रविले दल घोषणा गरेपछि दाइ हरिशरणको तीतो प्रतिक्रिया- आजीवन त्यसमा लाग्दिनँ – Nepal Press

रविले दल घोषणा गरेपछि दाइ हरिशरणको तीतो प्रतिक्रिया- आजीवन त्यसमा लाग्दिनँ

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टी निर्माणको घोषणा गरेपछि उनका समर्थकहरु खुशी मनाइरहेका छन् । तर, उनका साख्खै दाजुबाट भने घुमाउरो असन्तुष्टि प्रकट भएको छ ।

रविका दाजु हरिशरण लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि पोखेका हुन् । रविले ‘परिवारवाद’ देखिने भनेर आफूलाई पार्टीमा स्थान नदिएको हरिशरणको आशय छ ।

त्यसमाथि व्यंग्यात्मक टिप्पणी गर्दै हरिशरणले लेखेका छन्, ‘कुनै पनि नया सदस्यले अब देशभर आफ्नो जन्मकुन्डली लाई अर्को सदस्यसङ्ग भिडाइ नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रवेश गर्नु होला । पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है। ‘लामिछाने’ बन्धुहरु सरसल्लाह गर्नुहोला।’

हरिशरणले आफू रविको पार्टीमा आजीवन नलाग्ने घोषणा पनि गरेका छन् ।

‘दर्ता हुन बाकी सो पार्टीका कुनै पनि गतिविधीमा म परिवारको नातेदारको नाताले नैतिक रुपले सम्लग्न हुने त कुरै भएन। राजनैतिक रुपले त्यो पार्टिमा म आजिबन रहने छैन भन्ने जानकारी पनि गराउदछु।’ उनले लेखेका छन् ।

स्वतन्त्र र दलगत राजनीतिका आगि आफूसँग अपार सम्भावना र अवसर रहेको हरिशरणको दावी छ । नेपाल आमाको एक स्वतन्त्र नागरिकका नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहने छ ।

३ दशकभन्दा लामो समयदेखि सञ्चारक्षेत्रमा सक्रिय हरिशरण पनि प्रतिनिधिसभाको आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

काठमाडौंको क्षेत्र नम्बर ३ बाट लड्ने उनको तयारी छ । रविले पनि यही क्षेत्रबाट चुनाव लड्ने इच्छा व्यक्त गरिरहेका छन् । आज घोषणा कार्यक्रममा भने रविले आफू कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने खुलाएनन् ।

रविले ग्यालेक्सी टिभी छोडेर राजनीतिमा लाग्ने घोषणा गरेपछि दाई हरिशरणसँग उनको संवाद भएको थियो ।

हरिशरणको दावीअनुसार उनले आफू पनि भाइको पार्टीमा लाग्ने इच्छा गर्दा रविले ‘परिवारवाद देखिने’ भन्दै इन्कार गरेका थिए । त्यसैलाई लिएर हरिशरणले आज व्यंग्य गरेका हुन् ।

भाइले जीवनकै ठूलो निर्णय लिँदा दाइले व्यक्त गरेको तितो प्रतिक्रियाले यी दुई दाजु–भाइबीच सम्बन्ध सुमधुर नरहेको संकेत गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर