हवाई उडान बन्द प्रकरण- कारबाहीको तयारीमा सरकार, हतकडी लगाउन तयार व्यवसायी – Nepal Press

हवाई उडान बन्द प्रकरण- कारबाहीको तयारीमा सरकार, हतकडी लगाउन तयार व्यवसायी

काठमाडौं । गृह मन्त्रालयले जेठ २६ गते राजपत्रमा एक सूचना प्रकाशित गर्‍यो । राजपत्रमा प्रकाशित उक्त सूचना थियो, विभिन्न सेवामा हड्ताल गर्न निषेध गरिएको । सूचनाको दोस्रो नम्बरमा नै उल्लेख छ, जल, स्थल वा हवाई मार्गबाट यात्री वा मालसमान ओसार पसार गर्ने यातायात सेवामा हड्ताल नपाइने ।

उक्त सूचना जारी भएको दुई साता मात्रै बित्न नपाउँदै वायुसेवा सञ्चालक संघले आन्तरिक तथा बाह्य सबै उडान बुधवारदेखि बन्द गर्ने निर्णय गरेको छ । पर्यटनमन्त्री प्रेमबहादुर आलेले निजी क्षेत्रविरुद्ध पूर्वाग्रह साँध्दै अव्यवहारिक निर्णय गरेको विरोधमा उडान बन्द गर्ने निर्णय गरिएको संघले बुधवार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

मन्त्री आलेले निजी क्षेत्रका विमान बाहिरका एयरपोर्टमा पार्किङ गर्नुपर्ने लगायतका निर्णयको विरोधमा संघले उडान बन्द गर्ने निर्णय गरेको संघले जनाएको छ ।

हतकडी लगाउन तयार छौ : संघका प्रवक्ता कँडेल

सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा एकले दिएको अधिकार प्रयोग गर्दै आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको क्षेत्रलाई नै बन्द हडताल गर्न नपाइने भनेको छ । तर पनि किन बन्द हड्ताल गर्न खोजियो भनेर वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेललाई प्रश्न गर्दा उनले यसबारेमा आफूहरूलाई जानकारी हुँदा हुँदै पनि गर्नुपरेको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘हामीलाई यस्तो गर्नु कानूनविपरीत हो भन्ने थाहा छ । थाहा भए पनि आज बिहानको उडान नै हुन नसकेपछि हामी यो निर्णयमा पुग्न बाध्य भएका हौ । सम्बन्धित निकायबाट फोन आइरहेको छ । वार्ता पनि भइरहेको छ । हामीसँग सहमति नै नगरेर, समय सीमा नै नदिएर लागू गर्नुहुँदैन थियो । त्यसरी गरिएपछि हामी बाध्य भयौ ।’

प्रवक्ता कँडेलले आफूहरू कानुनी कारबाही भोग्न तयार भएरै यो निर्णयमा पुगेको बताए । उनले भने, ‘हामीमाथि सरकारले प्रहरी प्रशासन प्रयोग गर्छ, दमन गर्छ भन्ने हामीलाई थाहा नै छ नि । हामी हाम्रो निर्णयबाट फिर्ता हुँदैनौ । उहाँहरूले पक्राउ गर्नुपर्‍यो कारबाही गर्नुपर्‍यो । हामी हतकडी लगाउन तयार छौ ।’

हवाई सेवा बन्द गरे चुप लागेर नबस्ने : प्राधिकरण

मङ्गलवार पत्रकार सम्मेलन गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले अत्यावश्यक क्षेत्र मानिएको हवाई सेवामा बन्द गर्न घोषणा गरेका विमान कम्पनीलाई कडा चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सेवा बन्द गरे प्राधिकरण चुप लागेर नबस्ने चेतावनी दिएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले पनि आफू मन्त्रालयले गरेको निर्णयबाट फिर्ता नहुने दाबी बताएका छन् ।

उनले नेपाल प्रेससँग भने, ‘यो निर्णयबाट मन्त्रालय फिर्ता हुँदैन । उपयुक्त नै ठानेर गरिएको हुनाले यो जसरी पनि लागू हुन्छ । अत्यावश्यक सेवाको क्षेत्र भएको हुनाले यसमा बन्द हड्ताल गर्न मिल्दैन । यो अरू बस व्यवसाय, ट्रक व्यवसाय जस्तो होइन भन्ने कुरा उहाँहरूले पनि बुझ्नु नै भएको छ होला । उहाँहरूलाई हामी बोलाइरहेका छौ र बोलाउँछौँ पनि । सकेसम्म सम्झाउने प्रयास गर्छौ । मान्दै मान्नु भएन भने कानुनी प्रक्रिया अनुसार कारबाही गर्नु त छदै छ नि ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर