दलित महिला सदस्यमाथि माइन्यूट लेखन र सम्बोधनमै विभेद – Nepal Press

दलित महिला सदस्यमाथि माइन्यूट लेखन र सम्बोधनमै विभेद

निर्वाचित दलित महिला सदस्यको सञ्जाल निर्माण गरेर संयुक्त रुपमा जान सक्यो भने यस्ता विभेदको अन्त्य गर्न सकिन्छ ।

काठमाडौं । २८ वर्षकी रञ्जु तोलांगी अहिले ललितपुर महानगरपालिका वडा नम्बर ३ को वडा सदस्य छिन् । उनी दोस्रोपटक दलित महिला सदस्यमा निर्वाचित भएकी हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भइसकेपछि उनी दर्जनौं बैठकमा सहभागी भएकी थिइन् । सहभागी हुँदा जहिले पनि उनको नाम पुछारमा हुन्थ्यो । तर, उनले आफ्नो नाम किन पुछारमा भएकोबारे त्यति चासो लिइनन् र कसैलाई सोधिनन् पनि । सुरुसुरुमा उनले आफैलाई मात्र सोधिरहिन्, मेरो नाम चाहिं किन सधैं पुछारमा ?’

नाममात्र होइन, कुनै कार्यक्रम तथा बैठकमा बोल्दा पनि उनलाई अन्तिममा पालो दिइन्थ्यो । त्यसपछि उनले त्यसबारेमा बुझ्दै जाँदा आफ्नो वरियताक्रम तेस्रो भएको थाहा पाइन् । उनले बुझे, वडामा १ नम्बरमा अध्यक्ष, दोस्रोमा महिला सदस्य र तेस्रोमा दलित महिला सदस्य पर्छन् । त्यसपछि चौथो र पाँचौंमा अन्य दुई जना सदस्य ।

त्यसपछि वडाका बैठकमै उनले प्रश्न गर्न थालिन्, ‘मेरो वरियाताक्रम ३ नम्बरमा भए पनि किन पुछारमा राखिन्छ ? के म दलित महिला भएकै कारणले मलाई ३ नम्बरमा राखिएको हो ?’

त्यसपछि उनलाई थम्थम्याउन कतिपयले ओठे जवाफ दिए, ‘तिमी उमेरले पनि सानै छौ । त्यसैले पनि तिमीलाई पछाडि राखेको होला । यसलाई ठूलो विषय नबनाऊ । अघिपछि पर्दैमा केही फरक पर्दैन ।’

त्यसपछि रञ्जुले प्रतिप्रश्न गरिन्, ‘त्यसो भए प्रधानमन्त्री र राष्ट्रपतिमा पनि उमेरको हिसाबले वरियताक्रम हुन्छ कि पदीय हिसाबले हुन्छ ?’
त्यसको जवाफ कसैले दिन सकेन्न । त्यसपछि वरियताक्रमअनुसार उनलाई ३ नम्बरमा राखिएको छ । उनी भन्छिन्, ‘आफूले नबोलेसम्म नहुँदो रहेछ । मैले बोले अनि मेरो नाम अन्तिममा राख्न छोडेर तेस्रोमा राख्न थालियो । मलाई बोल्न लगाउँदा पनि तेस्रो नम्बरमै बोलाउन थालियो ।’

उनले पहिलोपटक दलित महिला सदस्यमा निर्वाचितहरु लाई लक्षित गर्दै भनिन्, ‘तपाईंहरुलाई पनि त्यस्तो खालको अदृश्य जातीय विभेद हुनसक्छ । यसमा बेलैमा सचेत गराउनुहोला ।’

०००

लतिलपुर महानगरपालिकाकै वडा नम्बर १४ मा दलित महिला सदस्यमा पुनः निर्वाचित संगीता अछामीको अनुभव पनि रञ्जुको भन्दा फरक छैन । उनले पनि माइन्यूटमा आफ्नो नाम र कार्यक्रममा सम्बोधन गर्न सधैं अन्तिममा मात्र राख्ने गरिएको तीतो अनुभव सुनाइन् ।

उनले भनिन्, ‘मेरो पहिलो ५ वर्षे कार्यकालमा एक दिन पनि कसैले रजिस्टरमा तेस्रो वरियतामा लेखेन र मलाई बोलाउँदा वा सम्बोधन गर्दा पनि तेस्रो नम्बरमा गरिएन । सधैं मेरो नाम अन्तिममा राखियो र मलाई सम्बोधन गर्दा पनि अन्तिममै बोलाइयो । यसले पनि मलाई विभेद गरेको महसुस हुन्थ्यो ।’

यति मात्र नभएर नगरपालिकाका जनप्रतिनिधिलाई सहभागी गराउने अधिकांश कार्यक्रममा समेत आफूलाई उपेक्षा गर्ने गरिएको उनको अनुभव छ ।

उनले भनिन्, ‘मलाई सकेसम्म बाहिरका कार्यक्रममा सहभागी गराइएन । गराउनै परे पनि कोही नजाने अवस्था भयो भने मात्र पठाउने गरियो । बैठकमा पनि मैले बोलेको कुरा कम सुनुवाइ भयो । वडा सदस्यलाई बोल्न लगाउँदा पनि महिला सदस्य र दलित महिला सदस्यमा एकजना बोलाउनुप¥यो भने महिला सदस्यलाई मात्र बोल्न लगाइन्छ ।’

संगीतासँग प्रत्यक्ष विभेद भोगेको अनुभव नभए पनि अप्रत्यक्ष रुपमा भने विभेद भोगेको अनुभव धेरै छ ।

उनले भनिन्, ‘कुनै कार्यक्रम वा बैठकमा गयो भने हाम्रा जनप्रतिनिधि नै ऊ त दलित महिला सदस्यबाट निर्वाचित हो नि भन्ने गरेका छन् । त्यस्तो भन्दा विभेद गरेको महसुस हुन्छ । हामी त निर्वाचन प्रक्रियासम्म मात्र दलित महिलाबाट हो नि ! निर्वाचित भइसकेपछि त हामी पनि वडा सदस्य हौं नि भनेर किन नबुझेका र त्यसरी सम्बोधन नगरेका ?’

संगीता अघिल्लोपटक कार्यपालिका सदस्यसमेत निर्वाचित भएकी थिइन् । यसपटक भने कार्यपालिका सदस्य बन्न सकिनन् । यसपटक महिला सदस्यमा उम्मेदवारी दिने तयारी गरेकी थिइन् । तर, उनलाई दलित महिला सदस्यमै उम्मेदवारी दिन लगाइयो ।

उनले भनिन्, ‘मैले हरेक वर्ष एउटै क्लस्टरबाट किन लड्नु भनेर महिला सदस्य लड्ने तय गरेकी थिएँ । तर, मलाई महिलामा लड्न दिइएन । तिमी दलित महिला त हौ नि ! त्यहाँको कोटा खान छोडेर हाम्रो भाग खान किन आउँछौ पनि भने । त्यो पनि त हामीमाथिको विभेद हो ।’

०००

काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ८ का दलित महिला सदस्य सरस्वती परियारलाई पनि आफ्नो नाम जहिले पनि पुछारमा राखेको र आफूलाई अन्तिममा बोल्न लगाएको चित्त बुझिरहेको छैन । अघिल्लोपटक कार्यपालिका सदस्यसमेत रहेकी परियार पनि यस पटक कार्यपालिका सदस्य बन्न सकिनन् ।

उनले दुखेसो गर्दै भनिन्, ‘हाम्रो नाम सबैभन्दा पछाडि लेख्ने काम भइरहेको छ । हामीलाई सकेसम्म बोल्नै नदिने, बोल्न दिए पनि अन्तिममा बोल्न दिने गरिएको छ । यसबाट पनि हामीले विभेद भएको महसुस गरेका छौं । नगरपालिकाले विभिन्न समिति बनाउँदा पनि हामीलाई सकेसम्म राखिँदैन । राख्नैपर्ने अवस्थामा मात्र राखिन्छ ।’

कीर्तिपुर नगरपालिका वडा नम्बर १० की मञ्जु परियार पनि दोस्रो पटक दलित महिला सदस्यमा निर्वाचित भएकी छन् । यसअघि ५ वर्ष वडा सदस्य भएर काम गरिसकेकाले यसपटक कार्यपालिका सदस्यमा आफूलाई निर्वाचित गराउने उनलाई आशा थियो । तर, त्यो आशा निराशामा परिणत भयो ।

उनले भनिन्, ‘अघिल्लो ५ वर्ष वडा सदस्यमा काम गरेको हुनाले यसपटक पक्कै पनि कार्यपालिका सदस्यमा लिनुहुन्छ भन्ने आशा थियो । तर, विडम्बना मलाई लिएनन् । त्यसैले म त अब बस्ने नगरपालिकाको बैठकमा ‘नोट अफ डिसेन्ट’ लेख्ने निर्णयमा पुगेकी छु ।’

काठमाडौं महानगरपालिका वडा नम्बर ३ मा शर्मिला परियार दलित महिला सदस्यमा पहिलो पटक निर्वाचित भएकी छन् । शर्मिलाको वडामा वरियरताक्रमअनुसार आफूलाई तेस्रो नम्बरमा राख्नुपर्ने अडान छ ।

उनले भनिन्, ‘मतपत्रमै हाम्रो संकेत तेस्रो नम्बरमा छ । त्यसैले हाम्रो वरियताक्रम तेस्रो नै हुनुपर्छ । यदि कोहीकसैले अन्तिम हो भन्छ भने त्यसको विरोध गरिन्छ ।’

०००

दलित महिला जनप्रतिनिधिको विषयमा अध्ययन अनुसन्धान गर्दै आएका अध्येता जेवी विश्वकर्मा दलित महिलालाई कमजोर ठानेर सबै ठाउँमा अन्तिममा राख्ने गरिएको बताउँछन् । उनले यसविरुद्ध निर्वाचित सबै वडा सदस्य एक भएर लड्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘अघिल्लो ५ वर्षको अवधिमा विनाकार्ययोजना र विनाएकता अघि बढेका कारण दलित महिला सदस्यमा निर्वाचितले अपेक्षाकृत काम गर्न सक्नुभएन । यस वर्ष उनीहरुले कार्ययोजना बनाएर, स्थानीय तहमा निर्वाचित दलित महिला सदस्यको सञ्जाल निर्माण गरेर संयुक्त रुपमा जान सक्यो भने यस्ता विभेदको अन्त्य गर्न सकिन्छ ।’

दलित महिलाको क्षेत्रमा काम गर्दै आएको दलित महिला संघ (फेडो)ले दलित महिला जनप्रतिनिधिको क्षेत्रमा काम गर्दै आएको छ । तर पनि अघिल्लो पटक निर्वाचित दलित महिला सदस्यका लागि अपेक्षाकृत काम गर्न सकेन ।

संघकी अध्यक्ष कला स्वर्णकारले अघिल्लो वर्ष निर्वाचित दलित महिला सदस्यलाई फेडोले अभिमुखीकरण कार्यक्रम गरे पनि त्यसअनुसार नतिजा आउन नसकेको बताइन् ।

उनले भनिन्, ‘यस पटक पनि दलित महिला सदस्यलाई अभिखुमीकरण कार्यक्रम गर्दैछौं । सुरुमा काठमाडौं र ललितपुर जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई बधाई तथा शुभकामनासँगै अभिमुखीकरण कार्यक्रम गरेका छाैं । अब यसलाई देशभर सञ्चालन गर्छौं ।’

निर्वाचन आयोगको तथ्यांकअनुसार ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामध्ये ६ हजार ६११ वडामा दलित महिला सदस्य निर्वाचित भएका छन् । जसमध्ये ६ हजार ४४७ जना निर्वाचित हुँदा १६४ जना निर्विरोध भएका हुन् ।

प्रदेश १ मा एक हजार ११७ जना निर्वाचित र ३४ जना निर्विरोध, मधेस प्रदेशमा एक हजार २५८ जना निर्वाचित र ७ जना निर्विरोध, बागमतीमा एक हजार ३९ जना निर्वाचित र ४५ जना निर्विरोध, गण्डकीमा ७१३ जना निर्वाचित र २० जना निर्विरोध भएका छन् ।

त्यस्तै लुम्बिनीमा ९७८ जना निर्वाचित र ५ जना निर्विरोध, कर्णालीमा ६४० जना निर्वाचित र ४१ जना निर्विरोध र सुदूरपश्चिममा ७०२ जना निर्वाचित र १२ जना निर्विरोध भएको आयोगले जनाएको छ । १३२ वडामा भने दलित महिला सदस्यको उम्मेदवारी नै परेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.