नयाँ इन्स्पेक्टरले मासिक ४ लाख असुलीकाे जिम्मा दिएर दुई प्रहरीलाई घुमुवा खटाए – Nepal Press

नयाँ इन्स्पेक्टरले मासिक ४ लाख असुलीकाे जिम्मा दिएर दुई प्रहरीलाई घुमुवा खटाए

दाङ । सशस्त्र प्रहरी बलको तुलसीपुर बेसक्याम्पका प्रमुख सशस्त्र प्रहरी निरीक्षक अशोक अधिकारीले संगठनको नीतिविपरीत घुमुवा खटाएका छन् । व्यवसायीसँग मासिक असुली गर्ने शर्तसहित दुई प्रहरीलाई उनले घुमुवामा खटाएका हुन् ।

स्रोतका अनुसार असार २ मा तुलसीपुर बेसको जिम्मेवारी सम्हालेका अधिकारीले ४ गते शनिबार नै बेसमा कार्यरत सबै सशस्त्र प्रहरीलाई सामेल गरी घुमुवा बस्नेले हात उठाउन भनेका थिए ।

बेसपतीको निर्देशनपश्चात् सहायक हवलदार मीनबहादुर केसी र जवान कृष्ण चौधरीले हात उठाए । केसी र चौधरीले घुमुवा बस्ने इच्छा जाहेर गरेपछि इन्स्पेक्टर अधिकारीले मासिक कति पैसा उठाउन सकिन्छ ? भनेर जिज्ञासा राखेका थिए । जवाफमा सहायक हवलदार केसीले मासिक डेढ लाख र जवान चौधरीले साढे दुइ लाख रुपैयाँ दिने बताएको स्रोतको दाबी छ ।

‘मीनबहादुरले डेढ लाख र कृष्णले साढे दुइ लाख मासिक बुझाउने प्रतिबद्धता जनाएका छन्’, तुलसीपुर बेसका एक सशस्त्र प्रहरी अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा नेपालप्रेससँग भने, ‘भने जति पैसा उठाउन नसके इन्स्पेक्टर साबले एक महिनामै घुमुवाबाट हटाउने पनि भन्नुभएको छ ।’

मीनबहादुर र कृष्णले इन्स्पेक्टरको आदेशअनुसार सादा पोसाकमा यस क्षेत्रका व्यवसायीसँग रकम असुल्न थालिसकेका छन् । उनीहरूले विशेषगरी ट्याक्टर व्यवसायीसँग पैसा माग्ने गरेका छन् । तुलसीपुर क्षेत्रमा करिब सात सय ट्याक्टर व्यवसायी छन् । उनीहरूको मुख्य काम बालुवा र ढुंगा उत्खनन गरेर बेच्नु हो । असारदेखि भदौसम्म बालुवा र ढुंगा उत्खनन गर्नु गैरकानूनी हो । यहीँ गैरकानूनी काममा सघाउने गरी तुलसीपुर बेसले ट्याक्टर व्यवसायीसँग तुलसीपुर बेसले रकम असुल्दै आएको छ ।

नयाँ इन्स्पेक्टरले सादा पोसाकमा खटाएका घुमुवाले खोलाबाट बालुवा र ढुंगा लैजाने भए प्रतिट्याक्टर मासिक पाँच हजार रुपैयाँ बुझाउनुपर्ने भन्दै व्यवसायीसँग बार्गेनिङ सुरु गरेका छन् । मासिक पाँच हजार रुपैयाँ नदिए सशस्त्रका घुमुवाले वर्षामा ट्याक्टर खोलामा हाल्न नदिने भनेर धम्क्याएको एक ट्याक्टर व्यवसायीले बताए ।

घुमुवा खटाइएका केसी र चौधरी सशस्त्र प्रहरी संगठनमा विवादित व्यक्ति हुन् । उनीहरू दुबैलाई यसअघि तुलसीपुरमा घुमुवा बस्दा ट्याक्टर व्यवसायीसँग रकम असुलेको प्रमाण नै फेला परेपछि २९ नम्बर गण भालुबाङ पठाइएको थियो । तर, उनीहरू कांग्रेस नेताको दबाबमा फेरि उनीहरू तुलसीपुर बेस आएका हुन् ।

बेसपती इन्स्पेक्टर अधिकारीले भने घुमुवा भनेर नभई खबर संकलनका लागि उनीहरूलाई परिचालन गर्ने तयारी गरेको प्रतिक्रिया दिएका छन् । ‘खबर संकलनका लागि खटाउने तयारी गरेको छु’, अधिकारीले भने, ‘घुमुवा भनेर चैँ होइन ।’

इन्स्पेक्टर अधिकारीले खबर संकलनका लागि सादा पोसाकमा सशस्त्र प्रहरी खटाउने बताए पनि सशस्त्र प्रहरीको प्रधान कार्यालयले भने हेडक्वार्टरबाहेकका युनिटले खबर संकलनका लागि खटाउन नमिल्ने बताएको छ ।

‘खबर संकलनका लागि हेडक्वार्टरले प्रत्येक बाहिनी र गणमा मान्छे खटाएको हुन्छ’, सशस्त्र प्रहरी प्रवक्ता डीआईजी विदुर खड्काले नेपालप्रेससँग भने, ‘अरू कुनै पनि युनिटले त्यसरी प्रहरी खटाउन पाउँदैन ।’

कुनै युनिटले खटाएको पाइएमा सम्बन्धित युनिट इन्चार्जलाई कारबाही गरिने प्रवक्ता खड्काले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *