बास्कोटालाई अर्थमन्त्रीको जवाफ- प्रतिपक्ष झलझली देखिरहेको छु, पेन ड्राइभको कुरा बनावटी कथा – Nepal Press

बास्कोटालाई अर्थमन्त्रीको जवाफ- प्रतिपक्ष झलझली देखिरहेको छु, पेन ड्राइभको कुरा बनावटी कथा

काठमाडौैं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेटको लोकप्रियता समाप्त पार्नका लागि विभिन्न कथाहरू रचिएको दाबी गरेका छन् ।

प्रतिपक्षी एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको भन्दै राजीनामा मागेपछि जवाफमा उनले यस्तो दाबी गरेका हुन् ।

एमालेका सांसद गोकुल बास्कोटाले अर्थ मन्त्रालयबाट बिहान ५ बजे पेन ड्राइभ कसले लगेको थियो भन्दै प्रश्न गरेका थिए । अर्थमन्त्री शर्माले यसलाई बनावटी कथाको संज्ञा दिए ।

उनले भने, ‘अस्तिसम्म एउटा मान्छेको नाम आएको थियो । आज अर्को नयाँ कथा आयो । नयाँ–नयाँ कथा बुनेर सरकारको हुर्मत लिने, बजेटको लोकप्रियतालाई समाप्त पार्ने तथा सरकारमाथि हमला गर्ने काम भइरहेको छ । पेन ड्राइभको कुरा पनि एउटा बनावटी कथा भन्दा बढी केही होइन ।’

बास्कोटाले भनेजस्तो आफूले ‘प्रतिपक्ष कहाँ छ ?’ भनेर कतै नभनेको अर्थमन्त्रीले बताए ।

उनले भने, ‘मैले प्रतिपक्ष कहाँ छ भनेर भनेकै छैन । कुनै सन्दर्भ वा प्रसङ्गको विषय हुन सक्छ । तर मैले प्रतिपक्ष नदेखेको भन्ने होइन । मैले प्रतिपक्ष झलझली देखिरहेको छु । हिजो सत्तापक्षमा सँगै हुँदा पनि साथीहरूलाई देखिरहेको चिनिरहेको हो । विघटन हुँदा, आन्दोलनमा जाँदा पनि देखिरहेकै छौँ । नदेखेको कहाँ छ र ? कहाँ चुनौती दिइयो ? त्यस्तो विल्कुल होइन ।’

सरकारको तर्फबाट प्रतिपक्षलाई गर्ने सम्मानमा कमी नआउने उनले बताए । प्रतिपक्षले गरेको राजीनामाको माग भने उनले घुमाउरो तवरले अस्वीकार गरे ।

जनताले बजेटलाई गलत भनेको खण्डमा आफू जुनसुकै निर्णय लिन तयार रहेको उनको भनाइ थियो ।

शर्माले भने, ‘यो सरकारले ल्याएको लोकप्रिय बजेटको महत्त्वलाई गिराउने काम नगर्दा राम्रो हुन्छ । बजेटको विषयमा जनतालाई सोध्नुपर्छ । व्यवसायीलाई, किसानलाई, दलितहरूलाई सोध्नुपर्छ । उनीहरूका लागि बनाएको बजेट गलत ठहर भयो भने कुनै पनि निर्णय गर्न तयार छु । जनताले गलत छ भनेमा मान्नुपर्ने हुन्छ ।’


प्रतिक्रिया

One thought on “बास्कोटालाई अर्थमन्त्रीको जवाफ- प्रतिपक्ष झलझली देखिरहेको छु, पेन ड्राइभको कुरा बनावटी कथा

  1. Yehi bhaneko. Janata ra neta farak ho bhanera ahile ‘Netale’ ajhai bhanau ‘bideshi naam ko nepali jyanmara party’ ko ‘netale bhanyo. Kura sahi ho- ‘janatale’ chuneko bhaye wa ‘janatako’ pratinidhi bhninekura aafno pasa paltauna matrai bolchhan ‘Party ka Neta’ harule. Chunab jitera(?lutera) sansad/muntari bhayepachhi janata ta arkai hun ani neta arkai hun. Neta bhaneko janata lai chapaune jaat ho. Janatakai anuhar janatalai dekhayera tehi janata lai lutchha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर