कांग्रेस बागमती सभापति बानियाँको उद्योग अर्घाखाँची सभापतिले किन गराए बन्द ? – Nepal Press

कांग्रेस बागमती सभापति बानियाँको उद्योग अर्घाखाँची सभापतिले किन गराए बन्द ?

रुपन्देही । नेपाली कांग्रेस अर्घाखाँचीले सो पार्टीका बागमती प्रदेश सभापति इन्द्र बानियाँले सञ्चालन गरेको चुनढुंगा खानी बन्द गर्ने निर्णय गरेको छ ।

२०७२ सालदेखि अर्घाखाँची नरपानी क्षेत्रमा नेता बानियाँको नाममा रहेको बानियाँ निर्माण सेवाले उत्खनन् गरिरहेको र कपिलवस्तुस्थित उनकै नाममा रहेको भूगर्भ सिमेन्टलगायत अन्य सिमेन्ट उद्योगलाई बिक्री गर्दै आएको छ ।

शनिबार जिल्ला सदरमुकाममा बसेको कांग्रेसको जिल्ला समिति बैठकमा पार्टीमा अन्तर्घात गरेकालाई कारबाही गर्ने मूल एजेण्डा रहे पनि सभापति केशव श्रेष्ठले यो निर्णय गराएपछि सबै आश्चर्यचकित भएका छन् ।

जिल्ला प्रचार विभागका सूर्यप्रसाद भुसालले नरपानी क्षेत्रमा सञ्चालनमा आएको खानी उत्खनन् तत्काल बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

‘स्थानीय क्षेत्रबाट जिल्लामा प्रतिनिधित्व गरेका नेताहरुले खानी बन्द गर्ने प्रस्ताव गर्नुभएको थियो । यही कारणले कांग्रेसले त्यहाँ चुनाव हारेका उहाँहरुले बताएपछि अरु कोही बोलेनन्’, बैठकमा सहभागी एक नेताले नेपालप्रेससँग भने, ‘अहिले खानी सञ्चालन गर्ने नेता बानियाँ कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुनुहुन्छ । यहाँका जिल्ला सभापति केशव श्रेष्ठ संस्थापन इतरका हुनुहुन्छ । खोई के विषयमा कुरा नमिलेको हो थाहा भएन । यसरी बीचमै चलिरहेको खानी बन्द गर्ने निर्णय कसरी आयो, कोही नबोलेपछि म पनि बोलिनँ ।’

यसअघि पनि अन्य केही राजनीतिक दलले यो खानी बन्द गराउन पटक–पटक आन्दोलन गरेका थिए । तर, बानियाँसामु कसैको केही सीप नलागेकाले यो पनि प्रचारकै लागि गरिएको हुनसक्ने एमाले जिल्ला सदस्य शोभाखर पन्थीले बताए ।

कांग्रेस जिल्ला सभापति श्रेष्ठले स्थानीयको मागअनुसार वातावरण धेरै बिग्रेकाले यस्तो निर्णय गर्नुपरेको बताए ।

‘स्थानीय साथीहरुले प्रस्ताव ल्याउनुभयो । जिल्लाको अवस्था हेर्ने हो । वातावरण बिगार्नु त भएन नि ! यसलाई बन्द गर्छौं । सबैको साथ रहन्छ’, उनले भने ।


प्रतिक्रिया

One thought on “कांग्रेस बागमती सभापति बानियाँको उद्योग अर्घाखाँची सभापतिले किन गराए बन्द ?

  1. धेरै राम्रो काम गरेको मा धन्यवाद छ अर्घाखाँची जिल्लाको कांग्रेस सभापति केशव sir खाची कोट मा भएको चुन ढुङ्गा खानी बन्द गराउने भन्ने समाचारले सबै खचि कोट बा सी 80%जनता यो विचारले धेरै खुसी छन् जस्तो लाग्छ खानी सञ्चालन मा आय पछि खाँची बासी को कति समस्या छ यो कसले बुझने यहाँ का राजनीतिक दलले त आफ्नो स्वार्थ लागि सबै जनतालाई दुःख दिएका छन् खानी बाट हुने समस्या भनेको पानी को मुहान सुक्दै जान्छ वातावरण मा प्रतिकूल असर पुराएको छ यो दिर्गकालिन समस्या दिन्छ ।अनी जनताले के पाउने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर