महिलाको हितमा निरन्तर अग्रसर हुँदै तारामण्डल, महिला सुरक्षा, अधिकार र उद्यमशीलतामा जोड – Nepal Press

महिलाको हितमा निरन्तर अग्रसर हुँदै तारामण्डल, महिला सुरक्षा, अधिकार र उद्यमशीलतामा जोड

काठमाडौं । राजधानीस्थित पुरानो बानेश्वरमा महिला सुरक्षा, अधिकार, उद्यमशीलता र सूचनाको हकमा महिलाको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।

द्वन्द्वमा यौन हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवसको अवसरमा तारामण्डल महिला सशक्तीकरण अभियानले उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा अभियानकी अध्यक्ष कुन्ती पोखरेलले संस्थाले महिलाको हितमा विगत लामो समयदेखि काम गर्दै आएको अनुभव साझा गरेकी छन् । ‘महिलाहरूले कुनै व्यवसाय गर्न बैंकबाट कर्जा निकाल्नु पर्‍यो भने श्रीमानको हस्ताक्षरसमेत आवश्यक पर्ने रहेछ । एकजना १५ करोडको व्यवसाय सञ्चालन गरिरहनुभएको महिलाले बैंकबाट एक करोड ऋण निकाल्न श्रीमानको हस्ताक्षर नभएको कारण बञ्चित हुनुपरेछ । यो एकदमै निन्दनीय छ’, उनले भनिन् ।

अध्यक्ष पोखरेलले महिलाहरू स्वरोजगार हुनुपर्नेमा जोड दिइन् । ‘महिलाहरूलाई उद्यमशीलताको बाटोमा ल्याउनुपर्छ । व्यवसायले नै जीवनस्तर उकास्न मद्दत गर्छ भन्ने ज्ञान हरेक महिलामा हुनु आवश्यक छ’, उनले भनिन्, ‘हामीले देशभरका ४० बढी जिल्लामा पुगेर महिलाहरूलाई स्वरोजगार बनाउने कार्य गरेका छौं । सरकारी तवरबाट पनि यस्तै काम गरियोस् ।’

नेपालमा सशस्त्र द्वन्द्वका बेला पीडामा परेका, हिंसामा परेका महिलाहरूले अहिलेसम्म न्यायको अनुभूति गर्न नभएको उनले बताइन् । उनले विगत ५७ महिनामा १० हजार १३१ बलात्कारका घटना भएको उल्लेख गर्दै महिलाहरूले बाटोमा हिँड्दा सुरक्षित अनुभूति गर्न नसक्नु दुःखद भएको बताइन् ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगकी आयुक्त कमला ओलीले महिलाहरूलाई आफ्नो हक र अधिकारको विषयमा जानकारी गराइन् । उनले महिलालाई आफ्नो हक-हित र अधिकारको लागि आफै लड्न र सूचनाको हकमा पछि नपर्न अनुरोध गरिन् ।

सरकारी कार्यालयभित्रै पनि महिलामाथि हिंसा भएका उदाहरण दिँदै आयुक्त ओलीले भनिन्, ‘हिंसाको स्वरूप फरक होला । तर, हरेक प्रकारको हिंसाविरुद्ध महिलाहरू जागरूक हुन आवश्यक छ ।यसमा महिलाहरू आफै पनि जागरूक हुनुपर्छ ।’

त्यस्तै सञ्चारिका समूहकी अध्यक्ष विमला तुमखेवाले शिक्षाले भन्दा पनि आत्मनिर्भरताले महिला हिंसा अन्त्य गर्ने बाटोमा समाजलाई लैजाने बताइन् ।

उनले भनिन्, ‘हामीलाई लाग्छ शिक्षाले हिंसाको अन्त्य गर्छ । तर, शिक्षाले मात्रै पनि महिला हिंसाको अन्त्य गर्छ भनेर भन्न सकिने अवस्था छैन । त्यस्तो हुँदो हो त शिक्षित र विकसित देशमा महिला हिंसाको घटना नहुनु पर्ने हो । त्यसैले महिलाहरू स्वरोजगार हुनुपर्छ, आत्मनिर्भर हुनुपर्छ ।’

कार्यक्रममा काठमाडौं महानगरपालिका ९ की जनप्रतिनिधि सिर्जना भेटवाल, सखी प्रतिष्ठानकी अध्यक्ष मञ्जिला अनिल शर्मा, राप्रपाका केन्द्रीय सदस्यहरू सिर्जना रानी वर्मा, सरस्वती लामा, नानु नगरकोटी लामा, स्वाती थापा र मधेस आयोगकी प्रतिनिधि रेणुदेवी साह लगायतको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर