दिया मास्केले सार्वजनिक गरिन् बाल्यकालमा खेपेको यौन दुर्व्यवहार – Nepal Press

दिया मास्केले सार्वजनिक गरिन् बाल्यकालमा खेपेको यौन दुर्व्यवहार

काठमाडौं । मिडियामा कम आउने अभिनेत्रीमा पर्छिन् दिया मास्के । उनले चलचित्र पनि कमै खेलेकी छन् । टिभी रियालिटी शो ‘रोडिज’ मा जजको रूपमा प्रस्तुत भएयता भने दर्शकमाझ उनको ‘बोल्ड’ छवि निर्माण भएको छ ।

सम्भवतः पहिलो पटक हुनुपर्छ, यी बोल्ड अभिनेत्रीले हालै एक अन्तरवार्तामा आफ्ना केही व्यक्तिगत भोगाइहरूबारे खुलेर कुरा गरेकी छन् । आफूले बाल्यकालमा भोग्नुपरेका यौन दुर्व्यवहारका घटना सार्वजनिक गरेकी छन् ।

दियाका अनुसार उनीमाथि ८ वर्षकै कलिलो उमेरमा यौन दुर्व्यवहार भएको थियो । जति बेला उनी चलचित्र ‘दुई थोपा आँसु’ को चर्चित गीत ‘जून त लग्यो ताराले…’ को सुटिङमा थिएन । सुटिङपछि गाडीमा चढेका बेला आफूलाई सो गाडीको ड्राइभरले दुर्व्यवहार गरेको उनले बताइन् ।

दियाले घटनाबारे यसरी सुनाइन् :

‘म ८ वर्षको हुँदा ‘जून त लग्यो ताराले’ बोलको गीतमा बच्चाहरूको ग्रुपमा नाचेको थिएँ । सबै जना साना साना थिए । सबैभन्दा ठूलै म थिएँ होला । त्यस दिन हामी सुटिङपछि थाकेर बसमा सुतिरहेका थियौँ । बच्चाहरू एकमाथि अर्को खप्टेर सुतिरहेका थिए । सबैभन्दा माथि म थिएँ ।

हामी यति साना बच्चा थियौँ कि कसैको पिरियड पनि भएको थिएन । रातको समय थियो । सुतिरहेका बेला मलाई अलिकति असजिलो फिल भयो र आँखा खुल्यो । आँखा खुल्यो । यसो हेर्दा त बसको ड्राइभरले मेरो ब्रेस्ट मज्जाले उ… गरिरहेको रहेछ । अब त्यो बच्चालाई के रमाइलो भयो होला ? कम्तीमा ३० वर्षको होला त्यो मान्छे । तर मैले केही पनि भन्न सकिनँ । डर लाग्यो । म सुतेको अभिनय गरेर यत्तिकै छोडिदिएँ । आखिर आठ वर्षको बच्चाले के गर्न सक्छ ?’

दियाले आफूलाई स्कुलको शिक्षकले पनि ह्यारेसमेन्ट गरेको बताइन् । १४ वर्षको उमेरमा सो घटना भएको थियो ।

उनले भनिन्, ‘फिल्ममा मात्र होइन, मैले स्कुलमा पनि ह्यारेसमेन्टको सामना गरेको छु । एक जना टिचरले भन्नुभयो, तँ मलाई किस गर म तँलाई पास गराइदिन्छु । उहाँ म्याथ टिचर हुनुहुन्थ्यो । सिरियसली सर, यदि अहिले मैले तपाईँलाई भेटेँ भने यत्तिकै छोड्ने छैन । एक झापड चाहिँ लगाउँछु । त्यस बेला किन विरोध गरिनँ भनेर अहिले आफैँसँग रिस उठ्छ ।’

संसारमा यौन दुर्व्यवहारको पिडा नभोगेका केटी मान्छे कोही पनि हुन नसक्ने दियाको भनाइ छ । चाहे १० वर्ष वा २० वर्षपछि भए पनि घटना सार्वजनिक गर्न हिच्किचाउन नहुने उनले बताइन् ।

‘सानो उमेरमा कन्फिडेन्स हुँदैन । तर बुझ्ने भएपछि यसलाई बाहिर ल्याउनै पर्छ,’ उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर