्षकी छोरी र दुई वर्षको छोराकी आमा बनेकी सुबिना  गिरीकाे  जेठ ३१ गते रहस्मय तरिकाले मृत्यु भएपछि छोराछोरीको बिचल्ली भएको छ ।

पति, सासू, छोराछोरी र आफ्ना भान्जासमेत सँगै बस्दै आएका घरमा उनको मृत्युपछि माइती पक्षले हत्याको आशंका गर्दै निरन्तर खबरदारी गरिरहेका छन् । उनका श्रीमानले घरदेखि केही अगाडि बाँसघारी चोकमा होटल रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

उनका छिमेकीका अनुसार सुबिना होटलमा कहिलेकाहीँ मात्रै जान्थिन् तर उनका श्रीमान सन्जय बिहानै होटलमा जाने र राति अबेर फर्कने गर्थे । जेठ ३१ गते होटलमा सुविना झुण्डिएको र आफैले पासो खोलेर हस्पिटलमा पुराएको सञ्जयले बताएपछि उनको भनाइप्रति माइती पक्षले आशंका मात्र गरेका छैनन् उनैलाई हत्या गरेको आरोप लगाउँदै आएका छन् । उनले घर नजिकैको क्रिमसन अस्पताल नपुराउँदै डाक्टरले मृत्यु भइसकेको जनाएका थिए ।

सुबिनाका बुवा नरु गिरीले सुबिना झुण्डिएको हो होइन यकिन केही नभएको र देख्ने कोही साक्षी नभएको तथा घर जोडिएको छिमेकीसँग समेत गुहार नमागिएको, प्रहरी अरु कोही दाजुभाइलाई नै खवर नगरिएकाले यो घटना रहस्यमयी हत्या भएको दावी गर्दै आएका छन् ।

उनले भने, ‘होटलको पारी रहेको एकजना गाडी भएको साथीलाई बोलाएर बेहोस भएर ढलेको हस्पिटल लैजाने भनेर बताएको रहेछन् । गाडीवालाले हस्पिटल पुगेर प्रहरीले सोधपुछ गरेपछि बल्ल झुण्डिएको बताएको मेसो पाएका रहेछन् । अनि कसरी विश्वास गर्न सकिन्छ, यस्तो घटनाको ।’

‘यदि आत्महत्या नै गर्ने भए घरमै कोठामा, बाहिर होंचा हाँगा भएका रुखमा, सुनसान सडक छेउमा मा कतै झुण्डिने, हाम फाल्ने पनि गर्न सक्थिन्, होटल अगाडिको वरपिपलको रुखमा होंचा हागामा पनि झुण्डिन सक्थिन् । घटनास्थल हेर्दा र परिस्थिति बुझ्दा आत्महत्या गरेको पत्यार नै लाग्दैन ।‘ गिरीले भने ।

यसको सत्य, तथ्य र निष्पक्ष छानबिनका साथै मसिनो गरी अनुसन्धान होस् भन्ने माइती पक्षको माग छ । पोष्टमार्टम गरिएपनि रिपोर्ट आएको छैन, फरेन्सिक विज्ञको रिपोर्ट आएको छैन । रिपोर्टका आधारमा कानुनी उपचारका नयाँ बाटोमा जाने माइतीको भनाइ छ ।

आत्महत्या नभई हत्या भएको भन्दै किटानी जाहेरी दिएका सुविनाका बुवा नरु गिरीले घटनामा विभिन्न शंका गर्न सकिने ठाउँहरु रहेको उल्लेख गरेका छन् । घटनामा सुविनाको हत्या भएको भन्ने आधारहरु प्रस्तुत गर्दै उनले भने,’झुण्डिएको देख्ने कोही नहुनु र श्रीमान आफैले उद्धार गरेर ल्याएको बताएपनि हस्पिटल आउने बेलासम्म आफ्नो मामा बाहेक कसैलाई जानकारी नगराउनुले रहस्यमय देखिएको छ । यसैगरी मध्यरातमा एक किमि टाढाको घरबाट सुविना रेष्टुरेन्टमा किन गइन भन्ने प्रश्न गम्भीर रहेको उनले बताए ।

रेष्टुरेन्टमा रहेको भनिएका श्रीमान संजयले अन्तिम ग्राहक सबा ११ बजेतिर गइसकेको बताएको र सोही रात १ बजेसम्म उनीहरु त्यहाँ बस्नुको कारण रहस्यमय रहेको सुविनाका बुवाले प्रश्न गरेका छन् । घटनास्थलमा झुण्डिएको भनिएको स्थानमा टेबुल रहेको र झुण्डिदा छट्पटी हुँदा समातेर उभिन मिल्ने अवस्था रहेको, केही कुर्सीहरु पल्टाएर राखेको, चुरोटका ठुटा, मासुका टुक्रा, वियरका बोत्तल, फुटेको वियर गिलास त्यहीँ परिसरमा रहेको र एकजोर लेडिज तथा अर्को पुरुषले लगाउने चप्पल भेटिएकाले थप संकास्पद देखिने माइती पक्षको दाबी छ ।

मृतककी फुपु क्षमा गिरीले सुविनाको शरिरभर नीलडाम भएकाले पतिले हत्या गरेको वा झुण्डाएको दाबी गरिन् । घटनाबारे सत्यतथ्य छानविनका लागि प्रहरीले तदारुकता नदेखाएको माइती पक्षको आरोप छ । यद्यपि प्रहरीले भने प्रकियागत रुपमा अनुसन्धान अघि बढ्ने बताएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

‘पोष्टमार्टमको रिपोर्ट आएको छैन,माइती पक्षको जाहेरी आएको छ, रिपोर्टका आधारमा थप अनुसन्धानलाई अगाडि बढाउँछौं‘ केसीले भने ।

यस्तो छ घटना विवरण

केही दिन माइत बस्न गएकी सुविनाले घरमा रहेका श्रीमानसँगको फोन वार्तामा भनेकी थिइन–‘मेरो घर कहाँ छ र जाउँ ?, मेरा मनमा लागेका चोट कसरी मेटाउ ?’ सुविनाका श्रीमान संजय गिरीले थमथम्याउँदै भनेका थिए–‘सरी अब यस्तो हुँदैन ।’

छेउमै रहेकी बहिनी प्रमिला दिदी र भिनाजुको कुराकानी सुनिरहेकी थिइन् । दिदीले भिनाजुसँग गरेका कुराहरु बारे थप खोतल्न खोजे पनि सुविनाले खुलाउन चाहिनन् । बरु भोलिपल्ट नै दिदी सुविना घरतिर लागिन् ।

उक्त फोन वार्ता भएको ८ दिनपछि सुविनाको रहस्यमय मृत्युको खबर सुनेपछि बहिनी प्रमिला छाँगाबाट खसे जस्तै भइन् । बुवा–आमालाई भन्दा बढी आफूलाई पीडा सुनाउने दिदी सुविनाले आत्महत्या गरेको कुरा उनलाई कत्तिपनि विश्वास लागेको छैन । भिनाजुले दिदीमाथि गरेका कुटपिट तथा ज्यादतीलाई प्रत्यक्ष देखेकी प्रमिलाले दिदीको मृत्यु हुनुको कारण पनि सोही घटनासँग सम्बन्धित भएको बताउँछिन् ।

भिनाजुले विगतदेखि नै दिदीमाथि ज्यादती गर्दै आएको बताउँदै प्रमिलाले सुविनाको हत्या भएको दाबी गर्छिन् । दुई वर्षअघि आफूले प्रत्यक्ष देखेको घटना उल्लेख गर्दै प्रमिलाले भनिन्–‘भिनाजुले दिदीलाई सारै कुट्नुहुन्थ्यो तर उसले कसैलाई पीडा सुनाउँदैन थियो ।’ एक दिन दिदीको घरमा बस्न आएको समय कुनै पार्टी वा कार्यक्रममा गएका भिनाजु संजय गिरी मध्यरातको करिब १ बजे घर फर्किए ।

घटना सम्झिँदै प्रमिलाले भनिन्, भिनाजु मदिरा सेवन गरेर निकै मात्नुभएको थियो त्यसैले होला दिदीले कुनै सवाल जवाफ गर्नुभएन । भिनाजु अर्को कोठामा, दिदी र म एउटा कोठामा सुत्यौं । भोलिपल्ट एकाविहानै उठेर घरको काम गर्दै दिदीले भिनाजुलाई सम्झाउन थाल्नुभयो । भिनाजु भने एक्कासी जाइलाग्दै दिदीलाई २/३ झापड गालामा हाने ।

उक्त घटना देखे पनि प्रमिलाले बोल्न सकिनन् । जब दिदी कुटाई खाएपछि कोठाबाट रुँदै बाहिर निस्किन लागिन् पुनः भिनाजुले कपालमा समातेर घिसार्दै कोठाभित्र लगेर फेरी २/४ झापड लगाए । पुनः कुटपिट गर्न लागेपछि भने प्रमिलाले प्रश्न गरिन् । भिनाजुले झर्किदै जवाफ फर्काए–‘तिम्रो दिदीको स्वभाव नै त्यस्तै छ । पिटेको होइन अलि–अलि सम्झाएको मात्रै हो ।’

उक्त घटना प्रत्येक्ष देखेकी बहिनी प्रमिलाले कसैलाई नभन्ने बाचासहित कसम समेत खानुपरेको थियो । घटनाबारे बुवाआमालाई जानकारी भए उनीहरुलाई पीडा हुने बताउँदे दिदी सुविनाले नै प्रमिलालाई कसैलाई नबताउने गरी बाचा कसम खुलाएकी थिइन् । दुई वर्षअघिदेखि नै दिदीले भोगेका यातना बारे जानकार प्रमिलाले पारिवारिक द्वन्द र अन्तरविरोधकै कारण दिदीको हत्या भएको हुनसक्ने दाबी गरिन् ।

नवलपरासीको कावासोती नगरपालिका–१६ की सुविना र रुपन्देहीको तिलोत्तमा–६ का संजय गिरीबीच ८ वर्षअघि मागी विवाह भएको थियो । विवाह भएको ३/४ वर्षसम्म उनीहरुको सम्बन्ध ठिकै चल्यो । पछिल्लो केही वर्षदेखि भने उनीहरु बीच मनमुटाव भैरहे पनि सुविनाले उक्त घटनालाई लुकाउने गरेकी थिइन् ।

सुविनामाथि संजयले हातपात समेत गर्ने गरेको आफूले प्रत्येक्ष देखेको बहिनी प्रमिलाले बताउँछिन् । यही जेठ ३१ गते सोमबार राति १० बजेसम्म मोबाइलमा ‘टिकटक’का बारे रमाइलो गफ गर्दै सुतेकी दिदी सोही राती मृत्युको घटनाले बहिनी प्रमिलालाई अझै विश्वास लागेको छैन ।

मध्यराति करिब साढे १ बजेको समयमा सुविनाले आत्महत्या गरेपछि उद्धार गरी तिलोत्तमा–५ मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका लागि पुर्याइएको भएपनि बाटोमै मृत्यु भएको सुविनाको परिवारले बताएको छ । घटनाबारे संजयका मामाले मंगलबार बिहान करिब साढे ३ बजेको समयमा फोन गरेर सुविनाका बुवाआमालाई जानकारी गराएका थिए ।

संजयले सञ्चालन गर्दै आएको तिलोत्तमा–६ पश्चिम पहुनीमा अवस्थित मिलन रेष्टुरेन्टमा सुविनाले आत्महत्या प्रयास गरेको उनको परिवारले बताएको छ । यद्यपि छिमेकमा कसैले पनि उक्त राति कुनै आवाज वा गतिविधि भएको पत्तै नपाएको उल्लेख गरे ।

घरदेखि करिब १ किलोमिटर टाढा रहेको होटलमा दिदीले आत्महत्या गर्न पुगेको भन्ने घटनाले नै आफूलाई विश्वास नलागेको बहिनी प्रमिलाले बताउँछिन् । इन्सेक प्रतिनिधि रिमा बिसीले २५ वर्षीय युवतीको अस्वभाविक मृत्युको विषयमा अनुसन्धानमै रहेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर