पेट्रोलियम मूल्यवृद्धिको असरः केयूकेएलले बन्द गर्‍याे ट्याङ्करबाट पानी वितरण – Nepal Press

पेट्रोलियम मूल्यवृद्धिको असरः केयूकेएलले बन्द गर्‍याे ट्याङ्करबाट पानी वितरण

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर सरकारी अत्यावश्यक सेवामा समेत देखिन थालेको छ । अचाक्ली बढेको पेट्रोलियम पदार्थको मूल्यका कारण सरकारी कार्यालयले नै सेवा कटौती गर्न थालेका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को ट्याङ्कर शाखाले केही समयको लागि खानेपानीको ट्याङ्कर नचलाउने निर्णय लिएको छ । महंगो पेट्रोल खरिद गर्न नसकेको भन्दै शाखाले सो निर्णय लिएको हो ।

ट्याङ्कर शाखाले नियमित रूपमा भुक्तानी गर्न नसकेको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले नेपालप्रेसलाई बताए । साझा पेट्रोल पम्पले असार १ गतेदेखि पेट्रोल उपलब्ध गराउन रोकेपछि नियमित खानेपानी वितरण प्रभावित भएको उनको भनाइ छ ।

उनले भने, ‘अहिले इन्धनको भाउ बढ्यो । पहिला विनियोजन गरेको बजेटले पुगेन । बजेटले नधानेपछि साझाले अहिले इन्धन दिन बन्द गरेको छ ।’

केयूकेएलले खानेपानी ट्याङ्करको लागि इन्धन भर्न साझा पेट्रोल पम्पसँग सम्झौता गरेको थियो । तर, बजेट अभावको कारण इन्धनको रकम भुक्तानी गर्न नसकेपछि सेवा नै कटौती गरेको हो ।

खानेपानी नियमित वितरण गर्ने निकास खोजिरहेको राईले बताए । उनी भन्छन्, ‘त्यसको पनि निकास खोज्दैछौं । आजभोलिसम्ममा एउटा निकास आउँला ।’

केयूकेएलले ट्याङ्कर सेवा बन्द गरेपछि सर्वसाधारण समस्यामा परेका छन् । केयुकेएलले अस्पतालहरुलाई भने पानी वितरण गरिरहेको राईले जानकारी दिए । अस्पतालहरुमा पनि हप्तामा ६ दिनमात्रै पानी वितरण गरिनेछ । दिनमा ४ वटामात्रै ट्याङ्करले अस्पतालमा पानी वितरण गर्ने तालिका निकालिएको छ । सोमबार कुनै पनि अस्पतालमा पानी वितरण हुनेछैन । यो तालिका १५ गतेसम्म नियमित रहने केयूकेएलले जनाएको छ ।

अस्पतालमा सेवा दिन पनि अन्य क्षेत्रमा पानी वितरण रोक्नुपरेको प्रवक्ता राई प्रष्ट पारे । उनले भने, ‘अस्पतालहरुलाई सेवा उपलब्ध गराएका छौं । संवेदनशीलता हेरेर पनि सेवा बन्द गर्न मिलेन । अस्पतालमा सेवा दिन अन्ततिर अर्को निर्णय नहुञ्जेलसम्म रोक्नुपर्ने बाध्यता छ ।’

केयूकेलका १३ वटा ट्याङ्करले सरकारी, सार्वजनिक क्षेत्र, निजी क्षेत्र र नागरिकहरुलाई पानी वितरण गर्दै आएको थियो । केयूकेएलको ट्याङ्करले केयूकेएलकै महाँकालचौर, भैंसेपाटी, भक्तपुर, सुन्दरीघाट, महाराजगञ्ज, बानेश्वरलगायतका स्थानमा पानी भर्ने गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर