खम्पा स्मरण गर्दै हिमालपारिका सांसदले भने- अमेरिकाले ५० वर्षपछिको प्लान गर्दोरहेछ – Nepal Press

खम्पा स्मरण गर्दै हिमालपारिका सांसदले भने- अमेरिकाले ५० वर्षपछिको प्लान गर्दोरहेछ

काठमाडौं । मुस्ताङबाट निर्वाचित नेकपा एमालेका सांसद प्रेम तुलाचनले आफू सानो छँदा अमेरिकी हतियारको सहाराले भएको खम्पा विद्रोहको स्मरण गर्दै आसन्न अमेरिका भ्रमणमा सचेत रहन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

हिमालपारिको जिल्लाका सांसद तुलाचनले अमेरिकाले ५० वर्षपछिको उद्देश्य सोचेर सैन्य रणनीति बनाउने गरेको भन्दै २०३१ सालमा मुस्ताङमा भएको खम्पा विद्रोहमा अमेरिकाले जहाजबाट हतियार झारेको र नेपाली सेनाले पछि दमन गरेको दुवै स्मरण अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सुनाए ।

पछिल्लो समय मुस्ताङमा हाई अल्टिच्युड सैन्य तालिम मैत्रीपूर्ण रुपमा चलिरहेको र त्यस्ता तालिममा अमेरिकामात्र नभएर भारत, पाकिस्तान र चीनका सैनिकहरु पनि सामेल हुने गरेको भन्दै अमेरिकाको रणनीतिबारे भने सजग हुनुपर्ने बताए ।

उनले आफ्नो बाल्यकालदेखिको स्मरण यसरी सुनाएः

त्यसबेला तिब्बतबाट खम्पाहरुले हिमाली क्षेत्रमा बसोबास गरे । हजारौंको संख्यामा आएका उनीहरु हाम्रो मुस्ताङको विभिन्न ठाउँमा क्याम्प खडा गरेर बसेको मलाई याद छ । उनीहरु हिमालको खोँचतिर बसेका थिए ।

ती खम्पाहरु कहाँबाट परिचालित थिए, खाद्यान्न कहाँबाट आयो थाहा थिएन । उनीहरुले चौरी गोठ, भेडा गोठ किडन्याप गर्ने, लुटपाट गर्ने पनि गर्न थाले । पछि चीनले नेपाल सरकारलाई पत्र लेखेर उनीहरुलाई तह लगाउने कि हामीले गरौं ? भनेपछि नेपाल सरकारले २०३३ सालमा एक्सन लियो । नेपाली सेना हजारौंको संख्यामा गएको मैले देखेको हो ।

पछि खम्पाका कमाण्डर वार्तामा आऊ भन्दाभन्दै दुई तीनपटक समय सार्दै गए । पछि दार्चुलाको टिंकरमा पुगेर सेनाले कमाण्डर वाङ्दीलाई मारेको हो । हामीले त्यसबेला सुनेको ती वाङ्दी पनि अमेरिकामा तालिम गरेर आएका थिए ।

हाम्रो सेना धेरैजना त्यसबेला हाई अल्टिच्युडका कारण मरे । सेना धेरै मरेपछि सेनालाई हाई अल्टिच्युड तालिम दिनुपर्छ भन्ने भएको होला । अहिले प्रत्येक वर्ष हाम्रो मुस्ताङको माथिल्लो क्षेत्रमा तालिम हुन्छ र विभिन्न देशका सैनिक आउँछन् ।

म पनि २२ वर्ष नेपाली सेनासँग काम गरेको हुनाले मलाई थाहा छ । यो मैत्रीपूर्ण तालिम हो । त्यसबेला त आकाशमा जहाज उड्थ्यो, जहाजको पुच्छरबाट हतियार झारिन्थ्यो ।

खम्पा हटेपछि पनि गाउँ-गाउँमा लुकाएर राखेको हतियार पाइएको हामीले नै देखेको हो । त्यो इतिहास हेर्दा अमेरिकाको पोलिसी के छ भन्ने कुरा त्यो बेलादेखि सुरु भएको रहेछ । यो विषयमा सचेत रहनुपर्छ किनकि अमेरिकाले त ५० वर्षपछिको हेरेर गर्ने रहेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर