पेट्रोलियमको भन्सार कर हटाउन माग गर्दै अनेरास्ववियू क्रान्तिकारीले भन्यो- सरकार केका लागि हो ? – Nepal Press

पेट्रोलियमको भन्सार कर हटाउन माग गर्दै अनेरास्ववियू क्रान्तिकारीले भन्यो- सरकार केका लागि हो ?

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट विद्यार्थीहरूको संगठन अनेरास्ववियू क्रान्तिकारीले पेट्रोलियम पदार्थमा भन्सार छुटको माग गरेको छ । अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति सार्वजनिक गर्दै पूर्ण रुपमा भन्सार कर छुट गर्दै मूल्यवृद्धि खारेजीको माग गरेकी छन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्यवृद्धिले कीर्तिमान कायम गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘नागरिकको कष्टसाध्य जीवनप्रति पूर्णतः बेखबर रही गरिएको मूल्यवृद्धिले जनजीवनमा निकै भयावह अवस्था सृजना गरेको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘वर्तमान परिस्थितिले हामीलाई निकै गम्भीर पनि बनाएको छ ।’

विज्ञप्तिमा आयल निगमले अन्तर्राष्ट्रिय मूल्यवृद्धिको हवाला दिएर बेलगाम रुपमा मूल्यवृद्धि गर्ने हो भने सरकार केका लागि हो ?’ भन्ने प्रश्न गरिएको छ ।

विज्ञप्तिमा संकट अवधिभर पेट्रोलियम आयातलाई शतप्रतिशत भन्सार छुट गरेर पनि सहुलियत दरमा इन्धन उपलब्ध गराउन माग गरिएको छ । ‘आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, अनियमितता अन्त्य गर्न तथा सहुलियतदरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन अन्य वैकल्पिक उपायहरुको खोजी गर्नुपर्छ’, विज्ञप्तिमा अगाडि भनिएको छ ।

आफूले गरेको मागलाई बेवास्ता गरिए कठोर सडक संघर्षमा उत्रने अनेरास्ववियू क्रान्तिकारीले चेतावनी पनि दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर