देउवामाथि दबाब बढाउँदै गगन-विश्व, एसपीपीको च्याप्टर क्लोज गर्नेदेखि प्रवासीलाई मताधिकारसम्मको माग – Nepal Press

देउवामाथि दबाब बढाउँदै गगन-विश्व, एसपीपीको च्याप्टर क्लोज गर्नेदेखि प्रवासीलाई मताधिकारसम्मको माग

काठमाडौं । पार्टीका आन्तरिक गतिविधि ठप्पप्रायः भएपछि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवामाथि दबाब बढाएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई सोमबार बालुवाटारमै भेटेर महामन्त्रीद्वयले पार्टीको आन्तरिकदेखि राष्ट्रिय राजनीतिमा महत्वपूर्ण विषयहरुमा ध्यानाकर्षण गराएका छन् । पार्टी केन्द्रीय समितिको बैठक बोलाउनेदेखि एसपीपी सम्झौताको ‘च्याप्टर क्लेज’ गर्नेसम्मका प्रस्ताव महामन्त्रीद्वयले सभापतिसमक्ष राखेका छन् ।

यस्तै आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था राख्न तथा परराष्ट्र नीतिबारे विपक्षी दलसँगसमेत संवाद गर्न उनीहरुले सभापति देउवालाई सुझाव दिएका छन् ।

आन्तरिक राजनीतिका कुरा

महामन्त्रीद्वय थापा र शर्माले स्थानीय निर्वाचनको समीक्षा जरुरी रहेको बताएका छन् । उनीहरुले केन्द्रीय समितिको बैठक तत्काल बोलाएर निर्वाचन, तालमेल र परिणामबारे समीक्षा गर्न माग गरेका हुन् । उनीहरुले भ्रातृ संस्थाहरुलाई तत्काल पूर्णता दिने, विभागहरु गठन गर्ने तथा पार्टीको नीति महाधिवेशन गर्नेबारे पनि देउवालाई दबाब दिएका छन् ।

‘केन्द्रीय समितिको बैठक बोलाउने, निर्वाचन समीक्षा गर्ने, भ्रातृ संस्थाहरु गठन एवं पूर्णता दिने र नीति महाधिवेशन गर्नेबारे सभापतिसँग छलफल भएको छ । अबको केन्द्रीय समितिमा नीति महाधिवेशन कसरी गर्ने भन्नेबारे हामीले प्रस्ताव ल्याउँछौं’, महामन्त्री थापाले नेपाल प्रेससँग भने ।

एसपीपीको च्याप्टर क्लोज

अमेरिकासँग हुने भनिएको स्टेट पाटर्नरसीप प्रोग्राम (एसपीपी) को ढोका सधैंका लागि बन्द गर्न महामन्त्री थापा र शर्माले देउवालाई सुझाएका छन् । सरकारको तर्फबाट औपचारिक रुपमै अमेरिकालाई पत्राचार गरेर एसपीपीमा नेपाल सहभागी नहुने स्पष्ट पार्नुपर्ने महामन्त्रीद्वयको सुझाव छ ।

‘एसपीपीको सन्दर्भमा कांग्रेसको नीति स्पष्ट नै छ । यस्तो खालको कार्यक्रममा नेपाल सहभागी हुँदैन भनेर सरकारले पत्राचार गर्नुपर्छ भनेर हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौं’, महामन्त्री थापाले भने ।

पूँजीबजारमा ध्यान

महामन्त्रीद्वयले पूँजी बजारमा आएको गिरावट र त्यसले लाखौं लगानीकर्तामा पारेको असरबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

‘पूँजीबजार निरन्तर खस्कँदो छ । मध्यम र निम्न मध्यम वर्गका लाखौं लगानीकर्ता सडकमा आउने अवस्था बनेको छ । यो समस्या समाधानका लागि ठोस पहल लिन हामीले सुझाएका छौं’, थापाले भने ।

विदेश नीतिमा सर्वपक्षीय संवाद गर्न सुझाव

पछिल्लो समय मुलुकको विदेश नीतिसँग जोडिएका अधिकांश विषय गिजोलिएको भन्दै महामन्त्रीद्वयले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सबै दलसँग छलफल गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् ।

कांग्रेस सबैभन्दा ठूलो दल रहेको र सरकारको नेतृत्वमा समेत रहेकाले सबै पक्षलाई बोलाएर विदेशनीतिबारे साझा धारणा बनाउन पहल गर्नु उपयुक्त हुने महामन्त्रीद्वयको धारणा छ ।

मूल्यवृद्धिले जनता आक्रोशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे पनि महामन्त्रीद्वयले आपत्ति जनाएका छन् । चर्को मूल्यवृद्धिका कारण आम जनता निराश र आक्रोशित बनेको भन्दै मूल्यवृद्धि नियन्त्रणका लागि तत्काल कदम चाल्नसमेत प्रधानमन्त्री देउवालाई उनीहरुले सुझाएका छन् ।

विदेशमा बस्ने नेपालीलाई मताधिकार

सभापति देउवासँगको भेटमा महामन्त्रीद्वयले विदेशमा बस्ने नेपालीलाई मताधिकार दिनेबारे पनि छलफल गरेका छन् । सर्वोच्च अदालतले नै परमादेश दिइसकेको स्मरण गराउँदै उनीहरुले अबको निर्वाचनमा विदेशमा रहेका नेपालीले मत दिन पाउनुपर्ने बताएका हुन् ।

‘विदेशमा भएका नेपालीको मताधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतले नै आदेश गरिसकेको छ । सरकारले धेरैपटक यो विषयलाई पन्छाउँदै आएको छ । यसपटकको चुनावमा त्यस्तो नहोस् भनेर बेलैमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गरायौं’, महामन्त्री थापाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर