निर्वाचन आयोगसँग कांग्रेसले भन्यो- प्रवासी नेपालीको नोटमात्रै होइन भोट पनि चल्नुपर्‍यो – Nepal Press

निर्वाचन आयोगसँग कांग्रेसले भन्यो- प्रवासी नेपालीको नोटमात्रै होइन भोट पनि चल्नुपर्‍यो

काठमाडौं । नेपाली कांग्रेसले विदेशमा रहेका नागरिकहरूको मताधिकार सुनिश्चित गर्ने लगायतका विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

निर्वाचन आयोग पुगेका कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रवासी नेपालीको मताधिकार सुनिश्चित हुनुपर्ने, मतदाता नामावली संकलनलाई व्यवस्थित गर्नुपर्ने तथा निर्वाचन आचारसहिंतालाई व्यवहारिक बनाउनुपर्नेलगायतका विषयमा ध्यानाकर्षण गराएका हुन् ।

सर्वोच्च अदालतले विगतमै विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कानूनी व्यवस्था गर्न आदेश गरिसकेको स्मरण गराउँदै आयोगलाई थप कदम चाल्न आग्रह गरिएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताए ।

‘४० लाखको संख्यामा विदेशमा रहेका नेपालीहरुको भोट मात्रै होइन भावनापनि गाँस्ने प्रयास हामीले गरेका छौं । उहाँहरुको नोट चल्ने भोट नचल्ने अवस्था अन्त्य हुनुपर्छ । आगामी निर्वाचनमा उहाँहरूले मत दिन पाउने प्रबन्ध गर्न बेलैमा तयारी गरौं भनेर हामीले निर्वाचन आयोगसँग छलफल गरेका हौं’, शर्माले पत्रकारहरूसँग भने ।

महामन्त्रीद्वयले असार १ गतेदेखि मतदाता नामावली संकलन र विवरण अद्यावधिक हुनु सकारात्मक भएपनि काठमाडौंमा चाप धेरै देखिएकोले व्यवस्थापनमा भएका कमजोरीबारे आयोगको ध्यानाकर्षण गराएका थिए । महामन्त्री थापाका अनुसार एकै स्थानबाट ७७ वटै जिल्लाको नाम संकलन गर्दा समस्या परेको बताए ।

‘७७ वटै जिल्लाको काम एकै स्थानबाट हुँदा मताधिकार सुनिश्चित गर्न पनि नागरिकले सास्ती व्यहोर्नुपरेको देखियो । त्यसैले तत्कालका लागि काठमाडौं र काठमाडौं बाहिरका लागि अलग-अलग स्थानबाट नामावली संकलनको व्यवस्था मिलाउन आग्रह गरेका छौं’, थापाले भने । नामावली संकलनलाई व्यवस्थित बनाउन तत्कालै काम थाल्ने प्रतिवद्धता आयोगले जनाएका महामन्त्री थापाले जानकारी दिए ।

आयोगसँगको छलफलमा कांग्रेसले निर्वाचन आचारसहिंता र खर्चलाई पनि व्यवहारिक बनाउन आग्रह गरेको छ । ‘आचारसहिंतामा भएका अव्यवहारिक विषय हटाउने र लागु गर्न सकिने विषयलाई कडाईका साथ लागू गरौं भनेका छौं । निर्वाचनलाई मितव्ययी र स्वच्छ बनाउने विषयमा हाम्रा सुझावहरु दिएका छौं । खासगरी निर्वाचन खर्च कम गर्न व्यहारिक उपाय खोज्नेबारे छलफल भएको छ’, महामन्त्री थापाले भने ।

आफूहरूले राखेका विषयमा आयोगले सकारात्मक धारणा प्रस्तुत गरेका महामन्त्रीद्वयले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर