हाइड्रोजन प्लान्ट बनाउन अर्थमन्त्री शर्माले अघि बढाए छलफल – Nepal Press

हाइड्रोजन प्लान्ट बनाउन अर्थमन्त्री शर्माले अघि बढाए छलफल

काठमाडौं । अर्थ मन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको सम्भाव्यताबारे छलफल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याबका पदाधिकारीसँग छलफल भएको हो ।

छलफलमा अर्थमन्त्री शर्माले एक सय मेगावाटको हाइड्रोन प्लान्ट निर्माणको गृहकार्य अघि बढाउनुपर्ने बताएका थिए । विकसित देशहरु धमाधम हाइड्रोजन इन्धन उत्पादनमा केन्द्रित हुन थालेको प्रसङ्ग निकाल्दै अर्थमन्त्री शर्माले तत्काल एक सय मेगावाटको हाइड्रोजन प्लान्ट बनाउने विषयमा आवश्यक अध्ययन र प्राविधिक सहयोग जुटाउने कार्यमा संलग्न हुन केयूका पदाधिकारीलाई निर्देशन दिएका थिए ।

‘हाइड्रोजन प्लान्ट लगाउने विषयमा अर्थ मन्त्रालयको तर्फबाट पनि केही तयारी गर्छौं । तपाईंहरु (केयूका पदाधिकारी) पनि तयारी गर्नुस् । हप्ता–दश दिनभित्र पुनः अर्को बैठक बसौं’, उनले भने ।

अर्थमन्त्री शर्माले लगानीबोर्ड मार्फत लगानीकर्ताको खोजी गर्ने जानकारी दिए । रासायनिक मल कारखाना खोल्न विभिन्न देशका अन्तर्राष्ट्रिय कम्पनीहरुले इच्छा देखाइरहेको जानकारी गराउँदै उनले हाइड्रोजन इन्धनबाट मल कारखाना सञ्चालन गर्ने विषयमा छलफल अघि बढाउने जानकारी दिए ।

छलफलमा ग्रीन हाइड्रोजन ल्याबका प्रमुख विराजसिंह थापाले एकसय मेगावाटको ग्रीन हाइड्रोजन प्लान्ट डेढ वर्षमा तयार गर्ने गरी अन्तर्राष्ट्रिय कम्पनीहरुले प्रस्ताव गरिरहेको जानकारी दिए ।

उनले विभिन्न देशमा भइरहेको ग्रीन हाइड्रोजनको अभ्यास तथा पेट्रोलियमलाई विस्थापित गरी ग्रीन हाइड्रोजन अवलम्बन गर्ने नीतिका बारेमा बताएका थिए ।

उनका अनुसार एक किलो हाइड्रोजन इन्धन उत्पादन गर्न ९ किलो शुद्ध पानी चाहिन्छ । विश्वको तुलनामा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्न धेरै सस्तो हुने उनी बताउँछन् । हिमालको शुद्ध पानी हाइड्रोजन उत्पादनका लागि उपयुक्त हुने विभिन्न अध्ययनले देखाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर