सशस्त्र प्रहरी बलले सुदूरपश्चिममा गर्याे विपद्‌मा उद्धारको अभ्यास – Nepal Press

सशस्त्र प्रहरी बलले सुदूरपश्चिममा गर्याे विपद्‌मा उद्धारको अभ्यास

कैलाली । सुदूरपश्चिम प्रदेशमा आगामी दिनमा हुन सक्ने सम्भावित विपद् उद्धारको लागि सशस्त्र प्रहरीले अध्यास गरेको छ । सशस्त्र प्रहरी बलले सुदूरपश्चिमका विभिन्न स्थानमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अन्तर्गत मनसुन एवं विपद्जन्य घटनामा आधारित कृत्रिम अभ्यास गरेको हो ।

जलजन्य विपद् उद्धार कार्यलाई प्रभावकारी बनाइ क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ सो अभ्यास सञ्चालन गरिएको हो । विपद्को समयमा स्थानीय श्रोत साधनको अधिकतम उपयोग गरी प्रभावितको खोज तथा उद्धार कार्यलाई चुस्त, दुरुस्त एवं प्रभावकारी बनाउनका लागि प्रदेशका विभिन्न ठाउँमा विपद्जन्य घटनामा आधारित कृत्रिम अभ्यास सञ्चालन गरिएको बताइएको छ।

विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित कैलालीको गोदावरी नगरपालिका–२ स्थित लामिताल, गोदावरी ४ हाट खोली, धनगढी उपमहानगरपालिका–९ रामघाटस्थित मोहना नदी, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ वन समिति, भीमदत्त नगरपालिका–६ ऐठपुर, डोटीको दिपायल सिलगढी नगरपालिका–५ र ३ र दार्चुलाको महाकाली नगरपालिका–१ स्थित निज्याङ्ग खोलामा घटना अभ्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले बताएको छ।

त्यस्तै, अछामको मंगलसेन नगरपालिका–४ स्थित कैलाश खोला, बैतडीको दशरथचन्द नगरपालिका–४ गढीस्थित टुँडिखेल, डडेल्धुराको अमरगढी नगरपालिका–७ खलंगा, बाजुराको बडीमाथिका नगरपालिका–८ स्थित बाउली खोला र बझाङको जय पृथ्वी नगरपालिका–१० स्थित बहुली गाडमा जलजन्य विपद् घटनामा आधारित रही एकल तथा संयुक्त कृत्रिम घटना अभ्यास सञ्चालन गरिएको मुख्यालयले जनाएको छ।

उक्त अभ्यास कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालयका बाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई, नेपाली सेना, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटी लगायत स्थानीयको समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर