भैरहवाको बालसुधार गृह सार्न खोज्दा झडप, डीएसपीसहित दुई प्रहरी घाइते – Nepal Press

भैरहवाको बालसुधार गृह सार्न खोज्दा झडप, डीएसपीसहित दुई प्रहरी घाइते

रुपन्देही । रुपन्देहीको भैरहवास्थित बालसुधार गृहमा रहेका केही किशोरहरूलाई स्थानान्तरण गर्ने विषयमा झडप हुँदा मङ्गलवार भैरहवामा तनाव भएको छ ।

झडपमा डीएसपीसहित दुई प्रहरी घाइते भएका छन् । स्थानान्तरणको विरोध गरिरहेकाहरूको आक्रमणबाट रुपन्देहीका डीएसपी नवरत्न पौडेल र टोपबहादुर मगर घाइते भएका हुन् ।

मङ्गलवार केही किशोरलाई स्थानान्तरका लागि तयारी गरिएको थियो । त्यसपछि आक्रोशित किशोरहरूले सुधार गृहको भवनको सिसा तोडफोड गर्ने, चक्कु समाएर घाँटी रेटेर मर्छौ भन्ने, विभिन्न सामग्रीले सुरक्षाकर्मीलाई प्रहार गर्ने लगायतका क्रियाकलाप गरेका थिए ।

यस्तै, किताब र सिरक डसनामा आगोसमेत लगाएका थिए । किशोरहरूले होहल्ला गरेर तोडफोड र आक्रमणमा उत्रिएपछि बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो । दिनभर यहाँ तनाव भएको थियो ।

यसअघि गत वैशाखमा पनि उनीहरूले तोडफोड गर्दा सुधार गृहमा करिब एक लाख बराबरको क्षति भएको सुधार गृह प्रमुख सुभद्रा गौतमले जानकारी दिइन् ।

किशोरहरू निरन्तर होहल्ला गर्दै आक्रोशित भएपछि सुरक्षाकर्मीले अन्य कुनै घटना नहोस् भनेर संयमता अपनाएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरीको लामो प्रयास पछि आक्रोशित किशोरहरूलाई नियन्त्रणमा राख्न सुरक्षाकर्मी सफल भएका थिए ।

यहाँ रहेका किशोरहरूले विगतदेखि नै यस्तै क्रियाकलाप गर्दै आएका छन् । किशोरहरूले झ्यालबाट सुधार गृहको छेउको बाटोबाट हिँडडुल गर्ने महिलाहरूलाई जिस्क्याउने, फोहोर शब्दको प्रयोग गर्ने गर्दै आएका छन् ।

यसबाट आजित भएका स्थानीयले मङ्गलवार मात्रै जिल्ला प्रशासन कार्यालयमा पुगेर सुधार गृह स्थानान्तरण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए ।

भैरहवामा चार वर्ष अघिदेखि प्रदेशस्तरीय बाल सुधार गृह सञ्चालनमा आएको हो ।

कानुनको विवादमा परेका बालकहरूलाई यहाँ राखिन्छ । तर उमेर बढ्दै जाँदा उनीहरूले अवाञ्छनीय क्रियाकलाप गर्न थालेका छन् । पटक–पटकको घटनापछि सुधार गृहबाट केही किशोरहरूलाई स्थानान्तरण गरिएको ।

सुधार गृह प्रमुख गौतमका अनुसार १७ जना किशोरलाई यहाँबाट नेपालगन्ज, भक्तपुर र पोखरा स्थानान्तरण गरिएको छ ।

६० जना क्षमता रहेको सुधार गृहमा १ सय १० जनालाई राखिएको थियो । क्षमता भन्दा बढी कानूनको विवादमा परेका किशोरहरूलाई राख्दा पनि यहाँ कयौँ पटक उनीहरूले उद्दण्ड मच्चाउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर