प्रधानमन्त्रीलाई अपमान गर्न बोलाएका होइनौं- सभापति निरौला – Nepal Press
अन्तर्राष्ट्रिय सम्बन्ध समिति

प्रधानमन्त्रीलाई अपमान गर्न बोलाएका होइनौं- सभापति निरौला

काठमाडौं । प्रतिनिधिसभाका अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा खरेल निरौलाले समितिको बैठकमा प्रधानमन्त्री बोलाएर बदनाम गर्न नखोजिएको बताएकी छन् । समितिको आज बसेको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘प्रधानमन्त्री (शेरबहादुर देउवा)ज्यूलाई आमन्त्रण पनि गर्‍यौँ राष्ट्रियताका सवालमा उठेका चिन्ताका विषयमा उहाँको जवाफ माग्न । उहाँ आउनुभएन’, उनले भनिन्, ‘प्रधानमन्त्रीले सदनमै जवाफ दिइदिएको भए हुन्थ्याे । त्यहाँ पनि उहाँले प्रस्ट नपारिदिएकाले सम्बन्धित समितिमा जिम्मेवारीभित्र परेको विषय भएकाले आमन्त्रण गरेका हौँ । उहाँको जवाफको आशा गरेका थियौँ ।’

प्रधानमन्त्रीको अपमान गर्न बैठकमा आमन्त्रण नगरेको सभापति निरौलाले स्पष्ट पारिन् । उनले भनिन्, ‘उहाँलाई हामीले अपमान गर्ने, उहाँलाई स्पष्टीकरण लिने, उहाँलाई बदनाम गर्ने, तुच्छ वचन बोल्ने त्यो होइन । हामी सम्मान गर्छौं, हिजो पनि हामीले प्रधानमन्त्री जुनसुकै पार्टीकाे सम्मान गरेका थियौं, आज पनि गर्छौं, भोलि पनि गर्छौं ।’

प्रधानमन्त्री पदमात्रै नभएर प्रधानमन्त्रीका रुपमा देउवा व्यक्ति पनि सम्मानित रहेकाे सभापति निरौलाले बताइन् । ‘उहाँलाई हामीले बोलायौं बैठकमा । प्रधानमन्त्रीज्यूकै मुखबाट, आधिकारिक ठाउँबाट, आधिकारिक धारणा यो समितिलाई प्राप्त होस् भनेर बोलाएका हौं’, उनले भनिन् ।

अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी)का सन्दर्भमा समितिको आजको बैठकमा छलफलका लागि प्रधानमन्त्री देउवालाई बोलाइएको थियो । तर, प्रधानमन्त्री देउवा उपस्थित भएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर